• २० वैशाख २०८१, बिहिबार

श्रमको मूल्य नपाउँदा युवा बिदेसिए

blog

मुख्यमन्त्री जोगबहादुर महरा शान्ति माध्यमिक विद्यालयको हीरक महोत्सवमा मायाको चिनो ग्रहण गर्दै  । तस्बिर : राधा नेपाली

सन्धिखर्क समाचारदाता 

सन्धिखर्क, वैशाख ४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोगबहादुर महराले नेपालमा श्रमको मूल्य सस्तो भएकाले युवा बिदेसिन बाध्य भएको बताउनुभएको छ । श्रमको मूल्य उच्च बनाउन सके युवालाई स्वदेशमै काममा लगाउन सकिने दाबी पनि उहाँले गर्नुभयो । 

मालारानी गाउँपालिकाको बाँगीस्थित शान्ति माध्यमिक विद्यालयको हीरक महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री महराले भन्नुभयो, “श्रमको मूल्य उच्च बनाउने अठोटका साथ अगाडि बढौँ सबै युवा विदेशबाट फर्किने छन् । विदेशी पनि रोजगारीका लागि नेपाल आउने छन् ।” मुख्यमन्त्री महराले उत्पादन प्रणाली र जीवनशैली फेरिएकाले बसाइँसराइ वृद्धि भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा श्रमको मूल्य पनि छैन सम्मान पनि हुँदैन । आफ्नो श्रम महँगोमा बेच्न युवा विदेश जान बाध्य भएका हुन् ।”

मुख्यमन्त्री महराले विद्यालयस्तरबाटै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुभयो । विद्यालय छन् तर अभिभावकले पढाउन चाहँदैनन् । कम्प्युटर र मोबाइलबाट पढ्ने समय छ । प्रतिस्पर्धामा आउन सक्ने दक्ष जनशक्ति उत्पादनको चुनौती छ, उहाँले थप्नुभयो । बिनाविभागीयमन्त्री चेतनारायण आचार्यले सरकारी विद्यालयको गुणस्तर बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालयलाई गुणस्तरीय बनाउन तपाईंहरू लाग्नूस् । भौतिक पूर्वाधार र विकासका लागि प्रदेश सरकारले काम गर्ने छ ।”

पूर्वराज्यमन्त्री सुशीला श्रीपाइली ठकुरीले सिर्जनशीलतासहितको शिक्षित हुनुपर्नेमा जोड दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर खड्काले किताब मात्र नभई कम्प्युटरबाट पनि विद्यार्थीलाई पढाउने व्यवस्था गरिएको बताउनुभयो ।