• १२ साउन २०८१, शनिबार

अध्यक्ष बस्नेत हिमडमरु उपाधिले सम्मानित

blog

गोरखापत्र अनलाइन

काठमाडौं, चैत ३० गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाल र पर्यावरण जोगाउन सके मात्र पृथ्वी जोगिने भएकाले पत्रकारिता त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।  

जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ घट्दैगएको र त्यसले समग्र पर्या पर्यटनमा ठूलो क्षति पुग्दै गएकोतर्फ सम्बन्धित निकाय गम्भीर हुनुपर्ने उहाँले सुझाव दिनुभयो । साहित्यिक पत्रकार संघले बिहीवार बस्नेतलाई हिमडमरुको उपाधि सहित सम्मान गरेको थियो ।

हिमाली क्षेत्रमा लामो समयदेखि पदयात्रा गर्दै हिमाल, पर्यावरण जोगाउन र जलवायु परिवर्तनको असरबारे पत्रकारिता क्षेत्रबाट विभिन्न अध्ययन गरेको भन्दै संघले बस्नेतलाई सम्मान गरेको हो । 

बरिष्ठ साहित्यकार रोचक घिमिरे, बरिष्ठ कलाकार मदनदाश श्रेष्ठ, सगरमाथा आरोही तेम्बाछिरी शेर्पासहितले अध्यक्ष बस्नेतलाई दोसल्ला, माला र प्रमाणपत्रसहित सम्मान गर्नुभयो ।  

त्यसक्रममा अध्यक्ष बस्नेतले जलवायु, पर्यटन र पर्यावरण जोगाउने कुरा पृथ्वी बचाउने कुरा भएको भन्दै पृथ्वी बच्यो भने मात्र हिमाल बाँच्ने र हामी बाच्ने उल्लेख गर्नुभयो । ‘हिमाल बाँचे मात्र, जल रहन्छ, पर्या पर्यटन क्षेत्र रहन्छ हिमाल हेर्न विदेशी आउँछन् । त्यसैले हामी हिमाल बचाउनतिर लागौं’

बस्नेतले समृद्धि सडक बनाउनु र भवन बनाउनु मात्रै होइन भन्दै देशको सम्पदा, भाषा, संस्कृति, रहनसहन, भेषभूषाको संरक्षण गर्नु पनि समृद्धि भएको उल्लेख गर्नुभयो । 

बस्नेतलाई हिमाली क्षेत्रको कठिन पदयात्रा गर्दै अध्ययन गरेको, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे हिँडेरै तयार पारेको वृत्तचित्र समेत निर्माण गरेको साथै हिमाल जोगाउन २५ वर्षदेखि योगदान गरेको भन्दै सम्मान गरिएको छ। उहाँलाई सम्मानपत्रमा हिमडमरुको उपाधि दिइएको छ । कार्यक्रममा साहित्यकार रोचक घिमिरेले अध्यक्ष बस्नेतले पत्रकारिता क्षेत्रमार्फत लामोसमयदेखि समृद्धिको पक्षमा काम गरेकोमा प्रशंसा गर्नुभयो । सगरमाथा आरोही तेम्बाछिरी शेर्पाले हिमाली क्षेत्रमा बस्नेतको अध्ययन, रुचीबारे आफूले २४ वर्षदेखि सँगै रहेर काम गरेको अनुभव सुनाउनुभयो । १४ वर्षको उमेरमा शेर्पाले पहिलो पटक सगरमाथा आरोहण यात्रा थाल्दा व्यवस्थापन टोलीसहित पत्रकार बस्नेत आफै सगरमाथा आधार शिविरतर्फ पुगेको त्यस क्रममा शेर्पाले सुनाउनुभयो ।  

अध्यक्ष बस्नेतले पत्रकारिताकै क्रममा सगरमाथा आधार शिविर क्षेत्र, अन्नपूर्ण, लाङटाङसहितमा पटक पटक स्थलगत पुगेको, जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा पारेको असरबारे निरन्तर खोजी गरेको विषय अनुकरणीय भएको आरोही शेर्पाले सुनाउनुभयो ।  

संघका अध्यक्ष राधेश्याम लेकालीले भाषा, साहित्य, सम्पदा, संस्कृति जोगाउन पत्रकारिताको ध्यान जानुपर्ने बताउनुभयो । बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यकारहरु प्रमोद प्रधान, श्रीओम श्रेष्ठ, ठाकुर वेल्वासे, नरेन्द्र श्रेष्ठ, विमल भौकाजीसहितले विषयवस्तुमाथि प्रकाश पार्नुभयो ।