• १६ असार २०८१, आइतबार

बस्न सकेन मन्त्रीपरिषद् बैठक

blog

राममणि दाहाल 

हेटौँडा, वैशाख २ गते । गत फागुनको दोस्रो साता मन्त्रीपरिषद् बैठक बसेपछि बागमती प्रदेशको मन्त्रीपरिषद् अहिलेसम्म बस्न सकेको छैन । गत फागुन ८ गते प्रदेश सरकारको मन्त्रीपरिषद् बसेको थियो । विगतमा हरेक महिनामा कम्तीमा एक पटक र आवश्यकता अनुसार मन्त्रीपरिषद् बैठक बस्दै आएकोमा पछिल्लो समय बैठक बस्न नसकेको करिब दुई महिना पुग्न लागेको छ ।

चालु आर्थिक वर्षमा गत भदौ र मङ्सिरमा तीन/तीन पटक, असोज, पुस र माघमा दुई/दुई पटक तथा कात्तिक र फागुनमा एक/एक पटक बसेको थियो । गत फागुन ८ गते बसेको मन्त्रीपरिषद् बैठकले बागमती प्रदेशको प्रदेश सभाको अधिवेशन फागुन १५ गतेका लागि आह्वान गर्ने निर्णय गरेपछि त्यसयता बैठक नै नबसेको हो । 

केन्द्रमा सत्ता समीकरण परिवर्तनको प्रभाव परेको यस प्रदेशमा समीकरण परिवर्तनको जोडघटाउ, विश्वासको मत, मन्त्रीपरिषद् विस्तारमा प्रदेश सरकार रुमलिएको छ । गत फागुन २३ गते नेपाली कांग्रेसका छ जना मन्त्रीले संयुक्त राजीनामासँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो । 

गत चैत १९ गते प्रदेश सभाबाट मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत प्राप्त भएर चैत २० गते प्रदेश सरकारले पूर्णता पाएको दुई साता बित्न लाग्दासमेत मन्त्रीपरिषद् बैठक एक पटक पनि बस्न सकेको छैन । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित १२ वटा मन्त्रालय रहेको यस प्रदेशका १३ सदस्यीय मन्त्री परिषद् बनेपछि पनि मन्त्रीपरिषद् बैठक बोलाउन सरकारलाई सकस भएको छ । विश्वासको मत लिने समयमा नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य रमा आलेमगरलाई बिनाविभागीय मन्त्री बनाएपछि मात्र मुख्यमन्त्री जम्कट्ेललाई प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत जुटेको थियो । पछिल्लो समय भागबन्डा मिलाउन नसकेकै कारण पनि मन्त्रीपरिषद् बैठक नै बोलाउन समस्या देखिएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ प्रदेशका प्रमुख सचिव नभएकाले पनि मन्त्रीपरिषद् बैठक नबसेको बताउनुहुन्छ । उहाँले मन्त्रीपरिषद् बैठक कहिले बस्ने भन्ने टुङ्गो अहिले लागिनसकेको बताउँदै केही दिनभित्रमा नै प्रदेशको मन्त्रीपरिषद् बैठक बस्ने जानकारी दिनुभयो । 

प्रदेशका प्रमुख सचिव रहनुभएका घनश्याम उपाध्यायको सङ्घीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवासँगै गत चैत २० गते बिदाइपछि प्रदेश प्रमुख सचिव पद रिक्त छ ।

प्रदेश प्रमुख सचिव नभए पनि प्रदेशको सचिवको जिम्मेवारीमा रहेकामध्ये कसैलाई निमित्त प्रमुख सचिवको जिम्मेवारी दिएर प्रदेश सरकारको मन्त्रीपरिषद् बैठक बस्न सक्ने भए पनि अझै बस्न सकेको छैन । बैठक बस्दा बिनाविभागीय मन्त्री नियुक्त गरिएका मन्त्री आलेमगरलाई जिम्मेवारी तोक्नुपर्ने भएकाले पनि मन्त्रीपरिषद् बैठक बस्न ढिलाइ हुँदै आएको बुझिएको छ ।

उता मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव निश्चलराज पाण्डेले प्रमुख सचिव नभएकै कारण प्राविधिक रूपमा मन्त्रीपरिषद् बैठक बस्न नसक्ने अवस्था भने नहुने भन्दै सचिवहरूमध्ये कसैलाई जिम्मेवारी तोकेर बैठक बस्न सक्ने बताउनुभयो ।