• १५ असार २०८२, आइतबार

महोत्सवमा अतिथिलाई मायाको चिनो डोको र कुचो

blog

महोत्सवमा अतिथिलाई मायाको चिनो प्रदान गरिदै। तस्बिर : इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), वैशाख १ गते। मेला, सभा तथा समारोहको सुरुवातमा अतिथिलाई खादा, माला, टोपी र ब्याचले स्वागत गर्ने र अन्तिममा चिनो प्रदान गरी बिदाइ गर्ने प्रचलन हाम्रो समाजमा नौलो होइन।  तर जिल्लाको निस्दी गाउँपालिकामा जारी दोस्रो महोत्सवमा फरक शैली प्रयोग भएको छ ।

गत सोमबारदेखि जारी दोस्रो निस्दी कृषि,पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सवमा आमन्त्रित अतिथिलाई स्थानीयले तयार गरेको डोको र अम्रिसोको कुचो मायाको चिनो स्वरूप प्रदान गरिएको हो।  

निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा भइरहेको महोत्सवमा पाहुनाको स्वागत खादाले नभै दालचिनीको पातको माला मार्फत भइरहेको छ।  स्थानीय उत्पादनको बजारीकरण, पर्यटन तथा संस्कृतिको प्रवर्द्धन र खेलकुदको विकासका लागि आगामी वैशाख ३ गतेसम्म हुने मेलामा अतिथि स्वागत तथा सम्मान गर्न स्थानीय उत्पादन कै प्रयोग गरिएको मेला मूल आयोजक समितिका संयोजक उमेशकुमार गाहाले जानकारी दिनुभयो।  

उहाँले भन्नुभयो, ‘स्थानीय उत्पादनको प्रवर्द्धनका लागि हुने मेलामा खादा र मायाको चिनो खरिद गर्दा ठुलो खर्च बाहिर जाने गर्दथ्यो।  स्थानीयलाई पनि राहत हुने र पालिकामा उत्पादित वस्तुको बारेमा अतिथिलाई सदा स्मरण रहने भएकाले यस पटक यहाँ उत्पादन भएको अम्रिसोको कुचो र निगालोको डोको उपहार प्रदान गरिएको हो। ’ वडा नम्बर ३ मा उत्पादन भएको डोको तथा अम्रिसोको कुचो चिनोका रुपमा र वडा नम्बर ६ को दालचिनीको पात मालाको रुपमा प्रदान गरिएको निस्दी खेलकुद विकास समितिका सहसचिव होम राई मगरले जानकारी दिनुभयो।  निस्दीका स्थानीयले प्रत्येक वर्ष करोडौँको अम्रिसो निर्यात गर्दै आएका छन्।  त्यस्तै बाँस तथा निगालो बाट बनेका सामग्री र वनमा रहेको दालचिनी बाट पनि राम्रो आम्दानी गर्दै आएका छन्।  

निस्दी–४, मित्यालको झ्याल्टुङ्गमा जारी महोत्सवको आकर्षणका रुपमा परम्परागत कुँडले घर, स्थानीय कृषि उपज तथा हस्तकलाका सामाग्रीको बिक्री तथा प्रदर्शनी, मौलिक खानाका परिकार, सांस्कृतिक झाँकी प्रदर्शन, खुल्ला आमन्त्रित अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल, राष्ट्रिय कलाकारको प्रस्तुति, निस्दी डान्स आइडल, बालउद्यान र फोटो प्रदर्शनी रहेको छ।