• १८ वैशाख २०८१, मङ्गलबार

गण्डकी प्रदेश सभाको बैठक आह्वान

blog

फडिन्द्र अधिकारी
लेखनाथ, वैशाख ५ गते ।
गण्डकी प्रदेशसभाको अधिवेशन यही वैशाख ७ गते शुक्रबारका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते दिउँसो ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले प्रदेशसभामो नियमित अधिवेशन आह्वान गरिएको भएको बताउनुभयो । सोही अधिवेशनमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतको प्रस्तावसमेत पेश गर्ने तयारी छ ।

मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर माग गर्दै मङ्गलबार सर्वोच्च अदालतमा दायर भएको रिटको पूर्ण सुनुवाई वैशाख १० गते हुँदै छ । चैत २५ गते अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि २७ गते निवर्तमान मुख्यमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको दर्ताबाट रिट दर्ता भएको थियो ।

अधिकारी एमालेका २२, माओवादीका सभामुखसहित आठ र स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङे) सहित ३१ सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो । गण्डकीमा सदनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका दुई सांसद छन् ।

विश्वासको मत लिन अधिवेशन आह्वान भए पनि राप्रपाले सरकारलाई समर्थन गर्ने÷नगर्ने निर्णय भइसकेको छैन । सभामुखले निर्णायक मतबाहेक मतदान गर्न नपाउने हुँदा सरकारलाई विश्वासको मत पाउने राप्रपाको समर्थन अनिवार्य छ ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत २१ गते राजीनामा दिनुभएको थियो । केन्द्रमा गठबन्धन परिवर्तन भएपछि प्रदेशको दोस्रो कार्यकालमा अधिकारी दोस्रो पटक मुख्यमन्त्री हो । दलहरुबिच भागबन्डा मिलाउन सात मन्त्रालय फुटाएर नौ बनाइए पनि सरकार विस्तार हुन सकेको छैन ।

अहिले माओवादी केन्द्रबाट संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङे)लाई गरी दुई विना विभागीय मन्त्री हुनुुहुन्छ ।