• १२ साउन २०८१, शनिबार

पाालिकामा दमकल नहुँदा आगलागी नियन्त्रणमा समस्या, क्षति बढ्दै

blog

नेपालगञ्जबाट दमकल पुग्दासम्म खरानी भएको गाउँ । तस्विर - सिराज खान ।


सिराज खान 

नेपालगञ्ज, वैशाख ४ गते । बाँकेको पूर्वी क्षेत्रमा पर्ने नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा गर्मीयाममा वर्सेनी आगलागी हुने गरेको छ । ती दुवै पालिका नेपालगञ्ज र कोहलपुरबाट समेत निकै टाढा रहेकोले यहाँबाट दमकल गएर आगो निभाउँदा निभाउँदै गाउँ नै सखाप भैसकेको हुन्छ । 

जनताको दवाब र मागका कारण नरैनापुर गाउँपालिकाले भने पालिकामै दमकल किनेर राखेको छ । पालिकामा दमकल राखेपछि आगो नियन्त्रणमा निकै सहज भएको गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो । 

उहाँले भन्नुभयो–‘‘यसअघि दमकल नहुँदा नेपालगञ्ज र कोहलपुरबाट आउने दमकलको मुख ताकेर बस्दा बस्तीका बस्ती सखाप भैसकेका हुन्थे । तर अहिले सहज भएको छ । ’’

नरैनापुर जस्तै राप्तीसोनारीका पनि धेरै गाउँ बस्तीमा गर्मी र हावाहुरीको मौसममा आगलागी हुने गरेको छ । तर, सो पालिकाले एक कार्यकाल पूरा गरे पनि दमकल भने खरिद गर्न सकेन । जस्का कारणले आगलागीबाट हुने क्षति रोक्न समस्या भएको स्थानीयले बताएका छन् । 

पालिकाले अन्य धेरै योजनामा रकम खर्च गरे पनि आवश्यक पर्ने एउटा दमकल खरिद गर्न नसक्दा आगलागी नियन्त्रणमा समस्या भएको फत्तेपुरका जनक थारुले गुनासो गर्नुभयो । 

उहाँले पालिकाभित्र कतै पनि आगलागी हुँदा कोहलपुर र नेपालगञ्जबाट दमकल पर्खिनुपर्ने बाध्यताले आँखै अगाडि सबै जलेर खरानी हुने गरेको बताउनुभयो । 

सोही प्रकारको घटना गएको शुक्रबार पनि सो पालिकामा भयो । राप्तीसोनारी गाउँपालिका २ टिकलीपुर गाउँमा शुक्रवार अपरान्ह आगलागी हुँदा ११ घर र ४ गोठ जलेर खरानी भए । नेपालगञ्ज र कोहलपुरबाट दमकल पुग्दासम्म नयाँ बस्ती खरानीमा परिणत भैसकेको थियो । 

स्थानीय सीताराम जैसीको घरबाट सुरु भएको आगोले ११ घर र ४ गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐन बहादुर मल्लले हावाहुरीको मौसम भएकोले आगो सल्किएको बताउनुभयो । उहाँले गाउँपालिकामा दमकल नहुँदा आगो नियन्त्रणमा समस्या आएको बताउनुभयो । 

ढकेरी प्रहरी चौकीका इन्चार्ज टेक बहादुर केसीका अनुसार राप्तीसोनारीमा दमकल नहुँदा आगलागी नियन्त्रणका लागि कोहलपुर र नेपालगञ्जबाट दमकल झिकाइएको थियो । दमकलहरु घटनास्थल पुग्दासम्म ११ घर र ४ वटा घर आगोले खरानी भैसकेको केसीले बताउनुभयो । 

आगलागी पीडितलाई घर बनाउन प्रति परिवार डेढ लाख रुपियाँका दरले राप्तीसोनारी गाउँपालिकाले राहात उपलब्ध गराएको छ । 

त्यसका साथसाथै पालिकाले पीडितको बसोबासको व्यवस्था मिलाउनुका साथै खाद्य र गैरखाद्य सामग्री पनि वितरण गरेको पालिकाका अध्यक्ष लाहुराम थारुले बताउनुभयो ।