बुलबुले समाचारदाता
सुर्खेत, वैशाख ३ गते । कर्णालीमा नदी नियन्त्रणको काम सुरु गरिएको छ । विगतका वर्षमा योजनामा राखिएको नदी नियन्त्रणको काम यस वर्षदेखि सुरु गरिएको प्रदेश सरकारले जनाएको छ । प्रदेश राजधानी संरक्षण योजना अन्तर्गत नदी नियन्त्रण अगाडि बढाइएको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । यो योजना अन्तर्गत अहिले बुलुबले क्षेत्रको पानी व्यवस्थापन गर्न लागिएको छ ।
ठेक्का सम्झौता गरेर निर्माण सुरु गरिएको निर्देशनालयका इन्जिनियर उत्तम चौलागाईंले बताउनुभयो । उहाँले २०८२ चैतदेखि सम्झौता गरेर नदी नियन्त्रणको काम सुरु गरिएको जानकारी दिनुभयो । त्यसका लागि १७ करोड १५ लाख ६७ हजारमा रुपियाँमा ठेक्का सम्झौता भएको छ । खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय र जलजला जिपी, अभ्नेस एन्फा जेभीबिच दुई वर्षमा काम सक्ने गरी सम्झौता गरिएको छ । २०८४ चैतसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने छ ।
अहिले सम्झौता भई निर्माण सुरु भएको इन्जिनियर चौलागाईंले बताउनुभयो । यो योजना अनुसार बुलबुले तालदेखि काँक्रेविहार जङ्गलसम्म करिब एक किलोमिटरमा नदी नियन्त्रणको काम गरिने छ ।
बुलबुले तालबाट आएको पानीलाई तालको किनारबाटै काँक्रेविहार जङ्गलको किनारसम्म पु¥याउने गरी निर्माण अगाडि बढाइएको आयोजनाले जनाएको छ । सम्झौता भई काम सुरु गरेको १० दिन मात्र भएको छ । जथाभाबी रूपमा बगिरहेको पानीलाई व्यवस्थापन गर्नका लागि योजना कार्यान्वयन गरिएको प्रदेश सरकारले जनाएको छ । पानी नियन्त्रण नहुँदा किसानले उत्पादन गर्ने खेतबारीमा समेत असर पर्नुका साथै बुलबुलेआसपासका स्थानीयलाई समेत बस्तीमा पानी पस्दा समस्या हुने गरेको थियो ।
कर्णाली प्रदेश सरकारले विशेष गुरुयोजना निर्माण गरेर प्रदेश राजधानी संरक्षण योजना कार्यान्वयन गरेको हो । उक्त योजना अन्तर्गत यस वर्ष एक किलोमिटर बुलबुले क्षेत्रको पानीमा पर्खाल निर्माण गर्न लागिएको हो । बुलबुलेलाई थप सुन्दर बनाई पर्यटन प्रवर्धन गर्ने योजना अन्तर्गत सुरु गरिएको छ । मानिसलाई बुलबुलेदेखि काँक्रेविहारसम्म सहज रूपमा पुग्नका लागि यस योजनाले सहयोग पु¥याउने छ । पैदलयात्रीले बुलबुलेदेखि काँक्रेविहारसम्म छिट्टै पुग्ने छन् । मानिसको सहज आवतजावतका लागि उक्त क्षेत्रमा दुई वटा साना पुल निर्माण गरिने इन्जिनियर चौलागाईंले बताउनुभयो । यस्तै नयाँ ताल निर्माण धमाधम भइरहेको छ । चरा र पानी संरक्षणका लागि भन्दै वीरेन्द्रनगर गुरुयोजना कार्यान्वयन अन्तर्गत ताल निर्माण गर्न लागिएको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालयको एक करोड १२ लाख ३६ हजार रुपियाँ लागतमा ताल निर्माण गर्न लागिएको हो । कम्पनीले कम्पाउन्ड वाल, नालालाई व्यवस्थित बनाउनुका साथै तालवरिपरि मान्छे हिँड्ने फुटपाथ बनाइनेलगायतका काम गर्ने छ । भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शेखर चपाईंका अनुसार अहिले पानीको स्रोत भए पनि चुहावट भइरहेको छ । त्यसलाई संरक्षण गर्नु पनि उद्देश्य रहेको छ । कर्णाली आउने हरेक पर्यटकको रोजाइमा बुलबुले पनि पर्ने गरेको छ । बुलबुलेमा बिदाका दिनमा बढी पर्यटक आउने गर्छन् । दैनिक औसत छ सय पर्यटकले बुलबुले अवलोकन गर्ने जनाइएको छ ।