• ११ मंसिर २०८१, मङ्गलबार

तराईमा सिरुवा पर्व, १५ दिन मनाइने

blog

सिरुवा पर्व मनाइँदै ।

हरिप्रसाद कोइराला  

उर्लाबारी, वैशाख २ गते । कुनै समय टाढा–टाढाका मानिस खसी, बोका, बाख्रा कुखुरा, दलहन र तेलहन  किन्न चैतको मसान्त छेउछाउको समय पर्खन्थे । मुख्य कारण तराईका भूमिपुत्रहरू राजवंशी र ताजपुरियाको सबैभन्दा ठूलो सिरुवा पर्व भएर हो । 

१५ दिनसम्म मनाइने सिरुवा उसबेला ऋण गरेर भए पनि मनाउनुपर्थ्याे । ऋण गर्नुभन्दा आफूसँग भएको अन्न र पशु चौपाया बेचेर मनाउँदा ऋणमा नपरिने उनीहरूको धारणा छ । तर,टाठा ग्राहकहरूले तराईका भूमिपुत्रलाई पर्व मनाउन पैसा चाहिएको बुझ्थे । 

माघ–फागुनमा आवश्यक पर्ने बोका, बाख्रा कुखुरा, दलहन र तेलहन किन्न उनीहरू चैतको मसान्त पर्खिन्थे । मेला भर्न चाहिने खर्च नभएपछि सस्तैमा पशुचौपाया र अनाज बिक्री गर्न उनीहरू बाध्य थिए । 

सदियौंदेखि चलेको यही रितले तराईका भूमिपतिहरू धेरैजसो भूमिहीन बनेका छन् । कहिले जग्गा बेचेर १५ दिन मेला भर्ने त, कहिले अन्न अनाज बेचेर मेला भर्ने गर्थे । यसवर्ष पनि २०८१ को पहिलो दिन मोरङको सुनवर्षी पोखरीबाट सिरुवा पर्व सुरु भयो । तर, अहिले राजवंशी र ताजपुरियाहरू ऋण गरेरभन्दा खर्च जोहो गरेर पर्व मनाउन थालेका छन् । 

कोशी प्रदेशको झापा, मोरङ र सुनसरीका दक्षिणी गाउँमा मनाइने सिरुवा पर्व अचेल सांस्कृतिक रुपमा मनाउन थालिएको छ । विक्रम संवतको नयाँ वर्षसँगै मोरङ र झापामा बस्ने अल्पसङ्ख्यक राजवंशी र ताजपुरियाको सिरुवा (पावनी) सुरु हुनेगर्छ । भूमिपति राजवंशी र ताजपुरियाहरू मेला भर्न बर्सेनी घरखेत बेचेकै कारण अहिले भूमिहीन भएका छन् । 

परिवारबिच भेटघाट गर्ने, दैनिक भोजभतेर खाने र रमाइलो गर्ने चलनले उनीहरूलाई भूमिहीन बनाएको राजवंशी समुदायका अगवाहरूको भनाइ छ । परम्परागत रुपमा तीन दिनसम्म मनाइने यो पर्व अचेल झापा, मोरङ र सुनसरीमा वैशाख १५ सम्म मनाउने गरिन्छ । 

पछिल्लो समय राजवंशी र ताजपुरिया मात्र होइन । तराईमा बसोवास गर्ने गनगाई, माझी, चौधरी, सन्थाल, सरदार, ऋषिदेवलगायतका तराईवासी समुदायले सिरुवा मनाउन थालेका छन् । त्यति मात्र होइन, पहाडे समूदायले पनि सिरुवामा साथ दिन थालेका छन् । 

हरेक वर्षको वैशाख १ गतेदेखि सुरु हुने सिरुवा पर्व राजवंशी र ताजपुरियाको मौलिक पर्व हो । पर्वको पहिलो दिन पानी सिरुवा मनाइने गरिन्छ । कतै–कतै पहिलो दिन बिहान जल सिरुवा मनाएर दिउँसो कादाे अर्थात् हिलो सिरुवा मनाइने गरिन्छ ।  सिरुवासँंगै आदिवासीका ग्रामथानमा रहेका ग्रामदेवताहरुको विशेष पूजा गर्ने र वर्षेैभरि आफनो गाउँमा कुनै किसिमको रोगव्याध, हैजा महामारी वा दैवी विपत्ति नआवस् भन्ने कामना गर्ने गरिएको राजवंशी समाज विकास समिति मोरङका अध्यक्ष मनोज राजवंशीले बताउनुभयो । 

अध्यक्ष मनोजले भन्नुभयो, “आदिवासी समुदायका राजवंशी जातिले आफुलाई भूमिपुत्रका रुपमा चित्रण गर्दै काद (हिलो) सिरुवा मनाउने गर्छन् । माटोको शरीर माटोमै विलय हुने र माटोले नै जीवन धानेको भन्दै माटोलाई हिलो बनाएर एकापसमा छ्यापछ्याप गरी ‘काद’ सिरुवा मनाउने गरिन्छ ।

मोरङको रतुवामाई –५ सुनवर्सी पोखरी र डाइनियाँबाट बैशाख १ गते औपचारिक रुपमा सुरु हुने मेला जिल्लाका दक्षिणी गाउँहरूमा वैशाख १५ गतेसम्म हरेक दिन लाग्ने गर्छ । अध्यक्ष मनोज राजवंशीले भन्नुभयो, “पहिले १५ दिनसम्म मनाउने मेलाले सानो आर्थिक भएका राजवंशीलाई टाट पल्टाउने गर्थ्याे ।