• ११ मंसिर २०८१, मङ्गलबार

भूकम्पीय जोखिम न्यूनीकरणका प्रयास

blog

गत माघ २ गते २६ औैँ भूकम्प सुरक्षा दिवस ‘स्थानीय स्रोत र प्रविधिसमेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने नाराका साथ मनायौँ । विगत २५ वर्षदेखि भूकम्पका सम्बन्धमा जनचेतना फैलाउने काम हुँदै आएको छ । केही वर्षदेखि राजधानीबाहिर पनि जनचेतना जगाउने उद्देश्यले भूकम्प सुरक्षा दिवस मनाउँदै आएका छौँ तर भूकम्पबाट जोगिन अपनाउनु पर्ने डक कभर र होल्डका सम्बन्धमा पनि पूर्ण शिक्षाको अभावमा झन् हानिकारक हुन पुगेको भनेर बेलाबेला प्रश्न उठाइन्छ । 

जाजरकोटमा भूकम्पबाट भएको क्षतिले पूर्वतयारी र जनचेतनामूलक कार्यक्रम स्थानीय तह वा समुदाय तहसम्मै लैजानुपर्ने सन्देश दिएको छ तर यस प्रकारका कार्यक्रम कर्मकाण्डी मात्र हुनुहुँदैन । यसको प्रभावकारिताका सम्बन्धमा पनि विश्लेषण गरी सोहीबमोजिम कार्यक्रम सञ्चालन गर्नु पर्छ । 

पश्चिम नेपालमा २०७९ कात्तिकयता डोटी, बाजुरा, बझाङ र जाजरकोटमा मझौला भूकम्प गए । तीमध्ये २०८० साल कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएको ६.४ रेक्टर स्केलको भूकम्पले सबैभन्दा बढी क्षति ग¥यो । मझौला स्तरको जाजरकोट भूकम्पबाट यति धेरै क्षति हुनु अनपेक्षित र दुखद नै हो । हुन त भूकम्पबाट हुने क्षति भूकम्पको मापनका अलावा स्थानीय भौगर्भिक अवस्था, निर्मित संरचनाको गुणस्तर, भूकम्प गएको समय, भूकम्पको उत्पत्तिको बिन्दु, जनचेतनाको स्तर र केन्द्रबिन्दु आसपासको बस्ती जस्ता कुराले पनि निर्धारण गर्छ । भूकम्प आफैँले क्षति गर्ने होइन, ती त हामी आफैँले निर्माण गरेका संरचनाका कारण हुने हो भन्ने कुरा त ७.४ रेक्टर स्केलको २ अप्रिल २०२४ मा ताइवानमा गएको भूकम्पबाट नौ जनाको मृत्यु हुनु, २०७९ कात्तिक २३ मा डोटीमा गएको ६.६ रेक्टर स्केलको भूकम्पबाट छ जनाको ज्यान जानु र जाजरकोटको ६.४ रेक्टर स्केलको भूकम्पबाट १५७ जनाको ज्यान जानु तथा ती भूकम्पबाट भौतिक संरचनामा पुगेको क्षतिबाट पनि अनुमान गर्न सकिन्छ । यसो हुनुमा खास गरी ग्रामीण क्षेत्रका घर भूकम्प प्रतिरोधीभन्दा पनि स्थानीय स्तरमा उपलब्ध स्रोतसाधन वा ढुङ्गा र माटोको जडान गरी परम्परागत रूपमा ओत लाग्ने वा रात बिताउने हिसाबले निर्माण गरिने/गरिएको हुँदा कमजोर भएर हो । 

नेपाल भूकम्पीय जोखिमको क्षेत्र हो । त्यसैले भूकम्प प्रतिरोधी घर बनाउनुपर्ने र सोका लागि जग्गा छनोटदेखि कस्तो घर कसरी बनाउने भन्ने कुरा १९९१ सालमा प्रकाशित ब्रह्मशमशेरको ‘नेपालको महाभूकम्प १९९०’ भन्ने पुस्तकमा समेत केही मात्रामा उल्लेख छ । यसपछि पनि हामीले न्यूनतम तयारीसमेत गरेनौँ र २०७२ को गोरखा र २०८० को जाजरकोट भूकम्पको विनाश भोग्नु प¥यो । 

