कासवाङ (सिद्धि) चितवन, फागुन १४ गते । सिद्धिको तल सडकमा विभिन्न राजनीतिक दलका उम्मेदवार र कार्यकर्ता सवारीसाधनमा चुनावी नारा घन्काउँदै मत माग्दै थिए । माथि कासवाङस्थित सुक्खा पहराको छाप्रोमा वयोवृद्ध ७७ वर्षीय जोडी वृषबहादुर र भुरीमाया चेपाङ डोको बुन्दै हुनुहुन्थ्यो ।
दलीय भागबन्डाका कडी मानिने चितवन–२ मा पर्ने चेपाङ समुदायमा चुनावको चहलपहल देखिँदैन । डोको बुन्दै गर्नुभएका वृषबहादुरले गाउँमा कसलाई मत दिने भनेर पूरा सल्लाह अझै नभइसकेको बताउनुहुन्छ । भुरीमायाले भन्नुभयो, “भोट त दिनु पर्छ, मरेपछि दिन पाइँदैन, जसलाई भए पनि दिनु पर्छ है बुढा ।” वृषबहादुर जवाफ फर्काउनुहुन्छ, “डाँडामाथिका जुन जस्तै भइसक्यौँ, भोट त खसाल्नै पर्छ, बुढी अधिकार पो हो त ।” फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भोट हाल्न जाँदा वारिपारि गाउँका इष्टमित्र भेट हुँदा कुराकानी र रमाइलो दुवै हुने वृषबहादुर सुनाउनुहुन्छ ।
लालपुर्जावाला जग्गा बेचेपछि ऐलानीमा छाप्रो सार्नुभएका चेपाङ भन्नुहुन्छ, “छोरा विदेश गएपछि साना बच्चासँगै बुहारी माइतै बसिन्, घर कुर्ने त हामी बुढाबुढी मात्र भयौँ ।” तीन तहको सरकार भएपछि चितवनका धेरै पहाडी गाउँ नगर भए । सिद्धी गाउँबाट कालिका नगरपालिका बनेको सिद्धीको कासवाङ, मेटाङ्राङ, लोटुङ्टी, ट्याङ्सेराङ र टुँडिखेलका चेपाङ समुदायले भने सहरको अनुभूति अझै गर्न पाएका छैनन् । जेनतेन डोजरले खोस्रेर खारेको बाटो र बत्ती पहाडका टुप्पैसम्म पुग्यो तर चेपाङका घरभित्रको दुःख भने सुखमा बदलिएका छैनन् ।
कक्षा १२ पास गर्न सकेका केही युवा विदेश पुगेका छन् । नसकेकाहरू सहरतिर ज्यालामजदुरीमा जानुको विकल्प नभएको मङ्गलबहादुर चेपाङले सुनाउनुभयो । मलेसिया बसेर फर्किनुभएका उहाँले घरमा जस्ताको छाना फेर्नुभयो अनि केही जग्गा जोड्नुभयो । अब गाउँमै खेती गरेर बस्न चाहिने मल, बिउ, सिँचाइ निःशुल्क पाउने बनाइदिन नेतासँग भन्ने छु, पहिले त कसलाई भोट दिने भनेर गाउँमा सबैसँग सल्लाह गर्ने छौँ ।
सहरमा नौला र पुराना नेताको जति चर्चा छ । चेपाङ गाउँमा त्यो छैन । सल्लाहमै एउटैलाई दिने मन बनाएका छन् । त्यसैले पनि दलका कार्यकर्ताले चेपाङ अगुवालाई शक्तिखोर र सिद्धी बोलाएर फकाउन थालेका छन् । नेताहरू डेढ/दुई घण्टाको उकालो चढेर भोट माग्न जानुभएको छैन । २०५६ देखि मत हाल्न थालेको निरमाया चेपाङ यो पाला गाउँमा सिँचाइ ल्याउन सक्ने पार्टीको नेतालाई मत दिनुपर्ने मत राख्नुहुन्छ । गाउँमै गरिखाउँ भनेर ऋण धन गरेर गोठभरि स्थानीय जातको गाई पाल्नुभएको छ । खोरभरि बाख्रा छन् । तिनलाई पानी पु¥याउन नसक्दाको पीडा नेताले नबुझ्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहाड सहरमा गाभियो तर सहरको सुविधा केही छैन, नुन सकियो भने किन्न एक घण्टा ओरालो लागेर तल झर्नु पर्छ नत्र बिलौना तरकारी भर हुन्छ ।”
छैन मतदाता नामावलीमा नाम
पहाडी इलाकाका अधिकांश चेपाङ महिलाको नागरिकता बनेको छैन । नागरिकता नहुँदा मतदाता नामावलीमा उहाँहरूको नाम चढेको छैन । ३२ वर्षीय शान्तिमाया चेपाङले भन्नुभयो, “नाम हाल्देउ भन्न गएको त हो, कति कति सिफारिस ल्याउ भन्छ, दिक्क भएर बुढाले पछि बनाउँला भनेपछि भोट हाल्ने रहर पूरा भएन । ”
