• १२ साउन २०८१, शनिबार

यथार्थपरक सूचना प्रवाह गर्न आयुक्त डा. तुलाधरको आग्रह

blog

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख ६ गते । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचनसम्बन्धी समाचार अन्दाज र अनुमानका आधारमा नभई तथ्य र यथार्थपरक सूचना प्रवाह गर्न सञ्चार जगतसँग आग्रह गर्नुभएको छ । निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले यसप्रति सबै जिम्मेवार बन्नुपर्ने उहाँले बताउनुभयो । 

स्थानीय तह निर्वाचन सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको सहयोग र समन्वयमा निर्वाचन आयोगद्वारा आज यहाँ आयोजित मिडिया अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो । निर्वाचन गर्ने संवैधानिक जिम्मेवारी पूरा गर्ने आयोगको निर्वाचन कार्यमा सहयोग पु¥याउन सञ्चार क्षेत्रसँग उहाँले आग्रह गर्नुभयो । सही सूचनाले मात्र जनतामा विश्वास जागृत गर्ने हुनाले त्यसमा ध्यान दिन उहाँले प्रेसकर्मीसँग आग्रह गर्नुभयो । 

आयुक्त तुलाधरले भन्नुभयो, ‘लोकतन्त्रको आधार भनेको स्वतन्त्र निर्वाचन हो, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउन  सञ्चार क्षेत्रले गर्दैआएको सहयोग सह्रानीय छ ।’

निर्वाचन व्यवस्थापन सुदृढीकरणका लागि आयोगले काम गर्दैआएको बताउँदै डा. तुलाधरले निर्वाचनसम्वन्धी सही सूचना र निर्णयलाई आम नागरिकसामु लगेर  सहयोग गर्न प्रेससँग आग्रह गर्नुभयो । गलत सूचनाले नागरिकमा भ्रम सिर्जना हुने हुनाले त्यसमा मिडियाकर्मी सचेत हुनुपर्ने सुझाव दिनुभयो । 

आगामी निर्वाचनमा लैङ्गिक सहभागिताका विषयमा पनि आयोगले पर्याप्त ध्यान दिएको उहाँले जानकारी दिनुभयो । निर्वाचन सफल बनाउन आचारसंहिता अक्षरशः पालना गर्नु अनिवार्य रहेको भन्नुहुँदै उहाँले सम्बद्ध सबैलाई त्यसमा गम्भीर बन्न आग्रह गर्नुभयो ।  

आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिता कार्यान्वयन भए नभएको अनुगमन गर्न केन्द्रदेखि पालिकासम्म विभिन्न तहका संयन्त्र परिचालित् रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सञ्चार क्षेत्रले निर्वाचान आचारसंहिता उल्लङ्घन भए नभएकोबारे तथ्यगत सूचना निशुल्क सम्प्रेषण गरी आयोगको काममा सहयोग पु¥याएकोछ ।” निर्वाचनका लागि आवश्यक पर्ने ९० प्रतिशत सामग्री आयोगमा आइसकेको पनि उहाँले जानकारी दिनुभयो । 

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनको समाचार लेख्दा सञ्चारकर्मीले दल विशेषप्रतिका आस्था र आबद्धता त्याग्नु पर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘चुनावकाबेला फेक न्यूजको कारखाना नै चल्न सक्ने खतरा हुन्छ, त्यसबाट जोगिन समाचारको पुष्ट्याइँ गरी सत्यतथ्य समाचार सम्प्रेषमा ध्यान पु¥याउनु पर्छ ।’

रिष्ठ पत्रकार बबिता बस्नेतले राजनीतिक दलका नेताबाट एक–अर्कालाई लाञ्छित गर्नेगरी आउनेगरेको अभिव्यक्तिले नेताको उत्तरदायित्वमाथि प्रश्न खडा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनका समयमा मिसइन्फर्मेसन र डिसइन्फर्मुेसनको चूनौति छ, प्रभावकारी अनुगमनका लागि निर्वाचन अनुगमन संयन्त्र प्रभावकारी हुन आवश्यकछ ।’