• १९ असार २०८१, बुधबार

पत्रकारदेखि व्यवसायीसम्म जनप्रतिनिधि बन्न इच्छुक

blog

धनगढी समाचारदाता

धनगढी, वैशाख ६ गते ।  कैलालीमा स्थानीय तहको बागडोर सम्हाल्नका लागि पत्रकारदेखि व्यवसायीसम्म इच्छुक देखिएका छन् । स्थानीय तहको ३० गते हुने निर्वाचनका लागि पत्रकार र व्यवसायीले उम्मेदवारीको तयारी गरेका हुन् । जसमध्ये कतिपयले आआफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । 

कैलालीको जानकी गाउँपालिकामा अध्यक्ष पदका लागि पत्रकार गणेश चौधरीले तयारी गरिरहनुभएको छ । रेशम चौधरीको समर्थन रहेको नागरिक उन्मुक्ति पार्टीबाट चौधरीले अध्यक्ष पदमा चुनाव लड्ने तयारी गर्नुभएको हो । उहाँको टिकट लगभग पक्का भइसकेको तर घोषणा हुन बाँकी रहेको बताइएको छ । 

उत्पीडनमा परेका सबै जाति र समुदायलाई न्याय दिलाउनका लागि आफू राजनीतिमा लागेको चौधरीको भनाइ छ । पहिचानको मुद्दालाई सबैभन्दा पहिले माओवादी पार्टीले उत्थान गरेको थियो । तर सो मुद्दालाई माओवादीले बिर्सिसकेको पत्रकार चौधरीको बुझाइ छ । माओवादीले छोड्दै गइरहेको पहिचानको मुद्दालाई अब नागरिक उन्मुक्ति पार्टीले अगाडि बढाउने उहाँले बताउनुभयो । 

यसैगरी घोडाघोडी नगरपालिकाको प्रमुखमा चुनाव लड्नका लागि पत्रकार प्रकाश मिश्र आकाङ्क्षी हुनुुहुन्छ । प्रेस चौतारी आबद्ध उहाँ नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट चुनाव लड्नका लागि प्रयास गरिरहनुभएको छ । यद्यपि टिकटको टुङ्गो भने लागिसकेको छैन । टिकट पाउने टुङ्गो नलागे पनि मिश्र चुनावी एजेन्डासहित प्रचारप्रसारमा जुटिसक्नुभएको छ । 

यसैगरी धनगढी उपमहानगरपालिकाको मेयरमा व्यवसायी गोपाल हमालले स्वतन्त्रबाट आफ्नो उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । धनगढीको विकास ‘धनगढी मोडल’ मा गर्ने, आफूले कुनै पनि सेवा सुविधा नलिने र स्वयंसेवक भएर काम गर्ने उद्घोषसहित उहाँ प्रमुखमा उम्मेदवारी घोषणा गर्नुभएको हो । २०७४ सालको निर्वाचनमा पनि उहाँ धनगढी उपमहानरपालिकाको मेयरमा स्वतन्त्रबाटै चुनाव लड्नुभएर थोरै मतान्तरले नेपाली काँग्रेसका नृपबहादुर वडसँग पराजित हुनुभएको थियो । मेयरमा जितेमा आफूले कुनै पनि सेवासुविधा नलिई पाँच वर्षसम्म स्वयंसेवकको रूपमा काम गर्ने हमालले घोषणा गर्नुभएको छ । 

यसैगरी अर्का व्यवसायी गोकर्ण भट्ट गोदावरी नगरपालिकाको प्रमुखमा चुनाव लड्नका लागि जुटिरहनुभएको छ । नेकपा एमालेबाट उहाँले प्रमुखमा चुनाव लड्ने तयारी गरिरहनुभएको हो । भट्ट सो पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टका सहोदर भाइ पनि हुनुहुन्छ । उहाँले टिकट पाउने सम्भावना प्रबल रहेको धेरैको बुझाइ छ ।