• ३ जेठ २०८१, बिहिबार

जनकपुरमा दुई सय शैय्याको क्यान्सर अस्पताल बन्ने

blog

लक्ष्मी चौधरी

जनकपुरधाम, बैशाख ३ गते । मधेस प्रदेशको राजधानी जनकपुरधाममा दुई सय शैय्याको क्यान्सर अस्पतालको शिलान्यास भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका २५ स्थित विनयतारा क्यान्सर ट्रस्टद्वारा सञ्चालित दुई सय शैय्या भएको विनयतारा फाउण्डेशन क्यान्सर सेन्टरको नयाँ भवनको शिलान्यास गरिएको हो ।

कार्यक्रममा ट्रस्टका प्रमुख विनयकुमार साहले क्यान्सरका बिरामीहरु उपचारका लागि प्रदेशभन्दा बाहिर जानुपर्दा झन् समस्यामा पर्नेगरेको बताउनुभयो । प्रदेशमा नै क्यान्सर अस्पतालको निर्माण हुँदा बिरामीलाई राहत मिलोस् भन्ने उद्देश्यले यहाँ अस्पताल निर्माण गर्न लागेको बताउनुभयो । मान्छे रोगबाट पीडित भइरहेको हुन्छ त्यसमा पनि पायक पर्ने ठाउँभन्दा बाहिर गएर उपचार गराउनुपर्दा रोग निको भए पनि आर्थिक समस्याबाट जुध्नुपर्ने समस्या हुने चर्चा गर्नुभयो ।

यसअघि अमेरिकास्थित विनयतारा ट्रष्टले जनकपुरधाम पुल्चोकमा ४ वर्षदेखि २५ शैय्याको क्यान्सर अस्पताल सञ्चालन गर्दैआएको छ । सो क्यान्सर अस्पतालमा नेपाल तथा भारतका बिरामीको चाप बढ्न थालेपछि दुईसय शैय्याको अस्पताल सञ्चालनमा ल्याउने योजना बनाएको ट्रष्टका प्रमुख साहले बताउनुभयो । 

यस्तै, विनयतारा क्यान्सर फाउण्डेसनका अध्यक्ष डा. वाइपी सिंहले अस्पताल निर्माणमा स्थानीयवासी तथा मनकारीहरुको साथ सहयोगबिना अस्पताल निर्माण हुन नसक्ने भएकाले सबैसँग सहयोगको अपेक्षा रहेको बताउनुभयो । अस्पतालमा अमेरिकन प्रविधिबाट उपचार गरिने भएपनि उपचार शुल्क भने न्यून राखिने ट्रष्टले जनाएको छ  । 

सो क्यान्सर अस्पताल निर्माणका लागि ट्रस्टले साढे तीन बिघा जग्गा खरिद गरेको छ । स्थानीय विनोद ठाकुरले अस्पतालका लागि भनेर दान स्वरुप १० कठ्ठा जग्गा उपलब्ध गराउनु भएको छ । चार बिघा क्षेत्रफलमा निर्माण हुने अस्पतालका लागि डिजाइनरदेखि दक्ष प्राविधिक पनि अमेरिकाबाट ल्याइने जनाइएको छ । 

तीन वर्षमा अस्पताल पूर्णरुपमा सञ्चालनमा ल्याइने योजना रहेको बताइएको छ । अस्पताल निर्माणपछि नेपाल–भारतका ठूलो जनसङ्ख्या लाभान्वित हुने विश्वास सञ्चालनकहरुको छ ।