• २१ वैशाख २०८१, शुक्रबार

‘महाजात्रा’ को व्यापार उत्साहजनक

blog

काठमाडौँ, वैशाख ८ गते । चलचित्र ‘महाजात्रा’ प्रदर्शनको पाँचौँ सातामा प्रवेश गरेको छ । यसका साथै फिल्मले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपियाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपियाँ कमाइ भएको जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बलियो बनाउनुका साथै चलचित्रको माध्यमबाट नेपाली कला, संस्कृति र भाषाको प्रवर्धनमा सहयोगी भूमिका निर्वाह गर्न पाउँदा आफूसहित सम्पूर्ण टिम हर्षित रहेको निर्माता दीपेश खत्रीले बताउनुभयो । 

अन्तर्राष्ट्रिय वितरक कम्पनी एमएसएम इन्टरटेनमेन्टले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपालपछिको दोस्रो ठुलो बजार मानिने अस्ट्रेलियामा ९० भन्दा बढी सो, संयुक्त राज्य अमेरिकामा ६५ भन्दा बढी सो, न्युजिल्यान्डमा १४ सो, युरोप अन्तर्गतका देशमा ५० सो, क्यानडामा १२ सो, जापानमा १५ सो र दक्षिण कोरियामा १२ सो भइसकेको छ । 

त्यस्तै अस्टे«लियाको सिड्नीमा अत्यधिक प्रदर्शन हुने नेपाली फिल्म ‘महाजात्रा’ बनेको छ । अप्रिल २१ सम्म यसको कुल ३३ सो सेड्युल गरिएको छ । यति सङ्ख्याको सो अहिलेसम्म सिड्नीमा कुनै नेपाली चलचित्रको नभएको दाबी गरिएको छ । मध्यपूर्व अन्तर्गतका देश कतार, युनाइटेड अरब इमिरेट्स, बहराइन, ओमान र मलेसियामा नियमित बक्स अफिसमा प्रदर्शन भइरहेको छ । 

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजङ्ग शाही, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय छ ।