• १३ फागुन २०८२, बुधबार

लमजुङमा मुख्य दलका उम्मेदवारबिच प्रतिस्पर्धा

blog

लमजुङका मुख्य प्रतिस्पर्धी उम्मेदवारहरू । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, फागुन १३ गते । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा लमजुङमा मुख्य तीन दलबिच प्रतिस्पर्धा हुने देखिएको छ । विगतमा एमाले, कांग्रेस र अहिलेको नेपाली कम्युनिस्ट पार्टीबिच प्रतिस्पर्धा हुने गरेकोमा यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिस्पर्धीमा थपिएको हो ।

लमजुङमा आठ वर्षपछि एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका एमाले, कांग्रेस, तत्कालीन माओवादी (अहिलको नेपाली कम्युनिस्ट पार्टी) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिस्पर्धी हुने भए पनि मुख्य प्रतिस्पर्धा एमाले, कांग्रेस र रास्वपाबिच हुने अनुमान धेरैले गरेका छन् ।

एक निर्वाचन क्षेत्र रहेको यहाँ ११ राजनीतिक दल र स्वतन्त्रसहित १२ जना चुनावी दौडमा रहेका छन् । यहाँका दुबै क्षेत्रमा २०७४ मा एमालेसँग मिलेर माओवादी र २०७९ मा कांग्रेस–माओवादीसहितको गठबन्धनविरुद्ध एमालेले जितेको थियो । विगतको मत परिणमा यसपटक हेरफेर हुने धेरैको आँकलन छ ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा लमजुङको समानुपातिकतर्फ नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ३१ हजार १७८ मत ल्याउँदै पहिलो स्थान हासिल गरेको थियो । नेपाली कांग्रेस २७ हजार ७९६ मतसहित दोस्रो स्थानमा रह्यो । राष्ट्रिय स्वतन्त्र पार्टी ले ८ हजार २१७ मत ल्याएर तेस्रो स्थान बनाउँदा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ६ हजार ४८३ मतसहित चौथो स्थानमा सीमित भयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ३०८ मत प्राप्त गरेको थियो । २०७९ को निर्वाचनमा गुरुङले तत्कालीन नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनका साझा उम्मेदवार तथा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई पराजित गर्नुभएको थियो । 

पृथ्वी सुब्बा गुरुङले ३४ हजार ९ सय ६९ मत ल्याउँदा देवप्रसाद गुरुङ ३१ हजार ७ सय ८१ मतमा सीमित हुनुभएको थियो । मतान्तर ३ हजार १ सय ८८ थियो । २०७४ को निर्वाचनमा एमालेसँगको गठबन्धनबाट तत्कालीन (माओवादी केन्द्र) बाट देवप्रसाद गुरुङ विजयी बन्नुभएको थियो ।

अघिल्लो परिणामले परम्परागत दुई ठुला दलको प्रभाव बलियो रहेको देखाए पनि नयाँ शक्तिप्रति मतदाताको आकर्षण बढ्दै गएको सङ्केत दिएको छ । एमालेबाट हेभिवेट उम्मेदवारका रूपमा पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री पृथ्वी सुब्बा गुरुङ, नेपाली कांग्रेसबाट गमप्रसाद गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी धर्मराज केसी र नेपाली कम्युनिस्ट पार्टीबाट हरिजङ्ग तामाङ रहनुभएको छ । चारै जनाले जित्ने दाबी गर्दै मतदाता फकाइरहेका छन् । 

लमजुङमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केविन्द्रजङ्ग गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट गुजेश्वरी प्रजापति मगजु, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट रविन्द्र नखोला, श्रम संकृति पार्टीबाट कोषलाल गुरुङ, मङ्गोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, जनादेश पार्टी नेपालका मिलन बास्कोटा, नेश्नल रिपब्लिक पार्टीका भरत गुरुङ र स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरे चुनावी मैदानमा रहनुभएको छ । उहाँहरू पनि चुनावी अभियानमा आफूहरूले जित्ने दाबी गर्दै आउनुभएको छ ।

एमाले र कांग्रेसबिच मुख्य प्रतिस्पर्धा देखिए पनि रास्वपाको सम्भावित वृद्धि वा राजनीतिक समीकरणले परिणाममा फेरबदल ल्याउन सक्ने देखिएको छ । अन्ततः उम्मेदवारको विश्वसनीयता, जनसम्पर्क, सङ्गठनको सक्रियता र स्थानीय मुद्दाप्रतिको संवेदनशीलताले नै २०७९ को परिणाम दोहोरिन्छ कि नयाँ इतिहास बन्छ भन्ने तय गर्ने छ । निर्णय भने मतपेटिकाले नै गर्ने छ । 

लमजुङमा १ लाख ३७ हजार १२४ जना मतदाता रहेका छन् । जसमा महिला मतदाता ६९ हजार ५२४ र पुरुष मतदाता ६७ हजार ६०० जना रहेका छन् ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यस पटक मतदाताको सङ्ख्या तीन हजार ४०७ जनाले बढेको छ । मतदानका लागि १३० मतदान स्थलमा  र एक अस्थायीसहित १९३ मतदान केन्द्र रहेका छन् ।