• १२ साउन २०८१, शनिबार

इलाम– २ उपनिर्वाचन : उम्मेदवारलाई चुनाव चिह्न दिइँदै

blog

कोकिला ढकाल
इलाम, चैत २७ गते ।
आगामी वैशाख १५ गते हुने इलाम–२ को उप–निर्वाचनका मङ्गलबार उम्मेदवारहरुलाई चुनाव चिह्न दिइँदै छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार  बिहान  ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय राखिएको छ ।

यस्तै, १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यतालिका छ । आजै ३ देखि ४ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने जनाइएको छ । उप–निर्वाचनका लागि १२ दल र आठ स्वतन्त्र गरी २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

कार्यतालिकाअनुसार चैत २८ देखि वैशाख १२ सम्म प्रचारअवधि रहेको छ ।  वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ । मतदानका दिन राति १० बजेसम्म सबै मतपेटिका सदरमुकाम ल्याइसक्ने र १५ गते रातिदेखि नै मतगणना सुरु गरिने लक्ष्य राखिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो ।

‘‘निर्वाचन क्षेत्र दुर्गममा पनि रहेकाले दुर्गम क्षेत्रका मतपेटिकालाई एउटा केन्द्र तोकेर सबै एकै ठाउँमा सङ्कलन गर्ने र एउटै गाडीमा ल्याउने योजना बनाउँदै छौं ।’’ मुख्य निर्वाचन अधिकृत घिमिरेले भन्नुभयो, ‘‘त्यसो गर्दा सबैतिरका मतपेटिका समयमै ल्याउन सकिने रहेछ ।’’

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा मतगणना स्थल तय गरिएको जनाएको छ । मतगणनामा कुनै पनि विवाद आउन नदिन, मतगणना स्थलको सुरक्षा, त्यहाँभित्र तारबार, सीसी क्यामेराको व्यवस्था सबै गरिने घिमिरेले बताउनुभयो । इलाम– २ मा ७९ वटा मतदान स्थल र एक सय ४९ मतदान केन्द्र छन् ।