• २० वैशाख २०८१, बिहिबार

गहुँ उत्पादनमा वृद्धि

blog

बाजुराको बूढीगङ्गा नगरपालिका–९ को सेराटाट्कामा पाकेको गहुँ । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, चैत ३० गते । बाजुरामा पछिल्लो समय गहुँ उत्पादनमा वृद्धि भएको छ । पुरानै जातको गहुँ लगाउने र किसानलाई नयाँ प्रविधिको गहुँ खेती गर्ने प्रणालीको बारेमा जानकरी नहुँदा गहुँ उत्पादन कम हुने गर्थ्याे ।

कृषि ज्ञान केन्द्रले यहाँका किसानलाई आधुनिक प्रविधि सँगसँगै नयाँ जातको गहुँ लगाउन उत्प्रेरित गर्दै आएपछि पछिल्लो समय बाजुरामा गहुँ उत्पादनमा वृद्धि भएको हो । 

परम्परागतको खेती भन्दा अहिले नयाँ प्रविधिबाट गहुँ खेती गर्न थालेपछि उत्पादन बढेको छ । जमिनको क्षेत्रफल अनुसार कम भएपनि उत्पादनको हिसाबले निकै वृद्धि भएको बुढीगङ्गा नगरपालिका कृषि शाखा प्रमुख दीपक थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सिँचाइ सुविधा भएको ठाउँमा त गहुँ राम्रै फलेको छ । समयमै पानी नपरेका कारण पाखो तथा भिरालो ठाउँको जमिनमा  भने गहुँ यो वर्ष गहुँ उत्पादन कम हुने सम्भावना देखिन्छ ।” यहाँका स्थानीयले लामो समयसम्म स्थानीय जातको गहुँ लगाउने र राम्रोसँग मल जलको प्रयोग नगर्नाले गहुँ उत्पादनमा पनि वृद्धि हुन सकेको थिएन। पछिल्लो समय किसानले आधुनिक प्रविधिसँगै नयाँ जातको गहुँ लगाउन थालेपछि अहिले गहुँ उत्पादनमा वृद्धि हुन थालेको थापाले बताउनुभयो ।

बाजुराको हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र छेडेदहलगायतका विभिन्न ठाउँमा गहुँ खेती हुन्छ ।

जिल्लाको पूर्वीउत्तर क्षेत्रमा खोलाको किनार तथा सिँचाइ सुविधासम्पन्न भएको ठाउँमा गहुँ राम्रो फल्ने गरेको भए पनि भिरालो तथा पाखो ठाउँमा भने गहुँ कम उत्पादन हुने गरेको यहाँका स्थानीय बताउँछन् ।

तल्लो क्षेत्रको बडिमालिका गौमुल छेडेदह लगायतका ठाउँमा प्राय स्थानीय जातको गहुँ लगाउँने भएकोले त्यो ठाउँमा पनि गहुँ उत्पादन कम हुन्छ । यो गहुँलाई प्राय असिनापानीले पनि कम क्षति गर्ने हुनाले यहाँका स्थानीयले यही गहुँ लगाउने गर्छन् ।

बाजुराको त्रिवेणी नगरपालिकाको ढलाली, पन्ताली, तोली र बुढीगङ्गा नगरपालिको ब्रहतोला, नुवाघर, सायल भमक बजार, बायल राखेत देवलसैन सेराटाट्का, झण्डारगाउँ , नुवाकोट र सिगाडा लगायतका ठाउँमा गहुँ राम्रो फल्छ । यहाँका किसानले मङ्सिर गहुँ लगाउने र वैशाखको पहिलो हप्ताबाट काट्न सुरु गर्छन् । बाजुरा वैशाख जेठमा असिना पानी पर्ने गरेकोले यती बेला किसानलाई पाकेको गहुँ त्यसबाट कसरी बचाउनु भन्ने पनि चिन्ता छ । 

जिल्लाका केही ठाउँमा वैशाख सुरुवात सँगै गहुँ बाली पाक्न सुरु भए तापनि हिमाली क्षेत्रका बुढीनन्दा हिमाली, स्वामिकार्तिक जगनाथ गाउँपालिका केही ठाउँमा भने वैशाखको अन्तिम जेठको पहिलो साताबाट मात्र गहुँबाली पाक्न सुरु हुन्छ ।

यहाँ किसानले पछिल्लो समय पासाङ्लामु, डब्लु के बाह्र सय चौध, डाँफेमुनाल र स्वर्गद्धारी जातको गहुँ लगाउँछन् । अधिकाशं किसान भने उही पुरानो स्थानीय जातको नै गहुँ लगाउने गरेका छन् । बाजुरामा २ लाख ३० हजार ३७ हेक्टर जमिन भए पनि यसमध्ये २२ हजार हेक्टर खेतीयाेग्य जमिन छ । पाँच हजार २ सय ३५ हेक्टर जमिन मात्र वर्षभरिमा सिचाँइ हुने गरेको छ ।

गहुँ हिउँदे बाली भएकोले हिउँदमा वर्षा भएन भने उत्पादन घट्छ वर्षा भएमा उत्पादन बढ्छ । पछिल्लो समय यहाँका किसानले उन्नत जातको गहुँको बीउको प्रयोग गर्नाले पनि बाजुरामा गहुँ उत्पादनमा वृद्धि हुँदै गएको हो ।

बाजुरामा कुल खेती गरिएको क्षेत्रफलको २० प्रतिशत मात्रै जमिनमा सिँचाइको सुविधा छ । भने ८० प्रतिशत् जमिनमा अहिले पनि आकाशे पानिको भरमा खेती हुने गरेको छ।जिल्लाको उत्पादन बढाई खाद्य सुरक्षामा टेवा पुर्‍य ाउन सिँचाइको क्षेत्र विस्तार गर्न निकै आवश्यक रहेको बुढीगङ्गा नगरपालिका कृषि शाखा प्रमुख थापाले बताउनुभयो ।

बाजुरामा १० हजार ४६० हेक्टरमा क्षेत्रफलमा गहुँ खेती गरिन्छ भने सो जमिनबाट १७ हजार ७८२ मेट्रिक टन उत्पालन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।