• २४ असार २०८१, सोमबार

राजनीतिक दल चुनावी दौडधुपमा, किसान गहुँ काट्न खेतमा

blog

धनुषास्थित हरिहरपुरका किसान । तस्बिर - विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, वैशाख ६ गते । धनुषामा स्थानीय तहको निर्वाचनले गति लिन थालेको छ । राजनीतिक दलहरु चुनावको तयारीमा जुटेका छन् । चुनावी रणनीति बनाउन बैठक, भेला तथा अन्तरक्रिया कार्यक्रम बाक्लिदैँ गएका छन् । राजनीतिक दलका प्रतिनिधि जनप्रतिनिधि बन्न दौडधुपमा लागेका छन् । तर यहाँका किसान भने गहुँबाली घर भित्र्याउनमा व्यस्त देखिन्छन् ।  

कोही गहुँबाली धमाधम काट्नमा व्यस्त छन् भने कतिपय किसान कटान गरिसकेको गहुँ भित्र्याउने कार्य गरिरहेको अवस्थामा भेटिन्छन् । उहाँहरु पाकिसकेको गहुँ भित्र्याउन बिहानदेखि साँझसम्म खेतमै रहन्छन् । 

अहिले हावाहुरी असिनापानी पर्ने बेला छ । समयमै गहुँ भित्र्याउन सकिएन भने यति धेरै मिहिनेत गरेर उब्जाएको गहुँ असिना पानीले क्षति पु¥याउन सक्छ । त्यसैले अहिले चुनावी माहौलदेखि टाढै रहेर गहुँ भित्र्याउने काममा लागिपरेको मिथिला नगरपालिका–३, हरिहरपुरका किसान मनोज महतो बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘गहुँ पाकेकाले अहिले किसानलाई कामैकाम छ । कसैलाई पटक्कै फुर्सद छैन । काममा ध्यान भएकाले चुनाव र दलका कार्यक्रमप्रति चासो छैन । किसानले गहुँ भित्र्याइसकेपछि भने गाउँमा पनि चुनावी रौनकता छाउनेछ ।’ 

गणेशमान चारनाथ नगरपालिका बरमझियाका किसान रामपुकार यादवले भन्नुभयो, ‘चुनाव भर्खर शुरु भएको छ । चुनावमा कस्तो जनप्रतिनिधिलाई मत दिने विषयमा पछि सोचौँला तर अहिले गहुँ स्याहार्न सकिएन भने भोकै बस्नुपर्ने अवस्था आउँछ । त्यसैले किसानलाई चुनावको रौनकताले छोइसकेको छैन ।’

पर्याप्त सिँचाइको सुविधा, मलखादको सहज उपलब्धता र आधुनिक कृषि उपकरण निःशुल्क बाँड्नेजस्ता नारा दिएर थुप्रैले स्थानीय तहदेखि मन्त्रीसम्मकै बागडोर लिए पनि किसानको समस्या ज्यूँकात्यूँ छ । 

जिल्लामा अघिल्लो वर्ष ३६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहुँ बालीबाट एक लाख आठ हजार मेट्रिकटन गहुँ उत्पादन भएको थियो । तर यसवर्ष रासायनिक मलको अभाव र हिउँदे वर्षाले गहुँबालीलाई क्षति पु¥याएका कारण घटेर एक लाख दुई हजार मेट्रिकटन गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र, धनुषाका प्रमुख शङ्करप्रसाद साहले बताउनुभयो ।