सानै उमेरमा बिहे भएको उहाँको छोरा नै १८ वर्ष भइसके । उहाँका न नागरिकता बन्यो । न त बिहे दर्ता नै भएको छ । नेताहरू भोट माग्न आउने तर मतदाता नामावलीमा कसको नाम छ छैन भनेर कहिले सोधीखोजी नगर्ने उहाँ बताउनुहुन्छ । उहाँका श्रीमान् ज्यालामजदुरीमा सहर गइराख्ने । एक्लै जाँदा वडामा बुढा लिएर आऊ, जन्मदर्ता लिएर आऊ, त्यो बनाउन बाबुको नागरिकता लिएर आऊ भनेपछि त्यसै फर्कनु परेको सुनाउनुभयो ।
दिनभरि हिँडेर माइत गएर जन्मदर्ता बनाएर नागरिकता बनाउनु लेखपढ नगरेको उहाँ जस्तो चेपाङ महिलाका लागि फलामको चिउरा चपाए जस्तै हो । घरकै कामकाजमा रमेर बसेको उहाँको जेठानी गीता चेपाङको पनि नागरिकता र बिहे दर्ता दुवै छैन । उहाँले भन्नुभयो, “बनाउने भन्यो बुढालाई फुर्सद मिल्दैन म कता जानु एक्लै ।”
उहाँकी देउरानी शर्मिला चेपाङको पनि नागरिकता, बिहे दर्ता र मतदाता नामावलीमा नाम छैन । धादिङको धुसा गाउँको पहाडको टुप्पोमा माइत गाउँ छ । जान र आउनै कति दिन लाग्छ । बच्चा सानै भएकाले पनि जान नसकेको शर्मिला बताउनुहुन्छ । सात महिनाको काखे नानी च्याप्दै सुनाउनुभयो, “बनाइदिन्छु भन्नुभएको छ, अनि बन्छ मतदातामा नाम होला नि ।” करिब १५ वर्ष पहिले जिल्ला प्रशासन कार्यालयले घुम्ती टोली कोराक, सिद्धी, काउले, लोथरसम्म पु¥याएर चेपाङ महिला र पुरुषको नागरिकता बनाइदिएको थियो । त्यसपछिका पुस्ताका लागि भने त्यसरी घुम्ती टोलीले नागरिकता बनाइदिएको छैन । जसका कारण धेरैको छुटेको अनुमान गाउँका चन्द्रमान चेपाङ गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “मेरै बुढीको छुट्यो त्यो बेला त्यसपछिको बच्चाहरूको के कुरा गर्नु, मत भोट हाल्न जान्छु उ जाँदिन यस्तै छ सबै गाउँमा ।”
अलिकमाथिको मेटाङराङ गाउँका सन्तबहादुर चेपाङलाई भने मत हाल्ने रहर छैन । उहाँको घरमा पनि उस्तै महिलाको कसैको नाम छ कसैको छैन । भोट दिएर पनि चेपाङको घरमा गाँस राम्ररी पर्दैन भने किन दिनु भनेर दुखेसो पोख्नुभयो । निर्वाचन आउँदा गाउँमा भोजभतेर र रमझम हुने गरेको विगत स्थानीय सम्झन्छन् । एकले भन्नुभयो, “खै यसपाला के हुन्छ, भोज हुन्छ कि हुन्न, कसले के दिन्छु भन्छ, सुन्न पाएको छैन, भोट माग्न आएकै छैनन् ।”
चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने चेपाङ समुदाय दलीय भागबन्डाका कडी मानिन्छन् । सहरका मतदाताको जता भोट गए पनि जितका लागि नपुग सङ्ख्या पहाडका टुप्पासम्म छरिएर रहेका चेपाङ समुदायका टाउका गनेर यो ठाउँको भोट मेरो हो भन्ने गरेको पाइन्छ । यी भेगमा देशमा भएका परिवर्तनको असर खासै परेको देखिँदैन । नयाँ दल आएको छ भन्नेसम्म उनीहरूलाई थाहा छ । यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसकी मीना खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कडा प्रतिस्पर्धा छ । नेकपा एमालेका अस्मिन घिमिरे, नेकपाका प्रताप गुरुङलगायत २३ जनाको उम्मेदवारी रहेको छ ।