• १९ वैशाख २०८१, बुधबार

प्रवासमा नेपाल पढाउने टेक्सास पाठशाला

blog

काठमाडौं, वैशाख १ गते । अमेरिकाको टेक्सास स्टेटमा नेपाली समाज टेक्सासले ग्लोबल नेपाली भाषा पाठशाला सञ्चालन गरेर प्रवासमा रहेका नेपाली युवालाई नेपाली भाषा संस्कृतिको ज्ञान प्रदान गरी नेपाल फर्काउने अभियान सञ्चालन गरेको छ । 

सो अभियानले अमेरिकामै जन्मेर शिक्षा आर्जन गरिरहेका नेपालीमूलका युवालाई नेपाली भाषा, साहित्य, संस्कृति तथा संस्कारबारे ज्ञान दिने काम गर्दैआएको छ । करिब सन् २००७ बाट जारी रहेको सो अभियानबाट हजारौँ नेपाली युवा युवतीहरू लाभान्वित भइरहेको पाठशालाका प्रिन्सिपल डा. भोजबहादुर बलायरले बताउनुभयो । युवाहरू एउटा परिवेशमा हुर्के बढेकाले उनीहरूलाई उत्प्रेरित गर्ने काम चुनौती भए पनि अभियानले सकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ । 

सो अभियानलाई भोलिका दिनमा स्थानीय स्कुल डिष्ट्रिकले समेत सहयोग गर्न सक्ने भन्नुहुँदै डा. बलायरले भन्नुभयो, “नेपाली बिषयलाई बिधालय तहमा ऐच्छिक बिषयको रुपमा राख्न स्थानीय स्कुल डिष्ट्रिकले समेत अनुमति प्रदान गर्न सक्ने अनुमान छ । नेपाल सरकारले पनि स्पष्ट नीति बनाइदिएको भए अभियानलाई थप प्रभावकारी बनाउन सकिन्थ्यो ।”


सो पाठशालाबाट हरेक समेस्टेरमा करिब ४ सय बालबालिकाले भाषा, संस्कृतिको ज्ञान लिइरहेको उहाँले बताउनुभयो । सेमेस्टरको न्यूनतम ५० डलर शुल्क तिरेर बालबालिकालाई पठनपाठन गराइने गरिएको उहाँको भनाइ छ । नेपालीहरू विदेशमा रहँदा एउटा मात्र पहिचान 'नेपाली' भएको तर नेपाली हुनुको अर्को पहिचान भाषा, संस्कृतिको ज्ञान भएको डा. बलायरले प्रष्ट पार्नुभयो । 

आफ्नो भाषा, संस्कृति र संस्कारको ज्ञान नभएमा नेपालीपन नै गुम्ने भएकाले प्रवासमा बस्ने बालबालिकालाई त्यसबारे ज्ञान दिने अभियान सुरु गरिएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “भाषाको ज्ञान भएन भने भोलि युवा युवतीहरू नेपाल फर्कँदैनन्, उनीहरू विदेशमा ज्ञान लिएर नेपाल फर्किउन् र यहाँको विकासमा योगदान गरुन् भन्ने हाम्रो ध्येय हो । अभियानबाट अभिभावक तथा बालबालिका खुसी भएका छन् ।”

अमेरिकामा करिब २ लाख ५० हजार नेपाली स्थायी रुपमा बसोबास गरिरहेको बताउँदै डा. बलायरले यो पाठशाला अभियानले अन्य देशमा बसोबास गर्ने नेपालीका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल सरकारले स्पष्ट नीति बनाएर यो अभियान सञ्चालन गर्न सकेमा प्रवासमा बस्ने युवायुवतीलाई नेपाल फर्काउने अभियानले सार्थकता पाउने उहाँको भनाइ छ । 

पाठशालामा नेपालका आमाबुवाको कथा सुनाउने, यहाँको भाषा संस्कृतिको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गर्ने, नेपाली गीत सङ्गीत तथा नृत्यबारे अभ्यास गराउने काम गरिएको डा. बलायरले बताउनुभयो ।

नेपाली भाषा, साहित्य तथा संस्कृतिको ज्ञान बढाउने गरी स्थानीय पाठ्यक्रम तयार गरिएको उहाँले जानकारी दिनुभयो । नेपाल सरकारले नीति बनाइदिएमा बाँकी व्यवस्थापनको काम पाठशालाले गर्न तयार रहेको डा. बलायरले बताउनुभयो ।

पाठशाला सञ्चालक डा. बलायरसँग गोरखापत्र अनलाइनका लागि उपसम्पादक लक्की चौधरीले लिनुभएको भिडियो अन्तरवार्ता ।

भिडियोमाः मनोजरत्न शाही तथा केशब गुरुङ

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।