• १२ साउन २०८१, शनिबार

गर्मी बढेकाले आगलागीका घटनामा वृद्धि

blog

रेखीराम राना

पाल्पा, वैशाख ४ गते । जिल्लामा आगलागीका घटनामा वृद्धि भएको छ । गर्मी बढेकाले जिल्लाका विभिन्न स्थानमा आगलागीका घटनामा वृद्धि भएको हो । पछिल्लो समय दिनहुँजसो आगलागीका घटना बढेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । 

केही दिनअघिसम्म आगलागीका घटना भएकै थिएनन्, तर पछिल्लो तीन÷चार दिनको अवधिमा तानसेन र रैनादेवी छहरालगायतका स्थानमा आगलागीका घटना भएका छन् । तानसेनको वनदेवीमा जङ्गलमा १५ हेक्टर बढी क्षेत्रफलमा आगलागी भएको छ । यस्तै,तानसेन–९,मदनपोखराको पोषपाखा सामुदायिक वनमा १० हेक्टरभन्दा बढी क्षेत्रफलमा आगलागी भएको डिभिजन वन कार्यालय पाल्पाका डढेलो फोकल पर्सना उपेन्द्र अर्यालले जानकारी दिनुभयो । 

आगलागीका घटनालाई न्यूनीकरण गर्न वन कार्यालयले जिल्लाभर नागरिकलाई सचेत बनाउने अभियान सञ्चालन गरिरहेको छ । सामुदायिक वनका उपभाेक्ता, जनप्रतिनिधि र सरोकारवाला सहभागी डढेलो नियन्त्रण सञ्जाल सक्रिय रहेको अर्यालले बताउनुभयो । प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा डढेलो नियन्त्रणको काम भइरहेको छ । 

जिल्लामा हाल २६ क्षेत्र डढेलोको उच्च जोखिम र २९ वटा क्षेत्र मध्यम जोखिममा छन् । उच्च र मध्यम जोखिम रहेका क्षेत्रमा समेत आम उपभोक्ता, विद्यार्थी तथा स्थानीय बासिन्दालाई सचेत बनाइएको अर्यालले बताउनुभयो । गतवर्ष यही समयमा सात सय हेक्टर वनमा आगलागी भएको थियो । 

गतवर्ष यही समय अवधिमा जिल्लाभरका ८१ वटा सामुदायिक वनमा आगलागी भएको थियो । विगतका वर्षमा आगलागी हुने क्षेत्रलाई आधार बनाएर आगलागी नियन्त्रण गर्ने कार्ययोजना बनेको डिभिजन वन अधिकृत दीपक ज्ञवालीले बताउनुभयो । 

जिल्लाभर एउटा मात्रै दमकल 

यसैबीच, जिल्लामा आगलागीका घटना बढे पनि जिल्लाभर दमकल भने एउटा मात्रै छ । तानसेन नगरपालिकामा मात्रै एउटा दमकल रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो । ‘आगलागीका घटना बढेका छन्, तर आगलागी नियन्त्रण गर्न सबैभन्दा उपयुक्त साधन दमकल तानसेनबाहेक अन्य पालिकामा छैन’, उहाँले भन्नुभयो । स्थानीय तहले दमकलको व्यवस्था गर्न सके आगलागी नियन्त्रण सहज हुने र मानवीय र धनमाल क्षति कम गर्न सकिने प्रजिअ पन्तले बताउनुभयो । अहिले आगलागी नियन्त्रणका लागि उपयुक्त साधन नहुँदा सम्भव भएको स्थानमा दमकल पठाउने गरेको तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले बताउनुभयो ।