• १८ वैशाख २०८१, मङ्गलबार

भैरहवा सेजमा थप चार उद्योग

blog

भैरहवा समाचारदाता

भैरहवा, वैशाख ५ गते । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा थप चार उद्योग सञ्चालनको तयारीमा छन् । सेज अझै पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन तर उद्योगीले सरकारी आश्वासनका कारण उद्योग स्थापना गर्ने क्रमलाई निरन्तरता दिएका छन् । पछिल्लो पटक सेजमा सञ्चालनको तयारीमा रहेका उद्योगमा इको नेपाल इनर्जी प्रालि, आरसी इन्डस्ट्रिज प्रालि, स्पट इलेक्ट्रिक र हिमालयन ग्रेनाइट प्रालि छन् ।

भैरहवा सेजका कार्यालय प्रमुख एवं इन्जिनियर सबुत डुम्रेका अनुसार यी चार उद्योगमा अहिले पूर्वाधार निर्माणका साथै मेसिनरी जडान कार्य अन्तिम चरणमा पुगेको छ । उद्योगीले आउँदो असारभित्रै उत्पादन सुरु गर्ने गरी काम गरिरहेका छन् । फर्निस आयल उत्पादन गर्ने योजनासहित स्थापना भएको इको नेपाल इनर्जी बुटवलका युवाको हो ।

त्यसै गरी यहाँ सञ्चालनको तयारीमा रहेको अर्को उद्योग आरसीले पुरानो ब्याट्रीको लिड प्रशोधन गरी नयाँ लिड उत्पादन गर्छ भने स्पट इलेक्ट्रिक भारतको गुजराती कम्पनी हो । विद्युतीय साइकलका पाटर्सहरू ल्याएर यहाँ एसेम्बल गरी उक्त उद्योगले विद्युतीय साइकल तयार गर्ने छ । त्यस्तै सञ्चालनको तयारीमा रहेको चौथो उद्योग हिमालयन ग्रेनाइटले कच्चा पदार्थ ढुङ्गा ल्याएर मार्बल टायल बनाउने डुम्रेले बताउनुभयो ।

सेजमा अन्य १२ कम्पनीले पनि उद्योग सञ्चालन गर्ने गरी सम्झौता गरेकामा लुम्बिनी मेसिनरी इन्डस्ट्रिज प्रालि र अलाइन्स मेटावेयर प्रालिले उद्योगका नाक्सा एवं प्रशासनिक काम गरिरहेका छन् । लुम्बिनी मेसिनरीले इलेक्ट्रिक ओभन तथा अलाइन्स स्टिलका भाँडा बनाउने उद्योग हो । सेज कार्यालयका अनुसार सम्झौता गरेका बाँकी १० उद्योगमध्ये छ वटा सम्पर्कमा रहेको र अन्य चार वटा सम्पर्कमा छैनन् ।

सम्झौता गरेका कम्पनीले हर्बल प्लान्ट, गार्मेन्ट, गहना, जुत्ता, छालाका सामानलगायतका उद्योग स्थापना गर्ने गरी सम्झौता गरेका छन् । सम्झौता गर्न आउँदा आफूले लिने प्लटको भाडा एक वर्षको बैङ्क ग्यारेन्टीका रूपमा राख्नुपर्ने प्रावधान छ । एक वर्षभित्र सम्पर्कमा नआए बैङ्क ग्यारेन्टीका रूपमा रहेको रकम सेजले फिर्ता गर्दैन भने उद्योग सञ्चालनमा आए बैङ्क ग्यारेन्टीका रूपमा रहेको रकमबाट एक वर्षको भाडा कटाउने प्रावधान छ ।

यसअघि भैरहवा सेजमा स्थापना भएका सात वटा उद्योगमध्ये छ वटा अहिले चालु अवस्थामा छन् । ती उद्योगहरू शक्ति मिनरल्स, विस्तार ग्लोबल प्रालि, ब्रिलियन्ट लाइट प्रालि, तिरुपति मेटल इन्डस्ट्रिज, एस पोलिमर्स, पञ्चकन्या इन्डस्ट्रिज प्रालि र जय बुद्ध मेटल क्राफ्ट छन् । जय बुद्ध अहिले बन्द छ । अहिले सञ्चालनमा रहेका छ वटा र सञ्चालनमा आउन लागेका चार उद्योगले सेजको ६८ प्लटमध्ये २७ प्लट ओगटेका छन् ।

सेज सुरु हुँदा भाडा प्रतिवर्ग मिटर १५० रुपियाँ रहेकोमा अहिले २० रुपियाँमा झरेको छ । यसलाई पनि घटाएर प्रतिवर्ग मिटर १० रुपियाँ बनाउने प्रस्ताव सेजले उद्योग मन्त्रालयमा पठाएको छ । त्यसै गरी सेजमा उत्पादित सामानमध्ये ७५ प्रतिशत भारत निकासी एवं २५ प्रतिशत स्वदेशमा खपत गर्नुपर्ने २०७३ सालमा आएको सेज ऐनमा थियो । सेजमा उद्योगीको उत्साह नदेखिएपछि २०७५ सालमा ऐन संशोधन गरी ६० प्रतिशत निकासी र ४० देशभित्र खपत गर्ने बनाइयो । अझै पनि उद्योगहरू आउन सकेका छैनन् ।