• २४ वैशाख २०८१, सोमबार

हटाउन थालियो रुखका बत्ती

blog

काठमाडौँ, वैशाख १२ गते । रुखमा अनावश्यक झिलमिले बत्तीले चरा र किरा फट्याङ्ग्रालाई असर पारेको भन्दै अभियानकर्मीले सार्वजनिक स्थानका रुखमा राखिएका बत्ती निकाल्न सुरु गरेका छन् । 

क्षणिक आकर्षणका लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानका सार्वजनिक रुखमा अनावश्यक रूपमा राखिएका बत्ती  अधिकारकर्मी यादवलाल कायस्थको नेतृत्वमा हटाइएको छ । सो कार्यमा भक्तपुरका संरक्षण अभियन्ता जीवनपति श्रेष्ठसँगै मध्यपुर थिमिका धिमेबाजा गुरु सुनेश श्रेष्ठ, भिक्षु शैलेश शाक्य सहभागी हुनुहुन्थ्यो । कायस्थले भन्नुभयो, ‘‘सहरलाई चराको वातावरण अनुकुल बनाउनु महत्त्व हुन्छ । चराको उठ्ने, बस्ने, आराम गर्ने निश्चित समय हुन्छ । रुखमा अनावश्यक ढंगले बत्ती राख्दा चराको वंशाणुगत गुणमै असर पारिरहेको हुन्छ ।’’ 

पहिलो चरणमा काठमाडौँको न्युरोडको पिपलबोटमा राखिएका बत्ती अभियानकर्मीले हटाएका हुन् । झट्ट हेर्दा आकर्षक देखिए पनि त्यसले रुखको आयु घटाउने, चराले रातको समयमा सुत्न नपाउने समस्या बढेको भन्दै हटाएको अभियानकर्मीले उल्लेख गरेका छन् । 

अभियानकर्मी जीवनपति श्रेष्ठले रुख साझा सम्पत्ति भएको र रुखसँगै हजारौँ जीवजन्तु आश्रयमा पर्ने भएकाले रुखमा राखिएका अनावश्यक झिलमिले बत्ती हटाइएको बताउनुभयो । उहाँले सुरुमा मान्छेले थाहा नपाएर त्यस्ता बत्ती राख्ने गरेको भए पनि त्यसको असरबारे थाहा पाएपछि हटाउन आवश्यक देखिएको उल्लेख गर्नुभयो । धेरै ठाउँमा स्वेच्छाले हटाउने प्रतिबद्धता जनाएको उल्लेख गर्नुभयो । 

बत्ती हटाउन विद्युतको जोखिमसमेत हुने भएकाले बत्ती हटाउन परेमा आफ्नो समूहसँग सम्पर्क राख्न अनुरोध गर्दै त्यस्ता बत्तीका अनेकौँ बेफाइदा हुने उहाँले बताउनुभयो । उहाँले नेपालभरमा राखिएका त्यस्ता बत्ती हटाउन आफूहरूले भूमिका निर्वाह गर्ने बताउनुभयो । 

रुख सबैको साझा भएको र कृत्रिम प्रकाशका कारण चराको जीवन नै सङ्कटमा परेकोतर्फ सचेत रहन आग्रह उहाँले गर्नुभयो । उहाँले रुखमा राखिएको झिलिमिली बत्ति विकास र समृद्धिको सूचक नहुने बताउँदै त्यस्ता कार्य गर्दा धेरै पटक सोच्न आवश्यक रहेको बताउनुभयो ।  धेरै बत्ती बालेर उज्यालो बनाउँदा समृद्धि नआउने तर धेरै आवाजविहीन प्राणीलाई राम्रोसँग सुत्न नसक्ने स्थिति सिर्जना गराएको उहाँले बताउनुभयो । रातको समयमा कृत्रिम उज्यालोकै कारण चराले दिन र रात छुट्याउन नसक्ने भएकाले तिनीहरूको बसाइमा समस्या बढेको चराको आवाजसमेत सुनिने छाडेकाले यस्ता बत्ती हटाउन आवश्यक रहेको चराविज्ञले उल्लेख गरेका छन् । 

कृत्रिम प्रकाशले चराको उठ्ने, खाना खोज्ने र आराम गर्ने समयमा परिर्वतन हुँदा त्यसले चराको प्रजनन दरलाई बिथोलेकाले बाध्य भएर बत्ती हटाएको श्रेष्ठ बताउनुभयो । घाम झुल्किनुअघि उठ्ने र अस्ताएपछि आराम गर्ने चराको वंशाणुगत गुणलाई कृत्रिम प्रकाशले नराम्रोसँग असर पारेको छ ।