• २२ वैशाख २०८१, शनिबार

शिवम् सिमेन्टद्वारा कोइलाको सट्टा प्लास्टिक प्रयोग गर्दा जनस्वास्थ्यमा असर

blog

शिवम् सिमेन्ट उद्योग परिसरमा इन्धनको रुपमा प्रयोग गर्न थुपारिएको प्लास्टिक । तस्बिरः अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, वैशाख १३ गते ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ हटियामा रहेको शिवम् सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादनका लागि कोइलाको सट्टा प्लास्टिक जन्य वस्तु चाउचाउ, चक्लेट आदिको खोल इन्धनको रुपमा प्रयोग गर्दा मानव स्वास्थ्यमा गम्भीर असर परेको छ । बुधबार राति स्थानीयले दर्जन बढी ट्रकमा प्लास्टिकको फोहोर उद्योग भित्र लाग्दै गरेको भेटेपछि उद्योगले कोइलाको सट्टा प्लास्टिक मिसाएर क्लिङ्कर उत्पादन गरेको कुरा सार्वजनिक भएको हो ।

उद्योगले देशका विभिन्न क्षेत्रबाट सङ्कलन गरिएको फोहोरजन्य प्लास्टिक इन्धनको रुपमा प्रयोग गरेपछि त्यसबाट निस्केको धुवाँले वातावरण प्रदूषण हुनुका साथै मानव स्वास्थ्यमा पनि असर परेको स्थानीयवासीले गुनासो गरेका छन् । सुवास चौलागाइँले धुवाँ, धुलो प्रदूषणबाट प्रताण्डित हुनुपरेको गुनासो गर्नुभयो । उहाँले प्रत्येक घरमा श्वासप्रश्वास, छाला र एलर्जीसम्बन्धी समस्या भोग्नुपरेको गुनासो गर्नुभयो । विभिन्न स्थानबाट फोहोर सङ्कलन केन्द्रबाट ल्याइएको प्लास्टिकजन्य वस्तु उद्योग परिसरमा थुपारिएको अवस्थामा हेटौँडा–१६ र हेटौँडा–१७ का वडाध्यक्षसहित गएको स्थानीयको टोलीले फेला पारेको थियो ।

क्लिङ्कर उत्पादनका लागि उद्योगले लामो समयदेखि प्लास्टिकजन्य वस्तु प्रयोगमा ल्याएको उद्योगका एकजना कर्मचारीले बताउनुभयो । दिनहुँ प्लास्टिक जलाउँदा स्थानीय समस्यामा परेको भन्दै बिहीबार बिहान स्थानीयले उद्योग भित्र प्रवेश गरेर विरोध गरेका हुन् । उनीहरूले तत्काल उद्योगको उत्पादन बन्द गर्नुपर्ने माग गरेका छन् । स्थानीयको नेतृत्व गर्दै उद्योग परिसरमा पुगेका हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोइराला र १७ का वडा अध्यक्ष उद्धव सत्यालले उद्योग प्रशासनले आफूहरुसँग कुरा गर्न नखोजेर पन्छिएको बताउनुभयो । उद्योगले प्लास्टिक बालेर मानव स्वास्थ्यविरुद्ध काम गरेको जनप्रतिनिधिहरूको आरोप छ ।

बस्तीको बिचमा रहेको शिवम् सिमेन्ट उद्योगबाट निस्केको धुलो, धुवाँ तथा ध्वनि प्रदूषणले छेउमै रहेको विद्यालयका साना साना बालबालिका सिधैँ प्रभावित भएका छन् । यहाँका स्थानीयवासीहरू वर्षैदेखि आफ्नो खेतीपाती छोड्नुपर्ने स्थितिमा पुगेका छन् । खेती मात्रै होइन करेसाबारीमा लगाउने तरकारीसमेत सिमेन्टको धुलोका कारण प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको हेटौँडा–१७, लक्ष्मीपुरका स्थानीय उदय चौलागाईले बताउनुभयो । उहाँले सिमेन्ट उद्योगको कम्पनका कारण गाईवस्तुको प्रजनन क्षमता ह्रास हुँदै, गर्भ तुहिने अवस्थामा गएको गुनासो गर्नुभयो ।