शंकर केसी
सल्यान, फागुन १४ गते । भेरी नदीको पुलबाट हाम फालेर बेपत्ता भएकी एक युवती एक सातासम्म पनि फेला परेकी छैनन्। गत फागुन ८ गते मध्याह्न करिब १२ बजे बनगाड कुपिण्डे नगरपालिका–१ जडागौडा स्थित भेरी नदीमाथिको पक्की पुलबाट दाङको तुलसीपुर–६ बरुवा गाउँ बस्ने ३० वर्षीय त्रिदेव मल्लकी श्रीमती २१ वर्षीया पुष्पा सिंह हाम फालेर बेपत्ता हुनुभएको थियो ।
एक सातासम्म खोजी कार्य जारी राखिए पनि पुष्पालाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल का गोताखोर तथा विशेषज्ञ टोलीले समेत खोजी गर्दा अहिलेसम्म फेला पार्न नसकेको सशस्त्र प्रहरी बल नेपाल सल्यान गुल्मले जनाएको छ।
बनगाड कुपिण्डे नगरपालिका–६ चौतारास्थित माइतीघरमा आएकी पुष्पा श्रीमानसँग पुलमा तस्बिर खिच्ने क्रममा नदीमा हाम फालेको बताइएको छ। केही हप्ताअघि मात्र उनको विवाह भएको थियो। नेपाल प्रहरी र स्थानीय बासिन्दाले उनको खोजी कार्य जारी राखेका छन्।