• १२ साउन २०८१, शनिबार

बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

blog

महिला स्वास्थ्य स्वयमसेविकाले भिटामिन ‘ए’ खुवाउनु हुँदै । तस्विरः मीना कंडेल

मीना कंडेल

कावासोती, वैशाख ६ गते । देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन भएको छ । स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै छ ।

नवलपुरमा २६ हजार चारसय ८५ जना पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । छ महिना देखि ११  महिना सम्मका दुई हजार सातसय २४ जना बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने छ । त्यसैगरी १२ देखि ५९ महिना उमेरका २३ हजार सातसय ६१ जना  बालबालिका रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्तिनाथ भट्टराईले बताउनुभयो । 

गैँडाकोट नगरपालिकामा पाँच हजार चारसय ३६ जना रहेका छन् । देवचुलीमा चार हजार १०३ जना, कावासोतीमा छ हजार चारसय २०, मध्यविन्दुमा चार हजार चारसय १९, विनयी त्रिवेणीमा दुई हजार सातसय ४८ जना, हुप्सेकोटमा एक हजार सातसय ९९ जना, वुलिङटारमा सातसय ५९ जना, बौदिकालीमा आठसय जना बालबालिकामा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन लागिएको प्रमुख भट्टराईले बताउनुभयो । नवलपुरमा ३५९ महिला स्वास्थ्य स्वयंसेविकाले भिटामिन ‘ए’ खुवाउने छन् ।

भिटामिन ‘ए को कमीले बालबालिकाको वृत्ति विकासमा असर, रतन्धो, कुपोषण, दीर्घ रोगविरुद्ध लड्ने क्षमतामा कमीजस्ता समस्या हुन्छन् । भिटामिन ‘ए’ कमी भएमा छाला सुख्खा हुने, छालामा पटक–पटक सङ्क्रमण हुने, आँखा सुख्खा हुने, राति आँखा देख्न गाह्रो हुने, गर्भाधान नहुने, बालबालिकाको ढिलो विकास हुने, पटक–पटक छाती तथा घाँटीको सङ्क्रमण हुने र घाउ ढिलो निको हुनेजस्ता समस्या देखिने भट्टराईले बताउनुभयो ।