• २४ वैशाख २०८१, सोमबार

‘सङ्घीय कानुनले पूर्णता नपाउँदा सङ्घीयताको अनुभूति भएन’

blog

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह । फाइल तस्बिर

भक्तपुर, वैशाख १२ गते । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशमा नयाँ संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि अझै तीन तहका लागि आवश्यक सङ्घीय ऐन, कानुन बन्न नसक्दा जनताले पूर्णरुपमा सङ्घीयताको अनुभूति गर्न नपाएको बताउनुभएको छ । 

जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले आज कौशलटारमा आयोजित नेपालको प्रजातान्त्रिक आन्दोलनका अमर नक्षेत्र एवम् नेपाली कांग्रेसका अग्रपङ्क्तिका नेता स्व.जगन्नाथ आचार्यको १०१ औँ जन्मजयन्तीमा उहाँले लोकतन्त्र, सङ्घीय व्यवस्था र प्राप्त राजनीतिक उपलब्धिका विषयमा जनताले प्रश्न गर्न थालेको बताउनुभएको हो । नेता सिंहले भन्नुभयो, “लोकतान्त्रिक सङ्घीय व्यवस्थासहितको संविधान जारी भई दुई पटक तीनै तहको निर्वाचन सम्पन्न भएर सरकार गठन भए पनि अझै आवश्यक ऐन कानुन बन्न नसक्दा जनताले प्रश्न गर्न थालेका छन्, जनताले तीन तहको सरकारको अनुभूति गर्न पाएका छैनन्, केन्द्रिकृत एकात्मक व्यवस्था र सङ्घीयतामा फरक के हो ? खोई त ? भन्ने त आइरहेको छ नी, आठ वर्ष बितिसक्दा पनि आवश्यक सङ्घीय ऐन कानुन बन्न नसक्दा सङ्घीयता पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन ।”

उहाँले सङ्घीयताले पूर्ण नपाउँदै यसलाई जोगाउने चुनौती आइरहेको भन्दै नेपाली कांग्रेसले संघर्षका लागिभन्दा सङ्घीयतालाई पूर्णता दिँदै यसको रक्षाका लागि लाग्नुपर्ने बताउनुभयो । उहाँले भक्तपुरमा सङ्घीय सांसद, प्रदेशसभा सदस्य र स्थानीय तहमा विजयी भएका कांग्रेस नेताले विकासको काम गरेर जनतालाई देखाउनुपर्ने औँल्याउँदै अरुले गरिदेला भनेर नबसी आफैँ अग्रसर भएर काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, बागमती प्रदेशका प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ का सभापति भेषबहादुर कार्की, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलगायतले वि.सं.२०४६ को जनआन्दोलनमा काठमाडौँ उपत्यकाका कमाण्डर रहेका स्व आचार्यको राजनीतिक जीवनलाई स्थानीय पाठ्यक्रममा समावेश गर्दै उहाँको सालिक स्थापना गरेर नयाँ पुस्तालाई उहाँको जीवनीका बारेमा जानकारी दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्व.आचार्यका राजनीतिक सहकर्मी नेपाली कांग्रेस भक्तपुरका पूर्वसभापति एवम् पूर्वसांसद लेखनाथ न्यौपानेलाई सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष विनोद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्मानित लेखनाथ न्यौपाने, कांग्रेस भक्तपुरका अग्रज नेता रामप्रसाद दवाडी, नेपाली कांग्रेस मध्यपुरथिमि ३ नम्बर वडा सभापति कृष्णहरि आचार्यलगायतले स्व आचार्यको राजनीतिक जीवन र उहाँले भूमि सुधारका विषयमा गरेका सुधारका कार्यको चर्चा गर्नुभएको थियो । रासस