• १४ असार २०८१, शुक्रबार

दुई महिनादेखि दन्किएको छ वन

blog

शालिग्राम नेपाल,चितवन, वैशाख १० गते । चितवनका वनमा विगत दुई महिनादेखि लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । 

फागुन महिनादेखि चितवन राष्ट्रिय निकुञ्ज, सामुदायिक वन, राष्ट्रिय वनलगायतका स्थानमा डढेलो लागेको हो । जिल्लाका धेरै स्थानमा कतै न कतै डढेलो लागेको डिभिजन वन कार्यालय भरतपुरका सूचना अधिकारी देवी पौडेलले बताउनुभयो । 

निकुञ्जबाहेकका वनमा मात्रै दुई हजार दुई सय हेक्टर क्षेत्रफलमा डढेलो लागिसकेको पौडेलले बताउनुभयो । अहिले पनि विभिन्न स्थानमा डढेलो लागेको तर नियन्त्रण बाहिर नभएको उहाँले बताउनुभयो । डढेलोका कारण ठुलो क्षति नभए पनि जमिनमा घस्रने जनावर, साना प्रजातिका जनावरलाई असर गरेको उहाँले बताउनुभयो । 

डढेलोबाट बच्नका लागि र यसबारेमा सचेतना फैलाउन चैतमा एक साता कार्यव्रmम सञ्चालन गरे पनि वनमा हुने आगलागीमा कमी नआएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । जिल्लाको इच्छाकामना गाउँपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकामा डढेलो लागेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ । 

डढेलो नियन्त्रणका लागि सामुदायिक वनका प्रतिनिधि तथा सुरक्षाकर्मी, कबुलियती वन, वन डिभिजन कार्यालय, फरेस्ट फायर डिटेक्सन एन्ड मोनिटरिङ सिस्टमको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास भइराखेको उहाँले जानकारी दिनुभयो । 

डिभिजन वन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा डढेलोबाट मानव, पशु र बालीनालीको क्षति भएको छैन । डढेलोले साना बोटबिरुवा र जमिनमा गुँड बनाउने जीव, चरा मरेका छन् । वनमा लाग्ने डढेलो नियन्त्रणका लागि डिभिजन वनले सडक नाटकलगायतका जनचेतनामूलक कार्यव्रmम, १० जनाको डढेलो नियन्त्रण दस्ता परिचालन गरिएको छ । 

त्यस्तै सप्ताहव्यापी प्रचारप्रसार, डढेलो नियन्त्रणसम्बन्धी औजार वितरण र सामुदायिक वनको अग्निरेखाको सरसफाइ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जको मध्य क्षेत्रमा यस पटक धेरै डढेलो लागेको जानकारी दिनुभयो । निकुञ्ज र निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रमा लागेको डढेलोको यकिन तथ्याङ्क छैन, सूचना अधिकारी तिवारीले भन्नुभयो, “निकुञ्जको पूर्वदेखि पश्चिमसम्मका विभिन्न स्थानमा आगो लागेको छ, नियन्त्रण बाहिर डढेलो छैन, ठुलो असर पारेको छैन ।”  

निकुञ्जभित्र नियन्त्रित डढेलो पनि लगाइने गरेको छ । “डढेलो नलगाउँदा घाँस खाने प्रजातिका जनावरलाई नयाँ घाँस पलाउने अवस्था हँुदैन,” तिवारीले भन्नुभयो । उहाँका अनुसार अहिले नियन्त्रित डढेलो नलगाउँदा अनावश्यक वनस्पति बढेर घाँस हराउने, नयाँ आउन नसक्ने भएकाले कतिपय स्थानमा आगो लगाउनु आवश्यक छ । 

निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजयकुमार श्रेष्ठले डढेलोका कारण ठुला जनावरमा कुनै क्षति नभएको बताउनुभयो । निकुञ्जमा अहिले लागेको डढेलोले गैँडा, हरिण अन्य जनावरका लागि घाँसे मैदान निर्माण गर्न, नयाँ आहाराका लागि सहयोग पुग्छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत टिकौली जङ्गल, ठोरी क्षेत्र, बाँदरझुला क्षेत्रमा धेरै आगो लागेको छ । यस पटक धेरै सुक्खा भएकाले निकुञ्जको मध्य क्षेत्रमा बढी आगो लागेको निकुञ्जले जानकारी दिएको छ ।