• २० वैशाख २०८१, बिहिबार

भर्ना अभियान प्रभावकारी बनाउन पहल

blog

अनिल पराजुली

हेटौँडा, वैशाख ७ गते । शैक्षिक सत्र २०८१ को भर्ना अभियान चलिरहेको छ । “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने आदर्श वाक्यसहित भर्ना अभियान सञ्चालन भइरहेको हो । 

उक्त भनाइलाई सार्थकता प्रदान गर्न बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एका लाल श्रेष्ठले विशेष सक्रियता बढाउनुभएको छ । मन्त्री श्रेष्ठले हेटौँडा–१२ स्थित बुद्ध माविको घरदैलो कार्यक्रममा सहभागिता जनाउनुभएको छ । विद्यालयले प्रचारात्मक शैलीमा हेटौँडा १२ को पान्तले, भोर्ले, हात्तीगौंडा, बनेलधापटोल लगायतको स्थानमा घरदैलो गरी विद्यालय जाने उमेरका बालबालिकालाई भर्ना गराउन अभिभावकलाई आग्रह गर्नुभएको हो । 

अभियानको क्रममा मन्त्री श्रेष्ठले अभिभावकहरूसँग भेटी विद्यार्थीलाई विद्यालयमा पठाउन आग्रह गर्नुभयो । उहाँले विद्यार्थी भर्ना अभियान तीव्र बनाउन विद्यालय व्यवस्थापन समितिले विद्यार्थी र अभिभावकसँगको छलफललाई अगाडि बढाउनुपर्ने बताउनुभयो । 

राज्यले ठुलो लगानी गरेको सामुदायिक विद्यालयहरूमा विद्यार्थीको सङ्ख्या सहित गुणस्तर पनि बढाउनुपर्नेमा उहाँको जोड थियो । मन्त्री श्रेष्ठले विद्यालयको भौतिक पूर्वाधार विकासको लागि बागमती प्रदेश सरकार गुरुयोजनाको साथ अघि बढेको दाबी गर्नुभयो । समुदायसँग जोडिनको लागि पनि शैक्षिक क्षेत्रको गुणस्तर अभिवृद्धि हुनुपर्ने उहाँको भनाइ छ । जनजाति समुदायको बाहुल्य रहेको उक्त क्षेत्रमा विद्यार्थी भर्ना कम हुने र विद्यार्थी ड्रप आउटको समस्यापनि रहेको भन्दै मन्त्री श्रेष्ठले भर्ना अभियानमा सबैको भूमिका अनिवार्य रहेको बताउनुभयो । भर्ना अभियानमा सबैभन्दा ठुलो, भूमिका स्थानीय तह, शिक्षक र विद्यालय व्यवस्थापन समितिको रहने भन्दै मन्त्री श्रेष्ठले भर्ना अभियानसँगै विद्यालयको शैक्षिक गुणस्तरमा पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो । 

विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्न प्रदेश सरकार लागिरहेको उहाँले बताउनुभयो ।  विद्यालय शिक्षाका निम्ति लगानीका प्रयासलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन सामूहिक प्रयास केन्द्रित हुनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभएको छ ।

यसैगरी विद्यालयका प्रधानाध्यापक किसन थापाले सामुदायिक विद्यालयहरूको भौतिक विकास अझैपनि सोचे अनुरूप हुन नसकेको बताउनुभयो । उहाँले कम्प्युटर ल्याब, खेलमैदानको व्यवस्थापनको लागि आफूहरूले विगत देखि नै प्रदेश र स्थानीय सरकारलाई अनुरोध गर्दै आएको बताउनुभयो । कक्षा दशसम्म अध्यापन हुने विद्यालयमा हाल ६ सय ५० जना विद्यार्थी अध्ययनरत रहेको उहाँले बताउनुभयो ।