• ६ जेठ २०८१, आइतबार

सुदूरपश्चिममा सिस्नु लगाएर ‘बिसु’ पर्व मनाइँदै

blog

केशबचन्द्र महरा

दिपायल, वैशाख १ गते । सुदूरपश्चिम प्रदेशमा आज नयाँ वर्षसँगै बिसु पर्व मनाइँदै छ । डोटी लगायत सुदूरपश्चिमका जिल्लाहरूमा नयाँ वर्षको पहिलो दिनलाई हर्षोल्लासका साथ बिसु पर्वका रूपमा मनाउने गरिन्छ ।

यो पर्व मनाउनका लागि रोजगारीको सिलसिलामा घर बाहिर रहेका तथा भारत लगायतका अन्य मुलुकमा रहेकाहरू गाउँ फर्किने गर्दछन् । बिसु पर्व (नयाँ वर्ष) को पहिलो दिन सरसफाइ गर्ने, नुहाउने, नयाँ लुगा लगाउने, नयाँ कामको थालनी गर्ने र मिठा मिठा परिकार बनाएर खाने प्रचलन रहेको छ ।

बिहानै नजिकको पँधेरो, खोलामा गई नुहाएर सिस्नुले चिलाउने प्रचलन रहेको छ । विशेष गरी यस पर्वका अवसरमा देवर – भाउजू, नन्द – भाउजू र साली – भिनाजुबिच एक आपसमा सिस्नु हानाहान गर्ने चलन रहेको छ । हाँसो ठट्टा गर्न मिल्ने नाताको रूपमा हेरिने यी नाताका व्यक्तिहरूले एकले अर्कोलाई सिस्नुको मुठोले हातखुट्टा झमझमाउने गरी हान्ने गरिन्छ ।

धेरैजस्तो व्यक्तिहरूले बिहान नुहाई सकेपछि आफैले आफैलाई सिस्नुले चिलाउने प्रचलन रहेको छ । वैशाख १ गरेका दिन सिस्नुले चिलाउने प्रचलन अनिवार्य जस्तै छ ।

सिस्नुले चिलाउँदा शरीरमा भएको विषाक्त पदार्थ नष्ट भएर जाने र रोग व्याधले नछुने जनविश्वास रहेको साहित्यकार भक्तबहादुर बलायर बताउनु हुन्छ । उहाँका अनुसार सिस्नुले चिलाउँदा छालाजन्य रोगहरूको सङ्क्रमण नहुने र एकले अर्कालाई गरेको  पाप नष्ट हुने विश्वास रहेको छ । वर्षभरि गरेका पापहरूको सजाय स्वरूप एक(अर्कालाई सिस्नु पानी छ्याप्ने गरिएको जानकारहरू बताउँछन् । 

बिसु पर्वका अवसरमा सुदूरपश्चिमका डोटी, दार्चुला, अछाम, डडेलधुरा, बझाङ, बाजुरा, बैतडी, कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका पहाडी समुदायले सिस्नु लगाउने गरेको पाइन्छ । विशाखा नक्षत्र भएकोले वैशाखको पहिलो दिनलाई विशु भन्ने गरिएको पण्डित केशवराज फुलाराले बताउनुभयो । नयाँ वर्षको दिनलाई अपुच्छे दिनू मानेर साइत नहेराएरै नयाँ कामको शुभारम्भ गर्न सकिने उहाँले बताउनुभयो ।

यस पर्वका अवसरमा साना बालबालिकाहरूको कान छेड्ने, कपाल काट्ने, अन्न प्राशन गराउने, विवाह, व्रतबन्ध गर्ने नयाँ घरको जग राख्ने, नयाँ व्यापार व्यवसायको सुरुवात गर्ने लगायत जीवनका अरू महत्त्वपूर्ण अनुष्ठान पनि गरिन्छ।

बिसु पर्व नजिकिँदै गर्दा चैत्र महिनाको अन्त्य तिर माटोको घर लिपपोत गर्ने, कमेरो लगाउने र पक्की घरहरूमा  रङ्ग रोगन गर्ने कार्य पनि गरिन्छ। यस पर्वका अवसरमा सुदूरपश्चिमका कतिपय क्षेत्रमा जात्रा, मेला लाग्ने गर्दछ भने शक्ति पीठहरूमा पूजाआजा गरिन्छ ।

पुरानो किम्बदन्ती अनुसार हिन्दु सम्राट् विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयाली स्वरूप पौराणिककादेखि नै बिसु पर्व मनाउने गरिएको विश्वास छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको जनविश्वासमा पनि यो पर्व मनाइने गरेको पाइन्छ ।

लट्ठी पुज्ने प्रचलन 

बिसु पर्वकै अवसरमा कतिपय ठाउँमा लट्ठी पुज्ने प्रचलन पनि रहेको छ । यस अवसरमा लट्ठीमा विभिन्न आकारका रेखा कोरी रङ रोगन गर्ने गरिन्छ । सिंगारपटार गरेको लट्ठीलाई गाउँभरिका मानिसहरू जम्मा भएर सामूहिक रूपमा एक निश्चित ठाउँमा पुज्ने गरिन्छ ।

पूजामा सहभागी भएका मध्य एक जनालाई बाघ जस्तै सिँगारिन्छ भने एक जनालाई स्याल जस्तै सिँगारिन्छ । यसरी बाघ र स्यालको भूमिकामा राखिएका व्यक्तिहरूले दुरुस्तै अभिनय गर्ने गरेको शिखर नगरपालिका  ७ का टिकाराम भण्डारीले बताउनु भयो ।

बाघ र स्यालले बस्तीमा आतङ्क मच्चाएको, मानिसहरूलाई झम्टिएको अभिनय गर्छन् भने अन्य व्यक्तिहरूले लखेट्ने गर्दछन् । यसरी सामूहिक रूपमा लट्ठीको पूजा गरेर जङ्गली जनावरको अभिनय गर्नाले खेतबारी, चौपायालाई जङ्गली जनावरको पीडा नहुने भण्डारीले बताउनु भयो ।

लठ्ठी पूजा गाउँभरिका बालबालिकाहरूलाई जम्मा गरेर बाघ स्याल लखेट्न लगाउने अभ्यास गराइन्छ । जुन अभ्यासले बालबालिकालाई जङ्गली जनावरसँग लड्ने र लखेट्ने कला सिकाउँछ,भण्डारीले भन्नु भयो, बालबालिकाहरूलाई यो अभ्यासले निडर बनाउनुका साथै युद्ध कला पनि सिकाउँछ