• १२ साउन २०८१, शनिबार

नेपालगन्जमा ७० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

blog

नेपालगन्जमा कुकुरको बन्ध्याकरण गरिँदैछ। तस्बिर : सिराज खान।

सिराज खान 

नेपालगन्ज, चैत ३० गते। बाँकेको नेपालगन्जमा सामुदायिक कुकुरको बन्ध्याकरण थालिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपालगन्जको आयोजना र सोल्टीज होप स्ट्रीट एनिमल रेस्क्यु गुलरियाको सहकार्यमा सामुदायिक कुकुरको निःशुल्क बन्ध्याकरण थालिएको हो ।

सो क्रममा नेपालगन्जस्थित पशु कार्यालयको परिसरमा ७० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकी प्रमुख कमला अधिकारीले बताउनुभयो। 

सामुदायिक कुकुरलाई व्यवस्थित गर्ने उद्देश्यका साथ बन्ध्याकरण अभियान सञ्चालन गरेको प्रमुख अधिकारीले बताउनुभयो। 

लुम्बिनी प्रदेश सरकार अन्तर्गत भेटेरिनरी अस्पतालले यस वर्षबाट आवश्यकता महसुस गरेर सामुदायिक कुकुरको बन्ध्याकरण थालेको हो। 

प्रदेश सरकारको तीन लाख रुपियाँको लागतमा ७० वटा सामुदायिक कुकुरलाई बन्ध्याकरण गर्ने लक्ष्य रहेको छ। प्रदेशबाहेक नेपालगन्ज उपमहानगरपालिकाले समेत यो कार्यक्रम आफ्नो तालिकामा राखेको जनाइएको छ ।

सहकार्य संस्था सोल्टीजका अध्यक्ष प्रकाश मल्लका अनुसार तुलनात्मक रूपमा आफूले फरक रूपमा यस अभियानलाई अगाडि बढाइरहेको जानकारी दिनुभयो। यसअघि बर्दियामा पनि करिब एक हप्ता अगाडि ६० वटा सामुदायिक कुकुरलाई बन्ध्याकरण गरेको अध्यक्ष मल्लले बताउनुभयो ।

बन्ध्याकरणको बारेमा आमजनताले बुझ्नुपर्ने गरी अभियानमा जुटेको अध्यक्ष मल्लले बताउनुभयो। 

अप्रेसन पश्चात् कुकुरलाई कम्तीमा पनि दुईदेखि तीन दिनसम्म निगरानीमा राख्ने गरेको डा. चौधरीले जानकारी गराउनुभयो। यस समयमा कुकुरलाई चाहिने पेनकिलर, न्युट्रियन, सुगरको अवस्था जाँच गरिन्छ ।