• २३ असार २०८१, आइतबार

महिला मजदुरले खेतीपाती धान्दै

blog

जयकृष्ण यादव 

इनरुवा, बैशाख ४ गते । सुनसरीका अधिकांश श्रमिक पुरुषहरु बैदेशिक रोजगारमा गएकाले कृषि तथा खेतीपाती गर्न पुरुष मजदुरको अभाव भएको छ । वार्षिक सुनसरीबाट १६ हजार पुरुष बैदेशिक रोजगारमा जानेगरेकाले कृषि क्षेत्रमा पुरुष मजदुरको अभाव भएको कृषकहरुको भनाई छ । 

प्रत्येक गाउँटोलबाट रोजगारीका लागि पुरुषहरु विदेश गएकाले खेतीपातीका लागि कृषि मजदुर तथा श्रमिकको अभाव भएको भोक्रहा नरसिंह गाउँपालिका २ का अगुवा कृषक चन्दन मेहताले बताउनुभयो । गाउँमा पुरुषहरु विदेश गएकाले जसोतसो महिला मजदुरले खेतीलाई धान्दैआएको महेताको भनाई छ ।

गाउँमा राम्रो आम्दानी नहुने, रोजगारीको ग्यारेण्टी नभएको र सधै काम पनि नपाइने भएकाले बैदेशिक रोजगारमा बाध्य भएर पुरुषको आकर्षण बढेको स्थानीयको बुझाई छ । स्वदेशमा खेतीपाती र कृषिमा काम लाग्ने मजदुरको अभाव भएको भोक्राहा नरसिंह २ का किसान सुरेन्द्र मेहताले बताउनुभयो । पुरुषहरु विदेश गएकाले जेनतेन भएपनि गाउँका महिला मजदुरले खेतीलाई धानिरहेको उहाँको भनाई छ । 

जिल्लाको १२ स्थानीय तहको १२४ वटै वडामा बैदेशिक रोजगारले पुरुषलाई मोहित पारेकाले कृषि मजदुरको अभाव भएको अधिकारकर्मी सहजादी प्रविणले बताउनुभयो । पुरुष मजदुर कम भएको र महिलाले पनि ८ घण्टा काम गर्नुपर्ने भएकाले धेरै महिला काममा नआएको उहाँले बताउनुभयो । 

हाल गहुँ र मकै बाली भित्र्याउन सीमावर्ती गाउँपालिका बर्जु, कोशी, भोक्राहा नरसिंह, हरिनगर र देवानगञ्ज गाउँपालिकाका किसानलाई पूर्णरुपमा मजदुर अभाव भएको देवानगञ्जका डुमरलाल मेहताले बताउनुभयो ।

सुनसरीमा १७ हजार हेक्टर क्षेत्रफलमा गहुँ बाली, ८ हजार हेक्टर क्षेत्रफलमा मकैं र ५४ हजार हेक्टर क्षेत्रफलमा धान तथा १२ हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती लगाइदआएको छ । भोक्राहा नरसिंह गाउँपालिका किसानलाई पुरुष मजदुर अभाव समस्याले सताएपछि केही महिला मजदुरको सहयोगमा मकैं खेती गरिएको स्थानीय कृषक सुरेश मेहताले बताउनुभयो ।