• ८ मंसिर २०८१, शनिबार

पोलियो पल

blog

सन् १९५२, गर्मीका दिन थिए । टेक्सासका पल अलेक्जेन्डरलाई सन्चो महसुस भइरहेको थिएन । उनको घाँटी र टाउकोमा चोट लागेको थियो तथा उच्च ज्वरोले जिउ थला परेको । केही दिनमै छ वर्षका पल हिँडडुल गर्न, बोल्न र निल्न पनि नसक्ने भए । उनलाई पोलियो सङ्क्रमण भएको थियो ।

घाँटीमुनि लगभग पक्षाघात जस्तो भएर थला परेका पल त्यसपछिका सात दशक ठूलो स्टिलको भेन्टिलेटर ‘आइरन लङ’ अर्थात् लौह फोक्सोको सहारामा बाँचे । गत मार्च ११ मा ७८ वर्षको उमेरमा उनले अन्तिम सास लिए । सन् १९४० र १९५० को दशकमा अस्पतालका पोलियो कक्ष (वार्ड)मा आम देखिने लौह फोक्सोमा बाँचिरहेका पल अन्तिम व्यक्ति थिए । अघिल्लो महिना मात्र उनी कोभिड–१९ बाट सङ्क्रमित भएका थिए तर पछि निको भए ।

पलमा गजबको इच्छाशक्ति थियो । जीवनका लागि लौह फोक्सोमा कैद भएर बस्नु परे पनि उनले खानपिन र बाँच्नमै सीमित भएर दिन बिताएनन् । उनले स्नातकसम्म अध्ययन गरे । त्यसपछि साउदर्न मेथोडिस्ट युनिभर्सिटीबाट छात्रवृत्ति पाएर थप अध्ययन गरे । जबकि त्यस युनिभर्सिटीले सुरुमा उनको अपाङ्गता देखेर भर्ना गर्न समेत मानेको थिएन ।

सन् १९८४ मा पलले युनिभर्सिटी अफ टेक्सास अन्तर्गत अस्टिन ल स्कुलबाट स्नातकसमेत गरे । त्यसपछिका दिनमा पलले एक अधिवक्ताका रूपमा दिन बिताएका थिए । पल दिउँसोको अधिकांश समय लौह फोक्सोबिना व्यतीत गर्न सक्थे ।

सन् २०२० मा पलले आफ्ना अनुभवमा आधारित रहेर एउटा पुस्तक लेखे, ‘थ्री मिनट्स फर अ डग : माई लाइफ इन एन आइरन लङ’ । यो पुस्तक लेख्न उनलाई पाँच वर्ष लागेको थियो । पुस्तकका सबै शब्द उनले आफैँ लेखेका थिए र आफ्नो मुखमा जोडिएको एउटा डन्डीमा राखिएको कलमद्वारा उनी लेख्दथे ।

यस पुस्तकको शीर्षक पललाई बाल्यकालमा उपचार गर्ने चिकित्सकद्वारा प्रेरित छ । ती चिकित्सकले पललाई तीन मिनेट आफैँ सास लिन सकेमा एउटा कुकुर ल्याएर दिने वाचा गरेका थिए । त्यसो गर्नका लागि उनले आफ्नो घाँटीको मांसपेशीद्वारा वायुलाई आफ्नो फोक्सोमा पु¥याउन भ्यागुता जसरी सास लिन सिके । पललाई यस विधिमा अब्बल हुन एक वर्ष लाग्यो तर उनलाई समयमै जिन्जर नाम राखिएको कुकुरको छाउरा उपहारमा दिइएको थियो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार इस्वी संवत्को २० औँ शताब्दीको मध्यतिर पोलियो (पोलियोमाइलाइटिस) एक यस्तो भयङ्कर स्वास्थ्य समस्याका रूपमा अगाडि आयो जसले गर्दा हरेक वर्ष पाँच लाख मानिसको मृत्यु हुन्थ्यो वा उनीहरू पक्षाघातको सिकार हुन्थे । पोलियो भाइरसले केन्द्रीय स्नायु प्रणालीमा आक्रमण गर्दा  यो रोग सङ्क्रामक हुन्छ । अमेरिकाका ३२ औँ राष्ट्रपति फ्रान्कलिन डेलानो रोजभेल्ट सन् १९२१ मा पोलियो सङ्क्रमण भएर आफ्ना गोडा चलाउन नसक्ने भएका थिए ।

पोलियो भयङ्कर स्वास्थ्य समस्या बन्दा त्यसको सङ्क्रमणले ‘डायाफ्राम’ पक्षाघात भएकालाई जीवित राख्न लौह फोक्सो अनिवार्य भएको थियो । यस चिकित्सा उपकरणले ‘भ्याकुम’ का माध्यमद्वारा ऋणात्मक चाप उत्पन्न गरी ती रोगीलाई सास लिन मद्दत गर्दथ्यो । ऋणात्मक चापका कारण फोक्सो फुक्ने र सास भित्र लिन सहज हुन्थ्यो ।

सन् १९५३ मा भाइरोलोजिस्ट योनास साल्कले पोलियोको प्रभावकारी खोप आविष्कार गरेका थिए । तापनि अमेरिकीले पोलियो खोप लिनमा त्यति चासो देखाएनन् । सन् १९५६ मा प्रख्यात गायक एल्विस प्रिस्लले खोप लगाएर खोप लगाउने सार्वजनिक अभियानलाई बल दिए र अन्ततः सन् १०७९ मा अमेरिकामा पोलियो उन्मूलन भयो ।

एक तथ्याङ्क अनुसार सन् १९५९ मा अमेरिकामा १२ सय जना लौह फोक्सोका भरमा जीवित थिए र सन् २००४ सम्म आइपुग्दा त्यो सङ्ख्या ३९ मा झ¥यो, पलको निधनसँगै शून्य भएको छ ।

पोलियो सङ्क्रमण भएको दुई वर्षपछि सन् १९५४ मा पलले भ्यागुता शैलीमा सास लिन सिक्न थालेका थिए । यसै शैलीका कारण लौह फोक्सोमा पलले पूर्ण निर्भर रहनु परेन । पलले बेलाबेलामा लौह फोक्सोको सहारा लिनु पथ्र्यो तर उनले दुई सय ७५ किलो तौलको लौह फोक्सोकै सहारामा बाँच्ने अठोट लिए र आधुनिक ‘पोर्टेबल’ अपनाएनन् । मार्च महिनामा मात्र गिनिज बुक अफ वल्र्ड रेकर्डले फललाई लौह फोक्सोमा सर्वाधिक बाँच्ने बिरामीको उपाधि दिएको थियो । 

–युवामञ्च