• २१ वैशाख २०८१, शुक्रबार

अब्बल सामुदायिक विद्यालय : चाप थेग्न प्रवेश परीक्षा

blog

सत्यवती माविका भर्ना हुन प्रवेश परीक्षा दिँदै विद्यार्थी। तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख ८ गते। हाम्रोमा सामुदायिक विद्यालय भन्ने बित्तीकै नाक खुम्च्याउने चलन नै छ। सामुदायिकको तुलनामा निजी विद्यालयका विद्यार्थी पढाइमा अब्बल हुन्छन् भन्ने मान्यता समाजमा स्थापित हुँदै गर्दा कतिपय सामुदायिक विद्यालय विद्यार्थी नपाएर तनावमा छन्। तर, तनहुँको सदरमुकाम दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयमा अवस्था ठिक उल्टो छ। 

विद्यालयमा विद्यार्थीको चाप थेग्न नसकेर हैरान छ। विद्यालयमा निजी  छाडेर भर्ना गर्ने विद्यार्थीको लर्को लाग्ने गर्दछ। विद्यालयमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकिएमा विद्यार्थीको कमी हुँदैन भन्ने उदाहरण बनेको छ। 

जिल्लामा भर्ना अभियान सञ्चालनसँगै विद्यार्थीको अभाव टार्न विद्यालयका शिक्षक विद्यार्थी खोज्दै घरदैलोमा पुगिरहेको बेला यो विद्यालय भने भर्ना हुने विद्यार्थीको ताँती लागेको छ। 

उत्कृष्ट नतिजा ल्याउने भएकाले विद्यालयमा भर्ना गर्न तँछाडमछाड हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले जानकारी दिनुभयो। खेलमैदान, भौतिक संरचनाको अभावले गर्दा सबै विद्यार्थीलाई भर्ना गर्न नसकिएको उहाँले बताउनुभयो। 



अध्यक्ष काफ्लेले सरकारी विद्यालयमा शैक्षिक गुणस्तर हुँदैन भन्ने भ्रमलाई चिर्न सफल भएको बताउनुभयो। विद्यालयको भौतिक संरचनाले नै धान्न नसक्ने गरेर विद्यार्थीको ओइरो लागेकोले प्रवेश परीक्षा लिनु बाध्यता भएको काफ्ले बताउनुभयो। गत वर्षको एसइईमा पनि यो विद्यालयमा कक्षा नर्सरीदेखि अध्ययन गर्दै आउनुभएकी छात्रा आँचल सिग्देल तनहुँ जिल्लामा प्रथम हुनुभएको थियो।  

नजिकको विद्यालय मर्ज गरेर विद्यालयको क्षेत्रफल बढाउन स्थानीय तहसँग माग गरिएको भए पनि पुरा नहुँदा कक्षा कोठा र खेल्ने मैदानको अभाव भएको काफ्ले बताउनुहुन्छ। 

चालु शैक्षिक सत्र २०८१ मा विद्यालयमा भर्ना हुन आउने विद्यार्थी अत्यधिक भएपछि विद्यालयले शनिबार प्रवेश परीक्षा लिएको छ। विद्यालयका प्रधानाध्यापक पुष्पकला भट्टराईका अनुसार विद्यालयमै अध्ययनरत दुई हजार छ सय ८५ जना विद्यार्थी छन्। 

नयाँ विद्यार्थी भर्ना गराउने अवस्था छैन। तर, विभिन्न कक्षामा नयाँ विद्यार्थी भर्ना गराउन दबाब बढेपछि प्रवेश परीक्षा लिइएको छ। विद्यालयको क्षमताभन्दा बढी विद्यार्थी हुने भएपछि प्रवेश परीक्षा लिएरमात्रै भर्ना गर्न थालिएको छ। विद्यार्थी भर्ना हुनेको चाप थेग्न नसकेर प्रवेश परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक भट्टराईले बताउनुभयो। 

भट्टराईले भन्नुभयो,  ‘निश्चित कोटा तोकेर विद्यार्थी भर्नाको सूचना प्रकाशित गर्छौं। तोकेको कोटा भन्दा धेरै विद्यार्थीले भर्नाका लागि फारम भरेपछि प्रवेश परीक्षाबाट विद्यार्थी छनाेट गर्दै आएका छौं।’ 

भट्टराईका अनुसार विद्यालयमा ४८ वटा मात्रै कोठा भएकोले सबै विद्यार्थीलाई भर्ना गर्न नसकिएको हो। कक्षा कोठाको अभावले गर्दा कक्षा ११ र १२ लाई बिहानीमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ। बिहानक लागि १९ वटा कक्षा सञ्चालन गरिएको छ। ६३ वटा कक्षा कोठा भएको भए दिउँसो सञ्चालन गर्न सकिन्छ। 


भर्ना गर्नका लागि जम्मा भएका अभिभावकको भीड। तस्बिर–अमरराज नहर्की 

विद्यालयमा विद्यार्थी धेरै भएर सेक्सन थप गर्नु परेको छ। कक्षा ९ र १० मा सात सेक्सन, ८ मा छ सेक्सन, ७ मा चार सेक्सन र ६ मा तीन सेक्सन सञ्चालन गरिएको विद्यालयले जनाएको छ। गुणस्तरीय शिक्षा प्रदान गर्न सकेकाले विद्यालयमा तनहुँबाहेक गोरखा, लमजुङ र कास्कीका विद्यार्थी दमौलीमा डेरा गरेर अध्ययन गर्दै आएका छन्।

२०७० सालमा यो विद्यालय नेपाल प्रथम भएको थियो। एसईईमा लगातार तीन वर्षसम्म ८० प्रतिशत भन्दा बढी विद्यार्थी उत्तिर्ण गराउनेको आधारमा प्रथम भएको विद्यालयका पूर्वप्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो।

 विद्यालयमा प्राविधिक शिक्षा पढ्न पाइने भएकाले पनि विद्यार्थीको सङ्ख्या धेरै भएको हो। २०६८ सालदेखि विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान समूहको कक्षा सञ्चालन भइरहेको छ। यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिकतर्फ कम्प्युटर इन्जिनियरिङ विषयको पठनपाठन भइरहेको छ। 

उत्कृष्ट नतिजा ल्याएकोले नेपाल सरकारले नमुना विद्यालयको रुपमा छनोट गरेको छ। यो २०७४ साल असार २५ गते शिक्षा मन्त्रालयको निर्णय अनुसार नमुना विद्यालय विकास तथा सञ्चालनको लागि छनोट भएको  विद्यालयले जनाएको छ। कक्षाकोठाको अभावले गर्दा अभिभावकको इच्छा र आकर्षणका बाबजुद पनि सीमित सङ्ख्यामा मात्रै विद्यार्थी भर्ना गर्नुपर्ने अवस्था रहेको शिक्षक अभिभावक सङ्घका अध्यक्ष सोमराज सिग्देलले बताउनुभयो।