• २४ वैशाख २०८१, सोमबार

सार्वजनिक जग्गा खाली गराउने कार्यबाट पछि हट्यो रास्कोट

blog

कालीकोट जिल्लाको रास्कोट नगरपालिका । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, वैशाख १० गते ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले आफ्नो यरियाको सार्वजनिक जग्गा खाली गराउनबाट पछि हटेको छ । राजनीति पहुँच र राम्रो आर्थिक स्रोत भएका भनिएकाले कब्जा गरेको सरकारी स्वामित्वको सार्वजनिक जग्गा नगरपालिकाले खाली गराउन नसकेर पछि हटेको छ । अहिले नगरपालिका ति पहुँचवालाको घरलाई खाली गराउन छोडेर लेकाली क्षेत्रमा अमिनको टोली लिएर समय बिताइरहेको स्थानीयको गुनासो छ ।

द्वन्द्वको समयमा बजार विस्तारका लागि सार्वजनिक जग्गा आरसिपि बजारमा वितरण गरिएका घरेडीमा बनेका ससाना व्यापारीका टहरा हटाएको नगर सरकारले पहुँचवाला व्यक्तिबाट भने आफैँ पछि हट्नु परेको स्थानीयको गुनासो छ । पहिला माओवादीले नै बजार विस्तारका लागि भनेर सार्वजनिक जग्गा प्रति व्यक्ति पाँच सय रुपियाँका दरले घरेडी वितरण गरे । अहिले उनैको सत्ताले व्यापारीलाई गरी खान दिएन । तर सार्वजकि जग्गा आफैँले कब्जा गरेर घर समेत बनाएको ठाउँमा भने नगर सरकार प्रवेश नगरेको गुनासो व्यापारीको छ ।

नाम सार्वजनिक नगर्ने सर्तमा एक व्यापारीले भन्नुभयो, ‘‘हामीलाई व्यापार गर्न नदिने नगर सरकारले कसैका घर बनेका किन देखेन । बडिमालीका माध्यमिक विद्यालय आसपासमा सार्वजनिक जग्गामा घर निमार्ण भएका छन् । तर नगर प्रमुख धर्मराज शाहीका नातेदार भएकाले त्यो क्षेत्र विस्तारै खाली गराउने भनेर नागरिकलाई अल्मलाइरहनु भएको छ ।’’

यसैगरी, आरसिपि बजारका व्यापारी तथा शिक्षक गोरखबहादुर शाहीले पहिलो चरणमा आँगन खाली गराउने र पछिल्लो चरणमा अन्य ठाउँको सार्वजनिक जग्गा खाली गराउने नगर सरकारले आसपासन दिएकै कारणले आफुहरुले बनाएका टहरा खाली गरेर सरकारलाई सहयोग गरेको बताउनुभयो ।

‘‘हामी सबैको माग एउटै हो, सरकारलाई असहयोग भन्ने कतै हुँदैन, तर गरिबले बनाएका टहरा मात्र खाली गराउने र धनीले सार्वजनिक जग्गामा घरवास बसाली रहने चलनको अन्तः हुनुपर्छ भन्ने हो ।’’  शिक्षक शाहीले भन्नुभयो, ‘‘हामीले व्यक्तिगत रुपमा कसैसँग केही लिनु र दिनु छैन । सरकारले आफ्नै नागरिक माथि विभेद गर्नु भएन भन्ने मात्र हो ।’’

केही व्यपारीले कसैका बारे टिकाटिप्पणी गरेको खण्डमा सादा र युनिफम लगाएका व्यक्तिले धम्की दिने गरेको गुनासो उहाँहरुको छ । उता नगर सरकारले लेकाली क्षेत्रमा सार्वजनिक जग्गामा बनेका टहरा र कृषि खेती गर्दै आएको जमिनको एकिन गरेर मासिक भाडा लिने कार्यविधि बनाउन लागेको बताइन्छ ।

रास्कोट नगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत जवानसिहं बमले हटाउने नहटाउने आफुलाई जानकारी नभएको भन्दै कार्यापालिकाले निर्णय गरे आफुले कार्यान्वयनका लागि पत्राचार गर्ने प्रतिक्रया दिनुभयो  ।

यसैगरी, नगर प्रमुख धर्मराज शाहीले पत्रकारलाई सूचना दिन जरुरी नभएको भन्दै बैठकमै कार्यापालिका सदस्यलाई निर्देशन गर्नुभएको बताइएको छ । नगर प्रमुख शाहीलाई यस विषयमा प्रतिक्रिया लिन पटक पटक गरिएको फोन रिसिभ नभएपछि नगरपालिका उपप्रमुख मनिराज वराललाई सम्पर्क गर्दा उहाँले विस्तारै हटाउने कुरा भएको बताउनुभयो ।