• १८ असार २०८१, मङ्गलबार

रतुवा पारीको मिर्चाडाँगीको दुःख, तीन महिना नेपालसँग सम्पर्कविहीन

blog

रतुवामाईको रतुवा नदी पारीको मिर्चाडाँगी गाउँमा विजुली पुगेको छ । तस्विर–हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी, वैशाख ६ गते । मोरङको तराईका नगरपालिकाका विद्यार्थी एक किलोमिटर धाएर आधारभूत विद्यालयको शिक्षा लिइरहेका छन् । देशको प्रमुख औद्योगिक नगर तथा प्रदेश नं. १ को राजधानीमा अहिलेसम्म यस्तो अवस्था छ । रतुवामाई नगरपालिका वडा नं. ३ को दक्षिण पूर्वी कुनामा रहेको मिर्चाडाँगी गाउँका बालबालिका कक्षा ४ मा अध्ययन गर्न रतुवा नदी पार गरेर एक किलोमिटर पश्चिममा पर्ने पिढालीसम्म पुग्नु बाध्यता छ ।   

मिर्चाडाँगीमा कक्षा ३ सम्म मात्र पढाइ हुन्छ । पिढाली पुग्न बालबालिकालाई धेरै गाह्रो छ । वर्षमा दुई महिना रतुवा नदीमा आएको बाढीले विद्यालय जान पाउँदैनन् । रतुवा नदीको बगर मात्र छ सय मिटर हिँड्नुपर्छ । चैत वैशाखमा चल्ने हावाहुरीले आँखामा बालुवा हालिदिन्छ । पिढालीको भानु आधारभूत विद्यालयमा कक्षा ४ मा पढिरहेकी शीतलकुमारी गनगाईंले भन्नुभयो, ‘गाउँमा विद्यालय छैन, खोलामा बाढी आउँदा विद्यालय जान पाइँदैन । विद्यालयबाट फर्किँदा ठूलो बाढी आएर घर जान पाएका छैनौं ।’ 

निशाकुमारी हरिजनले भन्नुभयो– ‘वर्खाको बेला विद्यालय जान पाइँदैन । अरु बेला धुलो र हिलोले दुःख दिन्छ । रतुवाको बगरैबगर ४० मिनेट हिँड्न गाह्रो छ । अझ चैत वैशाखको घाममा घर पुग्दा गलेर भुतुक्कै भइन्छ ।’ 

मिर्चाडाँगीबाट १२/१३ जना विद्यार्थी खोला तरेर पिढालीमा पढ्न आउँछन् । सीमाकुमारी गनगाईंले भन्नुभयो –‘हामीलाई विद्यालयले छात्रावासको व्यवस्था गरिदिए राम्रो हुने थियो । 

अर्की छात्रा प्रियङ्का गनगाईंले विद्यालय टाढा भएकोले मिर्चाडाँगीका बालबालिकाले बीचैमा पढ्न छोड्ने गरेको बताउनुभयो । 

रतुवापारीको मिर्चाडाँगीको पूर्व र दक्षिणमा भारत पर्छ । नेपाल भारतको दशगजा सीमाबाट ४० फिट उत्तर पश्चिमको मिर्चाडाँगीबाट झापा पुग्न भारत टेक्नै पर्छ । पश्चिमतर्फ रतुवा नदी पर्छ, रतुवामा पुल छैन । जसले गर्दा उनीहरू वर्षको तीन महिना नेपालसँग सम्पर्कविहीन जस्तै हुन्छन् । 

मिर्चाडाँगीका गान्धीप्रसाद सिंहले भन्नुभयो– ‘हामी यहाँ एक सय १५ घर धुरी छौँ ।’ मिर्चाडाँगीको सबैभन्दा पूर्व दक्षिणको गाउँमा जनप्रतिनिधि आएपछि मात्र विजुली बल्यो । हरिजन(दलित) बस्ती रहेको उक्त स्थानमा १३ घर परिवार बस्दै आएका छन् । उनीहरूको घरबाट भारतको दशगजा २० फिट पूर्व –दक्षिण छ । जनप्रतिनिधि आएपछि बल्ल सशस्त्र प्रहरीको सीमा प्रहरी कार्यालय स्थापना भएको छ