• २१ वैशाख २०८१, शुक्रबार

सङ्घीयतामाथि पनि ठगी हुन थाल्यो : महामन्त्री शर्मा

blog

इलाम चोक बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री विश्वप्रकास शर्मा । तस्बिर :कोकिला ढकाल

कोकिला ढकाल
इलाम, वैशाख ८ गते  ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले देशमा सहकारी मात्र नभइ सङ्घीयतामाथि ठगी भएको बताउनु भएको छ । इलाम–२ को उपनिर्वाचनका क्रममा इलाम आइपुग्नु भएका शर्माले शनिबार सदरमुकाममा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै सङ्घीयता माथि पनि ठगी हुन थालेको बताउनु भयो ।

आफ्नो सम्बोधनमा गृहमन्त्री रवि लामिछाने र गृहमन्त्रीको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी प्रति धेरै समय खर्चनु भएका शर्माले सहकारी ठगी प्रकरणबाट गृहमन्त्री लामिछाने उम्कन खोजेको आरोप लगाउनुभयो ।

संसदीय छानविन समिति गठन गरौं भन्ने कांग्रेसको प्रस्तावलाई टाढा राखेर प्रधानमन्त्रीले पनि लामिछानेलाई उनमुक्ति दिन खोजेको आरोप लगाउनु भयो । उहाँले संसदमा उभिएको मुद्दा भ्रष्टाचार र ठगीको भएको स्पष्ट पार्दै गृहमन्त्रीसँगको व्यक्तिगत रिसीवीको  मुद्दा नभएको बताउनुभयो । ‘‘सहकारी ठगीमात्र होइन, सङ्घीयता मान्ने तर प्रदेशमा उम्मेद्वारी नै नदिने रास्वपाको त्यो कदम सङ्घीयता माथिको ठगी हो कि होइन ?’’ जनतासँग प्रश्न गर्दै शर्माले भन्नुभयो, ‘‘छानविन समिति बनाऔंभन्दा गृहमन्त्री आफैंले गठन गरौं र छानविन मबाटै गरौं भन्नु हुन्छ भन्ने हाम्रो अपेक्षा थियो । त्यो भएन । तर गरिब जनताले गाँस काटेर सहकारीमा जम्मा गरेको रकम कसैले ठगी गर्न हुँदैन, त्यसलाई कानुनी कारवाहीमा ल्याउनु पर्छ, कांग्रेस त्यस विषयमा दृढ छ ।’’

इलाम–२ को निर्वाचनका लागि नेपाली कांग्रेसलाई जिताउन जनतालाई अपिल गर्दै शर्माले इलाम– २ मा अहिलेसम्म कुनै पनि विकास र केही भएको छैन भन्न नमिल्ने जिकिर गर्नुभयो ।

‘‘इलाम –२ मा धेरै काम भएको छ, धेरै काम हुँदैछन् । केही अधुरा छन् । ती काम किन अधुरा र ढिला भयो भन्ने हेर्न जरुरी छ ।’’ शर्माले भन्नुभयो, ‘‘०४६ को परिवर्तनपछि कांग्रेस नेतृत्वको सरकारका पालामा पनि धेरै काम भएका हुन् । स्वर्गीय सुबासचन्द्र नेम्वाङले पनि यहाँ काम नगर्नुभएको भन्न मिल्दैन, नेम्वाङका अधुरा सपना अब नेपाली कांग्रेसले पुरा गर्नेछ ।’’

शर्माले इलामसहित पाँचथर र ताप्लेजुङ जोडिएको मेची राजमार्ग, इलाम–२ को शिक्षा, स्वास्थ्य, विजुली र सञ्चारमा लेन्डलाई टेलिफोन र अहिलेको मोबाइल सेवालाई यहाँ विकास भएन भन्न नमिल्ने बताउनु भयो । शर्माले अघिल्लो पटकको निर्वाचनमा माओवादी समर्थकले पनि रुपमा भोट हालेको स्मरण गराउँदै गठबन्धन जे भएपनि त्यसैबेला पाँच वर्षका लागि रुखलाई दिएको मत फेरि पनि दोहो¥याउन अपिल गर्नुभयो । 

शर्माले निर्वाचन ताका सबै दलहरु सालिन र सिस्ट ढङ्गले प्रस्तुत हुनुपर्नैमा जोड दिँदै, नेपाली कांग्रेस सधैँ सिस्ट ढङ्गले अघि बढ्ने विश्वास दिलाउनु भयो । उहाँले गाली गलौज नगरी इलामका राजनीतिक र सामाजिक मुद्दा उठाउन पनि सबैलाई आग्रह गर्नुभएको थियो ।