• २५ वैशाख २०८१, मङ्गलबार

‘प्रतिबद्धता जनाएको लगानी किन भित्रिएन’

blog

काठमाडौँ, वैशाख ३ गते । मुलुकमा लगानी गर्ने भनेर प्रतिबद्धता जनाए पनि सो अनुपातमा लगानी भित्रिन नसकेकाले किन लगानी भित्रिएन भनेर फलोअप र अध्ययन गर्न विज्ञहरूले जोड दिनुभएको छ । 

तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज आइतबार राजधानीमा आयोजना गरेको ‘नेपालको आर्थिक सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव’ विषयक अन्तर्क्रिया कार्यक्रममा विज्ञहरूले  प्रतिबद्धता अनुसार लगानी के कारणले आउन सकेन भनेर त्यसको फलोअपसँगै अध्ययन गर्नुपर्ने बताउनुभएको हो ।

मुलुकमा भित्रिने वैदेशिक लगानी प्राथमीकरणका क्षेत्र पहिचान गरेर भित्र्याउनुपर्नेमा जोड दिनुभएको हो । सो अवसरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई मुलुकमा वैदेशिक लगानी भित्र्याउने कुरा भए पनि प्रगति भने न्यून रहेको बताउनुभयो । 

यसअघि लगानी भित्र्याउने भनेर दुई पटक लगानी सम्मेलन भए पनि प्रतिबद्धता अनुसार लगानी भित्रिन नसकेको भट्टराईले बताउनुभयो । सोकेसमा आयोजना देखाएर लगानी सम्मेलनबाट लगानी भित्र्याउने घोषणा गरे पनि लगानी भने सो अनुपातमा भित्रिन नसकेको उहाँको भनाइ छ । 

“नेपालमा लगानी किन आइरहेको छैन, यसको कारण के हो यस विषयमा अध्ययन गर्न आवश्यक छ,” पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयो, “नेपालमा लगानी गर्ने नाफा कमाउनका लागि रहेकाले हाम्रो आवश्यकता र लगानीकर्ताको चाहना अनुसार लगानी ल्याउनु पर्छ ।”

“पुँजी प्रविधि भित्र्याएर साना र मझौला उद्योगमा लगानी बढाउन आवश्यक छ, आन्तरिक बजार उत्पादन गरी आन्तरिक बजार सुधार गर्न आवश्यक छ,” उहाँले भन्नुभयो, “छरपष्ट भएर आउने विदेशी लगानी एकीकृत गरी निर्यात गर्ने क्षेत्रमा लगानी भित्र्याउनु पर्छ ।”

सो अवसरमा अर्थविज्ञ डा. गोविन्द नेपालले राजनीति अस्थिरताका कारण मुलुकमा पर्याप्त विदेशी लगानी आउन नसकेको बताउनुभयो । प्रतिबद्धताको ३६ प्रतिशत मात्र लगानी भित्रिने गरेकाले किन प्रतिबद्धता अनुसार लगानी आउन सकेन भनेर अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो । नीतिगत, कानुनी प्रक्रियागत र संरचनागत सुधार हुन नसक्नु, औद्यौगिक पूर्वाधार तथा व्यापारका पूर्वाधार राम्रो नहुँदा ठुला लगानीकर्ताले लगानी गर्न आकर्षित नभएको उहाँको भनाइ छ । प्रतिबद्धता अनुसार न्यून लगानी आएकाले किन लगानी आएन भनेर कूटनीतिक तवरबाट लगानीकर्तालाई लगानी भित्र्याउन पहल गर्न आवश्यक रहेको उहाँको भनाइ छ । 

अन्तर्क्रिया कार्यक्रममा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शाास्त्र सङ्कायकी डिन प्रोफेसर डा. कुसुम शाक्यले क्षेत्रगत हिसाबमा प्राथमिकीकरण गरेर विदेशी लगानी भित्र्याउनुपर्ने बताउनुभयो । सरकारले लगानी सम्मेलनमै लगानीको प्रक्रियाका बारेमा स्पष्ट पार्नुपर्ने उहाँको भनाइ छ । प्रतिबद्धता र लगानीबिचमा ठुलो अन्तर रहेकाले  विदेशी लगानी प्रभावकारी रूपमा कार्यान्वयनमा नआएकाले त्यसमा अध्ययन गर्नुपर्ने उहाँको भनाइ छ । 

कार्यक्रममा अर्थशास्त्री डा. डिल्लीराज खनालले विदेशी लगानी निर्यात प्रवर्धन, पूर्वाधार विकास, रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । ऊर्जा व्यापार, औद्यौगिक, पूर्वाधार विकास, कृषि क्षेत्रको सूचना प्रविधिलगायतका क्षेत्रमा वैदेशिक लगानी परिचालन गर्न आवश्यक रहेको उहाँको भनाइ छ । नेपालमा विदेशी लगानी न्यून छ, जति लगानी आएको छ त्योभन्दा बढी बाहिर जाने गरेको उहाँको भनाइ छ । 

अर्थराजनीतिविज्ञ डा. हरि रोकाले बाह्य लगानी भित्र्याउन न्यूनतम सर्त राख्नुपर्ने बताउनुभयो । लगानी भित्र्याउँदा पोर्टफोलियो, संयुक्त लगानी र प्रत्यक्ष लगानी गर्ने भनेर छुट्याउनुपर्ने बताउनुभयो ।