• १४ फागुन २०८२, बिहिबार

नेपालगञ्ज तातो हावा ‘लु’को उच्च जोखिममा

blog

लक्ष्मी तिमिल्सेना
जमुनाह, फागुन १४ गते ।
नेपालगञ्ज तातो हावा ‘लु’ को उच्च जोखिममा छ । जलवायु परिवर्तन र उच्च तापक्रमको प्रभावका कारण बाँकेको नेपालगञ्जमा पनि तातो हावाको लहर ‘लु’ उल्लेख्य रूपमा बढ्दै गएको अध्ययनले देखाएको छ । तापक्रम वृद्धिले विशेषगरी सङ्कटासन्न समुदाय र जोखिममा रहेका वर्गहरूलाई प्रभावित गरेको पाइपछि उनीहरुको राहतका लागि योजना अघि सारिएको हो ।

नेपालगञ्ज उप–महानगरपालिकामा गरिएको विस्तृत अध्ययनअनुसार कुल एक लाख ६४ हजार ४४४ जनसङ्ख्या रहेको यस क्षेत्रमा ७८ प्रतिशत उत्तरदाताले ‘लु’ बाट प्रत्यक्ष जोखिम महसुस गरेको बताएका छन् । अध्ययन २०२३, २०२४ र २०२५ मा कार्यान्वयन गरिएको ‘हिट एक्सन प्लान’ अन्तर्गत पूर्वकार्य र प्रतिकार्यको सन्दर्भमा गरिएको हो ।

अध्ययनले ज्येष्ठ नागरिक, बालबालिका, विद्यार्थी, गर्भवती महिला, ज्यालादारी मजदुर, बाहिरी काम गर्ने व्यक्ति, कृषक, अटोरिक्सा चालक, गृहिणी, दीर्घरोगी, न्यून आय भएका घरधुरी तथा घना बस्तीमा बसोबास गर्ने समुदाय सबैभन्दा बढी जोखिममा रहेको देखाएको छ ।

नेपाल रेडक्रस सोसाइटीका पूर्वानुमानमा आधारित पूर्वकार्य फोकल पर्सन प्रमोद अधिकारीले भन्नुभयो, ‘‘तातो हावाका कारण स्वास्थ्य समस्या (९० प्रतिशत), लोडसेडिङ (५९ प्रतिशत), आयआर्जनमा कमी (४६ प्रतिशत), कार्यक्षमतामा गिरावट (४० प्रतिशत) र खानेपानी पहुँचमा कमी (३५ प्रतिशत) प्रमुख असरका रूपमा देखिएका छन् । ‘यसका आधारमा राहतबारे योजना बनाउन लागिएको हो ।’’

अधिकारीका अनुसार उक्त अध्ययन प्रतिवेदनले, नेपालगञ्जका ४६ प्रतिशत उत्तरदाताले ‘लु’ को समयमा स्वास्थ्य समस्या भोगेको देखाएको छ । अनिद्रा, टाउको दुख्ने, थकान, ज्वरो, निर्जलीकरण, वाकवाकी, रिङ्गटा लाग्ने र रक्तचाप बढ्ने जस्ता देखिएका छन् । १८ देखि २९ प्रतिशत उत्तरदातालाई उपचारको आवश्यकता परेको थियो, जसमा कम शैक्षिक स्तर भएका घरधुरी बढी प्रभावित देखिएका छन् ।

ज्यालादारी मजदुर, रिक्सा चालक जस्ता बाहिरी श्रमिकका लागि छहारियुक्त विश्रामस्थल, चिसो पिउने पानी र ‘कुलिङ स्पेस’ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । न्यून साक्षरता भएका समुदायलाई लक्षित गरी रेडियो, माइकिङ र चित्रसहितका पोस्टरमार्फत सूचना प्रवाह गर्नुपर्ने सिफारिस गरिएको छ ।

सचेतनाका लागि छलफल
बुधबार नेपालगञ्जमा तातो हावा ‘लु’ सम्बन्धी पूर्वानुमानमा आधारित पूर्वकार्य अभिमुखिकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका उच्च अधिकृत, विभिन्न ५ वडाका जनप्रतिनिधि, रेडक्रसकर्मी र सञ्चारकर्मीहरुबिच छलफल भएको हो ।

कार्यक्रममा सहभागीहरुले जलवायु परिवर्तनसँगै बढ्दो तातो हावाको जोखिमलाई ध्यानमा राख्दै स्थानीय सन्दर्भअनुसार कार्यक्रम अनुकूलन, निरन्तर अनुगमन र मूल्याङ्कन प्रणाली सुदृढ गर्नुपर्नेमा जोड दिए ।

बाँके रेडक्रसका सभापति गोवद्र्धनसिंह सम्झनाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि, नेपालगञ्ज उप–महानपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले रेडक्रससँग पालिकाले साझेदारी गरेर जान तयार रहेको बताउनुभयो ।

बाँके रेडक्रसका कोषाध्यक्ष राकेश श्रीवास्तवले स्वागत, कार्यालय प्रमुख दोलख डाँगीले कार्यक्रमबारे प्रकाश र पूर्वानुमानमा आधारित पूर्वकार्य फोकल पर्सन झविलाल शर्माले सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रममा समिर प्रताप सिंह, राजकुमार साहु लगायतका वडाध्यक्षहरुले आफ्ना विज्ञासा र सुझाव राख्नुभएको थियो ।