• २३ वैशाख २०८१, आइतबार

एमालेलाई बहुमतमा पुर्‍याउने गरी काम गर्न वरिष्ठ नेता पोखरेलको निर्देशन

blog

नेकपा (एमाले)को राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा सहभागी ।

काठमाडौं, वैशाख ९ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ०८४ सालमा एमालेलाई बहुमतमा पुर्‍याउने गरी काममा लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । 

आइतबार पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले ०८४ सालमा पार्टीलाई बहुमतमा पुर्‍याउने गरी काम गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको हो । 

उहाँले नेकपा (एमाले) राष्ट्रिय शक्तिको रूपमा स्थापित भएको भन्दै एमालेलाई निर्णायक बिन्दुमा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले एमाले बलियो भएमात्रै राष्ट्रिय शक्ति बलियो हुने भन्दै एमाले कमजोर हुँदा राष्ट्रिय शक्ति कमजोर हुने बताउनु भयो । उहाँले एमालेलाई बलियो बनाउन विचारमा स्पष्ट, सङ्गठनमा सुदृढ र जनतामा स्थापित भएको नेतृत्व पार्टीले खोजेको बताउनु भयो । उहाँले पार्टीलाई सुदृढ र मजबुत बनाउन नेतृत्वको आचरणहरूलाई पनि सुदृढ गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘नेकपा(एमाले) आफैँ एउटा राष्ट्रिय शक्ति हो । एमालेले राष्ट्रिय शक्तिको रूपमा भूमिका खेल्दैछ । तर निर्णायक रूपमा नेकपा (एमाले) रुपी राष्ट्रिय शक्ति निर्णायक बिन्दुमा पुग्नुपर्ने आवश्यकता छ । त्यसको लागि हामीले योजनाबद्ध ढङ्गले आफूलाई अगाडि बढाउनु जरुरी छ । एमाले मात्रै होइन, अरू कतिपय त्यस्ता राष्ट्रिय शक्तिको पङ्क्तिमा पर्ने पक्ष पनि छन् । सबैलाई समेटेर लिएर जानुपर्ने दायित्व एमालेको काँधमा छ । म के आग्रह गर्न चाहन्छु भने कुल मिलाएर नेकपा (एमाले) बलियो भयो भने राष्ट्रिय शक्ति निर्णायक रूपमा बलियो हुनसक्छ । एमाले कमजोर भयो भने मुलुकको राष्ट्रिय शक्ति कमजोर हुनेछ । एमालेलाई सुदृढ गर्नु, मजबुत बनाउनु, विचार, सङ्गठन, नेतृत्वमा उसका आचरणमा सुदृढ गर्नु राष्ट्रिय शक्ति निर्माण गर्ने कुराको महत्त्वपूर्ण पक्ष हो । मिसन ०८४– एमालेलाई बहुमतमा पुर्‍याउने, त्यो भनेको एमालेरुपी राष्ट्रिय शक्तिलाई निर्णायक ठाउँमा पुर्‍याउने काममा हामी सबै लाग्नुपर्दछ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका नेता, कार्यकर्ता पब्लिक अडिटमा रहने भन्दै पब्लिक अडिटमा बेरुजु निस्किने छुट आफूलाई नभएको बताउनुभयो । उहाँले व्यक्तिगत आचरण राम्रो बनाउन पनि आग्रह गर्नुभयो ।