• २८ वैशाख २०८१, शुक्रबार

सहिद स्मारक आजबाट राति १० बजेसम्म खुल्ने

blog

हेटौँडा उपमहानगरपालिका ११ स्थित स्मारक परिसरमा नयाँ वर्ष २०८१ को पहिलो दिन लागेको भिड । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, वैशाख १ गते ।
 नयाँ वर्ष २०८१ को शुभारम्भसँगै हेटौँडा उपमहानगरपालिका ११ स्थित सहिद स्मारक आज (शनिबार)बाट राति १० बजेसम्म खुला गरिनेभएको छ ।

नयाँ वर्षलगायतका अवसरमा यस क्षेत्रको प्रमुख पर्यटकीय बनेको सहिद स्मारकमा नयाँ बत्ती जडान र थप सौन्दर्यीकरण गरेसँगै स्मारक विकास समितिले राति १० बजेसम्म स्मारक परिसर खुला गर्ने निर्णय गरेको हो ।

सामान्यतया बिदाका दिन र पर्यटकको चाप भएको दिनमा राति ६–७ बजेसम्म खुला रहने गरेको सहिद स्मारक अब नयाँ वर्षबाट बिहान ६ बजेदेखि राति १० बजेसम्म खुला राख्ने गरी तय गरिएको स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

स्मारकमा सजावटपछि मनमोहक देखिएको छ उहाँले भन्नुभयो, ‘‘अब नयाँ वर्षको दिनबाट नियमित रूपमा बिहान ६ बजे राति १० बजेसम्म खुला रहने गरी व्यवस्थापन गरेका छौँ ।’’

उहाँले स्मारकमा थप संरचनाहरू निर्माणसँगै बत्तीहरू जडानपछि आकर्षण देखिएको बताउँदै पर्यटकहरूको मागलाई समेत ध्यानमा राखेर समय बढाइएको बताउनुभयो । आज नयाँ वर्षका दिन पनि स्मारकमा पर्यटकको विशेष भिड लागेको छ ।

नयाँ वर्षको शुभकामना आदान प्रदान गर्दै रमाइलो गर्नेहरूको सहिद स्मारकमा ठुलो सङ्ख्यामा जमघटभएको न्यौपानेले बताउनुभयो ।