मझौला स्तरको यो भूकम्पले पु¥याएको क्षति हामीले पूर्वतयारीका कार्य समयमै नगर्दा भएको हो भन्न वा स्विकार्न हिचकिचाउनु पर्दैन । यस पटक भूकम्पपश्चात् उद्धार कार्य अत्यन्त तदारुकताका साथ भएको मान्न सकिन्छ । राहत वितरणमा भने केही विलम्ब हुनाले चिसो ठिहीबाट ३४ जनाभन्दा धेरैको ज्यान जानु अर्को दुःखद पक्ष हो । आगामी समयमा यसतर्फ सरकार र सम्बन्धित सबैले ध्यान पु¥याउन जरुरी छ ।

भूकम्पले नभई हामी आफैँले निर्माण गरेको कमजोर संरचनाका कारण भौतिक र मानवीय क्षति हुन्छ । २०७२ को गोरखा भूकम्पपश्चात् भूकम्पीय क्षति न्यूनीकरणका लागि भवन निर्माण संहिता अनुसार भूकम्पप्रतिरोधी घर बनाउनु पर्ने, पुराना घर सबलीकरण गर्नुपर्ने, प्रभावकारी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने महसुस ग¥यौँ तर समय बित्दै जाँदा ती सबै बिर्सिंदै गयौँ । जोखिम न्यूनीकरणका लागि अन्यत्रको कुरा छाडौँ, सहरी क्षेत्रमा समेत भवन निर्माण संहिताको मापदण्ड कडाइका साथ लागु गरिएको पाइँदैन । यस्तै बेवास्ताका कारण मझौला स्तरको भूकम्पबाट धेरै क्षति भोग्नु नपर्ला भन्न सकिन्न । यसबाट शिक्षा लिएर हामीले पूर्वतयारीका कार्य सुरु गरिहाल्नु पर्छ । अझै पनि बेवास्ता गरियो भने यसको परिणाम भविष्यमा योभन्दा दुःखद वा भयावह हुन सक्छ । यसका लागि सरकारको मात्र मुख नताकी सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरी हातेमालो गर्नु जरुरी छ । 

‘भूकम्प निवारक घर कस्तो हुनु पर्छ र नेपालका घरहरूमा के के कैफियत वा कमजोरी रहेछ भन्ने कुराको ज्ञान ९० सालको महाभूकम्पपश्चात् प्राप्त भएको’ उल्लेख गर्दै ब्रह्मशमशेरले ‘हाल र भविष्यमा भूकम्पबाट बच्ने किसिमको घर वा सहर बनाउन बहुतै आवश्यक देखिन्छ’ भनेर लेखे जस्तै डोटी, बाजुरा, बझाङ र जाजरकोटमा गएका शृङ्खलाबद्ध भूकम्पले पूर्वतयारी गर्न, सचेत र सजग रहन झक्झक्याइ रहेको छ । भूकम्पको केही सेकेन्ड मात्रको धक्काले धेरै धनजनको क्षति हुने र पूर्वानुमान गर्न नसकिने तथा पूर्वसूचना प्रणालीसमेत प्रभावकारी नभएको र भूकम्पसँग केही समय भागेर जोगिन नसकिने भएकोले भूकम्पको जोखिम न्यूनीकरणका लागि अब हाम्रो प्रयास पूर्वतयारीतर्फ केन्द्रित हुन जरुरी छ । 

