• १२ साउन २०८१, शनिबार

राष्ट्रिय आकाङ्क्षालाई साकार बनाउने दिशातर्फ अग्रसर बनौँ : पूर्व राष्ट्रपति भण्डारी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई साकार बनाउने दिशातर्फ अग्रसर हुन सकौँ भन्नुहुँदै नयाँ वर्ष २०८१ को शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले सो कामना गर्नुभएको हो । 

२०८० सालमा नेपालीले केही दुःखद घटनाको सामना गर्नुपरेको स्मरण गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले यो वर्षले समतामूलक, न्यायपूर्ण र समावेशी समाज निर्माणमा प्रेरणा प्रदान गरोस् भनेर शुभकामना व्यक्त गर्नुभएको छ ।

गत वर्ष भूकम्प, राजनीतिक अस्थिरता, बेरोजगारी तथा अन्य समस्याबाट मुलुकलाई गुज्रनुपरेकाले सुखद अनुभूति हुन नसकेको चर्चा गर्नुहुँदै उहाँले भन्नुभएको छ, “अबको यात्रामा विविध जातजाति, भाषाभाषी र संस्कृति अङ्गालेका नेपालीहरूबिच आपसी सदभाव, सहिष्णुता र एकताले हामीलाई एकसुत्रमा बाँध्न सकोस्, त्यसकालागि प्रयास गरौँ ।”

२०८१ साल हामी सबैका लागि आशीर्वाद, सफलता र अवसरले भरिपूर्ण होस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।