सुधा देव
भारदह (सप्तरी), फागुन १४ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सप्तरीका भारतीय सीमा नाका तीन दिन बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरी ले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै फागुन १९ गते राति १२ बजेदेखि २१ गते रातिसम्म भारतीय सीमा नाका बन्द गरिने जानकारी दिएको छ।
निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका सप्तरीका सबै सीमा नाका बन्द गरिने प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।
निर्वाचनलाई ध्यानमा राखी फागुन १८ गते साँझदेखि जिल्लाभर मदिरा बिक्री–वितरण तथा सेवनमा पनि रोक लगाइएको छ। फागुन १८ गते साँझ ७ बजेदेखि मदिरा बिक्री–वितरण गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम फागुन १८ गते साँझ ७ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ।
यसैगरी, फागुन २१ गते निर्वाचनको दिन सवारी साधन सञ्चालनमा पनि रोक लगाइने भएको छ। सो दिन बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म एम्बुलेन्स, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा, विद्युत् सेवा लगायत अत्यावश्यक सेवाका सवारी साधन तथा अनुमति प्राप्त सवारी साधनबाहेक अन्य सबै सार्वजनिक तथा निजी यातायातका साधन सञ्चालन गर्न नपाइनेछ।