• १२ साउन २०८१, शनिबार

डा.महावीर पुनको ८० हजार थान पुस्तक बिक्री

blog

बुटवलमा महावीरको पुस्तक किन्दै स्थानीय । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख २ गते ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनले अहिलेसम्म ८० हजार पुस्तक बिक्री गर्नुभएको छ । वीरगन्जको कृषि औजार कारखाना पुनः सञ्चालनका लागि आफ्नै आत्मकथा रहेको पुस्तक बेच्नका लागि पुन देशदौडाहामा लाग्नुभएको हो ।

९७ औं दिन रुपन्देही आइपुग्दा उहाँले ८० हजार पुस्तक बिक्री भइसकेको जानकारी दिनुभयो । उहाँ नयाँ वर्ष २०८१ सालको पहिलो दिन पनि पुस्तक बेच्नका लागि उहाँ व्यस्त हुनुहुन्थ्यो । पुनले शनिबार रुपन्देहीको मणिग्राम, ड्राइभरटोल, वनवाटिका र योगीकुटी चोकमा पुस्तक बिक्री वितरण गर्नुभएको हो । त्यस्तै आइतबार पनि उहाँले बुटवलको चौराहा, कालिकानगर, बसपार्क कालिकापथमा समेत पुस्तक बिक्री अभियान चलाइरहनुभएको छ ।

पश्चिम महाकालीबाट सुरु भएको यात्रामा करिब तीन लाख पुस्तक बेच्ने र अहिलेसम्म ८० हजार पुस्तक बिक्री भइसकेको उहाँको भनाइ छ ।

‘‘कारखाना सञ्चालनका लागि २५ करोड पुँजी चाहिने भएकाले १ प्रतिशत नेपालीले पुस्तक किनिदिए लक्ष्य पूरा हुन्छ, कृषि कारखाना सञ्चालनमा आए सय जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने र कृषकलाई फाइदा पुग्नेछ ।’’ उहाँले भन्नुभयो ।

कृषि औजार कारखाना मर्मत गर्न र सञ्चालन गर्न पुनले आफ्नो आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न देश दौडाहामा निस्किएका पुनले वैशाख २ गते बुटवल रुपन्देहीमा किताब बेच्ने कार्यक्रम छ भने रामनगर गुम्बा, सुक्खानगरमा, चौराहा चोक, बसपार्क, भाटभटेनी, कालिका मानवज्ञान स्कुल र ड्याडिज किचेन कालिकानगर चोकमा बिक्री बितरण गरिने उहाँको कार्यतालिका छ । ३०८ पेज लामो उक्त पुस्तकको मूल्य ७५० रुपियाँ राखिएको छ ।