• २० वैशाख २०८१, बिहिबार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषि उत्पादन बढ्यो

blog

खजुरामा गरिएको तरकारी खेती अनुगमन गर्दै। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख १ गते।  बाँके जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी बन्दै गएको छ। सो परियोजना  सञ्चालनमा आएपछि जिल्लाको खजुरा गाउँपालिकामा कृषि बाली उत्पादन बढ्नुका साथै कृषकको जीवन स्तरमा सुधार आएको छ। 

उक्त कार्यक्रमबाट तरकारी खेती गरेका किसान क्रमशः आत्मनिर्भर बन्न थालेका छन्।  सो परियोजनामार्फत किसान कृषि समूह बनाएर तरकारी पकेट क्षेत्रमा आबद्ध भएका छन्।  उनीहरूले उत्पादन गरेको तरकारी तथा फलफूलको माग बाँके जिल्लामै उच्च रहेको पाइएको छ।

बाँकेको खजुरा गाउँपालिका–३ बी गाउँका कृषक राजकुमार गुरुङले आफूहरूले गरेको तरकारी खेतीबाट उत्पादित तरकारीलाई बजारको कुनै समस्या नरहेको बताउनुभएको हो।

उहाँले तरकारी नेपालगन्जसम्म पुर्‍याउन केही समस्या भएपनि बजारको कुनै चिन्ता नरहेको बताउनुभयो। 

पछिल्लो समयमा बाँकेमा राम्रो तरकारी उत्पादन भइरहे पनि नेपालगन्जका ठुला तरकारी व्यापारीले भारतबाट तरकारी ल्याउँदा स्थानीय कृषक मर्कामा परेको अधिकांश किसानको गुनासो छ।  

खजुराकै अर्का किसान रमेश थापाले ठुला व्यापारीले भारतबाट ठुलो मात्रामा तरकारी ल्याउँदा स्थानीय  तरकारीले भाउ नपाउने र थोक व्यापारीले लिन नमान्दा किसानले सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो। 

तरकारी खेतीमा लागेका विभिन्न कृषि समूहलाई अन्य सङ्घसंस्थाले पनि प्राविधिक सहयोग गर्दै आएका छन्।  पालिकाका विभिन्न वडामा तरकारी पकेट क्षेत्र सञ्चालन गरी अनुदान दिइएको र अझै तीन वर्षसम्म सहयोग गर्ने खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले बताउनुभयो। 

उहाँले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्थानीय किसानको जीवनस्तर उकास्न ठुलो सहयोग गरिरहेको बताउनुभयो। 

भारतीय तरकारी आयात रोक्न सके खजुरा क्षेत्रले नेपालगन्जलाई आवश्यक तरकारीको माग पूरा गर्न सक्ने जिकिर अध्यक्ष विकले गर्नुभयो।  

कृषि क्षेत्रको विकासका लागि खजुरा गाउँपालिकाले विशेष रणनीतिअनुसार काम गर्दे आएको छ।  पालिकाका अध्यक्ष विकले किसानलाई कृषि क्षेत्रमा आकर्षण गर्ने कार्यक्रम र योजनालाई प्राथमिकता दिएको जानकारी दिनुभयो।  उहाँका अनुसार क्रमशः खजुरा क्षेत्र तरकारी र कृषि उत्पादन पकेट क्षेत्रका रूपमा परिचित हुँदै गएको छ।