२०७९ साल कात्तिकयता पश्चिम नेपालमा अन्य वर्षको तुलनामा भूकम्पीय गतिविधि बढेको पाइन्छ । त्यो क्षेत्रमा शक्ति सञ्चित भएको प्रमाण हो यो । ठुला र महाभूकम्प नगएको अवस्थामा यसलाई प्रकृतिले नै हामीलाई साँच्चिकै पूर्वतयारीको मौका दिएको रूपमा बुझ्न जरुरी छ । गोरखादेखि पश्चिम नेपालमा सन् १५०५ यता ठुला तथा महाभूकम्प नगएकोले ठुला तथा महाभूकम्प जाने शक्ति सञ्चित भएर रहेको विभिन्न अध्ययन अनुसन्धानबाट देखिएको छ । सो शक्ति क्षीण हुने एक मात्र माध्यम भूकम्प भएकाले पश्चिम नेपालमा बारम्बार भूकम्प गएको हो । क्रियाशील भौगर्भिक प्लेटहरू रहेको ठाउँमा जति लामो समयसम्म भूकम्प जाँदैन, त्यति नै ठुलो भूकम्प जाने सम्भावना रहन्छ र यसरी ठुला तथा महाभूकम्प जाने शक्ति सञ्चित भएको ठाउँमा यस प्रकारका दुई÷चार वटा मझौला भूकम्पले पूर्ण रूपमा शक्ति निःसृत वा क्षीण गर्न सक्दैन । हुन त ५२० वर्षसम्म ठुलो वा महाभूकम्प नगएको स्थानमा अझै केही वर्ष ठुला वा महाभूकम्प नजान पनि सक्छ वा लामो समय भइसकेकाले तत्कालै जान पनि सक्छ । त्यसैले हामी सधैँ अत्यन्त सचेत र चनाखो हुनुका साथै यसबाट हुने जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा जुट्न जरुरी छ । 

पूर्वानुमान गर्न र रोक्न नसकिने, कुनै छनक नदिई आउने तथा केही सेकेन्ड मात्रको धक्काले ठुलो धनजनका क्षति गर्ने भूकम्पको सामना कसरी गर्ने भन्ने नै मूल विषय हो । भूकम्पसँग भागेर जोगिन सम्भव नभएकाले यसको सामना गर्नु वा यससँग जुध्नुको विकल्प छैन । त्यसैले भविष्यमा भूकम्पबाट यस किसिमको क्षति नदोहोरियोस् भनेर यथासमयमै जनचेतनामूलक कार्यव्रmम सञ्चालन गरी सर्वसाधारणलाई सचेत गराई पूर्वतयारीमा केन्द्रित हुनुबाहेक अर्को विकल्प देखिँदैन । भूकम्प जानुअघि मुख्य रूपमा भवन निर्माण संहिताको प्रयोग गरी भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न कडाइ गर्नुका साथै भइरहेका भवनको प्रबलीकरण गर्न प्रोत्साहित गर्नु पर्छ । त्यसै गरी भूकम्पीय जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने पूर्वतयारीमा भूकम्प प्रकोपको मूल्याङ्कन, भूकम्प गइरहेको समयमा गर्ने कार्य तथा गइसकेपछि सञ्चालन गरिने उद्धार र राहत कार्यलगायत जनचेतना फैलाउने, शीघ्र उद्धार दस्ता तयार गर्ने जस्ता कार्य पनि पर्छन् ।

खानी तथा भूगर्भ विभाग अन्तर्गतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ४२ वटा भूकम्प मापन स्टेसनको सञ्जाल सञ्चालन गरी नेपाल र यसको आसपासमा जाने भूकम्पको निरन्तर निगरानी गरिरहेको छ । ४ रेक्टर स्केलभन्दा ठुला तथा सर्वसाधारणले महसुस गरेका भूकम्पको जानकारी यथाशीघ्र सर्वसाधारणलगायत सम्बन्धित निकायलाई उपलब्ध गराई उद्धार कार्यमा सहयोग पु¥याउँदै आएको छ । यसबाहेक केन्द्रले भूकम्पको समयमा जमिनले देखाउने व्यवहार मापन गर्ने यन्त्र जडान गरी खोज तथा अनुसन्धानात्मक कार्यसमेत गर्दै आएको छ । त्यसै गरी यस विभागले विगतदेखि नै नेपालका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । गत वर्ष गोरखा जिल्लाको बारपाकमा यस प्रकारको जनचेतनामूलक कार्यक्रम गरेको थियो, जुन कार्यक्रम अत्यन्त ज्ञानबद्र्धक भएको सहभागीले बताएका थिए ।   

Author

भरतप्रसाद कोइराला