• २३ वैशाख २०८१, आइतबार

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु तथा घरेलु उद्योग : उद्योगमन्त्री

blog

काठमाडौँ, वैशाख १३ गते । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग भएको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीहरूसँग महासङ्घको माइतीघरस्थित सचिवालयमा भएको छलफलमा उहाँले भन्नुभयो, “निर्यातजन्य वस्तु साना मझौला उद्योगमै छ । यस्ता उद्योगको प्रवर्द्धन र विकासमा म हरतरहले लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

साना तथा मझौला उद्योगहरूको बजार मागमा आएको उच्च कमीका कारण समस्यामा परेका उद्योगी व्यवसायीहरूको समस्या समाधानका लागि उचित नीति बनाइ कार्यान्वयन गराउनको लागि तयार रहेको भन्दै मन्त्री भण्डारीले भन्नुभयो, “अब हाम्रो सम्भावना, रोजगारीको क्षेत्र, हाम्रो समृद्धिको यात्रा साना घरेलु तथा लघु र मझौला घरेलु उद्योगहरू नै हो । त्यसमा पनि अझ हाम्रो स्रोत र साधनमा आधारित उद्योगहरूको निर्यातमा ठुलो योगदान रहन्छ ।”

देशमै औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले लघु, घरेलु तथा साना उद्योगीहरूका लागि कर्जामा सहुलियत र प्रविधि हस्तान्तरणका लागि प्रधानमन्त्री नेपाली उत्पादन तथा उपयोग अभिवृद्धि कार्यक्रम छिट्टै मन्त्रीपरिषदमा जान लागेको बताउनुभयो ।

नेपाली उद्योगहरूको समस्याकै रूपमा तयारी वस्तु र कच्चा पदार्थमा एउटै कर हुँदा समस्या भएकोतर्फ ध्यानाकर्षण गर्दै उहाँले अब तयारी वस्तुमा धेरै र कच्चा पदार्थमा थोरै कर लगाउने गरी प्रस्ताव गरेको जानकारी दिनुभयो ।

“अबको नीति तथा कार्यक्रम र बजेटमा लघु, घरेलु तथा साना उद्योगका धेरै भन्दा धेरै कुरामा देखिनेगरी सरकारभित्र पनि निजी क्षेत्रको पैरवी गर्छु । उद्यमशीलताका तमाम सम्भावनाहरू छन् । आज पनि आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेको साना तथा मझौला उद्योग नै हुन् । निर्यातजन्य वस्तु साना मझौला उद्योगमै छ । अहिले पनि हामीसँग जडीबुटी प्रशस्तै छ । अमला, टिमुर यत्तिकै खेर गइरहेको छ । उत्पादनले बजार पाएको छैन ।” मन्त्री भण्डारीले भन्नुभयो ।

सरकारले नीतिमा सहुलियत दिने हो । उद्योग त उद्योगी व्यवसायीले चलाउने हो । त्यसैले उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने र उद्योग व्यवसायको विकासका लागि सरकार प्रतिबद्ध रहेको मन्त्री भण्डारीको भनाइ थियो ।

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योगहरू आर्थिक समृद्धिको संवाहकका रूपमा रहेतापनि यस्ता उद्योगहरूको प्रमुख समस्याको रूपमा बजार पहुँच रहेको बताउनुभयो ।

नेपाल सरकारले महिला उद्यमी, कृषि उद्योग लगायतका उद्यमीहरूलाई दिँदै आएको सहुलियतपूर्ण कर्जा र कोभिड पीडित उद्यमीहरूलाई दिइँदै आएको पुर्नकर्जा कार्यक्रमलाई यथावत् राख्दै साना उद्यमीहरूलाई बैङ्कहरूले कर्जा प्रवाहमा गर्ने भेदभावपूर्ण व्यवहारको अन्त्य गर्न सरकारले सहजीकरणको भूमिका निर्वाह गर्न उहाँले अनुरोध गर्नुभयो ।

उद्योगहरूमा जडान गरिएका मील मेसिनरी र औजारहरूको स्वामित्वको प्रमाणपत्र जारी गरी सो लाई पनि धितो मानी दैनिक उत्पादनको क्षमता र उत्पादित वस्तुको मौज्दात हेरी लघु, घरेलु तथा साना र महिला उद्यमीहरूलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइ दिन उहाँको आग्रह थियो ।

आगामी बजेट मार्फत ७५३ वटै पालिकाहरूले लघु, घरेलु तथा साना उद्योगको विकासका लागि प्रत्येक पालिकाहरूले २० प्रतिशत बजेट विनियोजन गरी लघु, घरेलु तथा साना उद्योगको विकासका लागि मात्र प्रभावकारी रूपमा खर्चिने नीतिगत व्यवस्था गराइदिन अध्यक्ष सिंहले अनुरोध गर्नुभयो ।

स्वदेशी लघु घरेलु तथा साना र महिला उद्यमीका उत्पादनहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन र स्वदेशी उद्योगहरूको विकासका लागि केन्द्रीय स्तरमा निर्यात गृह स्थापना गर्न आवश्यक भएकाले सरकारको तर्फबाट आवश्यक बजेट सहित स्थान उपलब्ध गराइदिन अध्यक्ष सिंहले आग्रह गर्नुभयो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेलले नेपालको संरचना जस्तै महासङ्घको पनि देशभर संरचना रहेको भन्दै लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धनमा देशैभर पैरवी गरिरहेको बताउनुभयो ।

कार्यक्रममा महासङ्घका पूर्व अध्यक्षहरू वासु गिरी र लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरू हरिहर थापा, राजेन्द्रमान श्रेष्ठ, अञ्जना शाक्य, सत्यनारायण प्रजापति, मोहन कटुवाल, महासङ्घ अन्तरगत  केन्द्रीय महिला समिति अध्यक्ष रोशनी उपाध्याय र वरिष्ठ उपाध्यक्ष रीता अवाल, कोषाध्यक्ष अच्युत पाण्डे, सचिव रुद्र न्यौपाने, केन्द्रीय सदस्य पूर्ण पाण्डे, महासङ्घ अन्तरगत केन्द्रीय महिला समिति सचिव दीपा शाक्य तथा सदस्य गोमा खनाल, महासङ्घ, बागमती प्रदेश महिला समिति अध्यक्ष सुलोचना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।