• ११ मंसिर २०८१, मङ्गलबार

समुदाय, संवाद र कांग्रेस

blog

मुलुककै पाको र संसद्को ठुलो दल नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ । कांग्रेस समुदायका जनतासँग संवाद गरेर त्यहाँका माग र आवश्यकतालाई संसद् र सरकारमा रहँदा सत्ता पक्ष होस् कि प्रतिपक्ष; जुनसुकै भूमिकामा पनि लोकतान्त्रिक मूल्यमान्यतामा रही संसदीय अभ्यास गरेको पाको पार्टी हो । हालै सञ्चालित समुदायमा कांग्रेस अभियानमा पनि जनताका थुप्रै गुनासा सुनिएका छन् । कांग्रेस हिजो सत्तापक्षमा रहँदा जनताका आकाङ्क्षा सुनेर डेलिभर गर्ने भूमिकामा रहेको थियो भने अब संसद्मा दरिलो प्रतिपक्ष, जनताका आकाङ्क्षाको सम्बोधन र सरकारलाई जनता र संसद्प्रति उत्तरदायी बनाउने महत्वपूर्ण भूमिकामा छ । यस्तो अवस्थामा कांग्रेसले संसद् र जनतासँगको संवाद कसरी अगाडि बढाउला भन्ने धेरैको चासोको विषय पनि छ । 

शान्ति प्रक्रिया, संविधान जारी गर्न र लोकतान्त्रिक निर्वाचन सम्पन्न गर्न सफल देखिएको कांग्रेस सत्तामा रहँदा शासकीय कौशलता र जनकेन्द्रित विषयमा अपेक्षित रूपमा सफल हुन सकिरहेको छैन । अहिले स्थानीय तहमा सबैभन्दा धेरै सरकारको नेतृत्व, प्रतिनिधि र प्रदेश सभामा सबैभन्दा धेरै सिट हासिल गरेको पहिलो ठुलो पार्टीका रूपमा आफ्नो पहिचान राखे पनि सत्ता सहकार्य र नेतृत्वदायी भूमिकामा भने अपेक्षाकृत सफल देखिँदैन । बहुदलपछि कांग्रेस सबैभन्दा धेरै समय सत्तामा छ । कांग्रेसकै नेतृत्वमा मुलुकले विभिन्न पक्षमा परिणाम पनि निकालेको छ । राजनीतिक सङ्क्रमणको आरोह अवरोह सामनादेखि ती परिवेशको समाधानको उपाय पनि कांग्रेसकै नेतृत्वले पूरा गरेका विगतका उदाहरण छन् । पछिल्लो समय भने कांग्रेस जनताका गुनासाबाट विमुख भएको त होइन भन्ने आशङ्का बढ्दो छ । 

राजनीतिप्रति आमजनसमुदायमा देखिएको वितृष्णा र अस्थिरता चिर्नका साथै समुदायका गुनासा र समस्याको पहिचान, ग्रहण र सम्बोधन गर्ने हेतुले मुलुकभरिका वडामा ‘समुदायमा कांग्रेस अभियान’ सञ्चालनमा रह्यो । त्यसै कार्यक्रम अन्तर्गत रहेर पार्टीका महामन्त्री गगनकुमार थापाले तराईको हुलाकी राजमार्गका आसपासमा रहेका समुदायका व्यक्तिसँग दुई चरणमा भेटघाट र संवाद सम्पन्न गर्नुभएको छ । समुदायका भुइँमान्छे, कृषक, मजदुर, महिला तथा बालबालिका, ज्येष्ठ नागरिकका समस्या कस्ता रहेछन् ? पार्टीको कार्यकर्ता, उद्योगी व्यवसायीका चासो र गुनासो के हुन् भन्ने विषयमा जनतासँगको संवाद निकै फलदायी देखिन्छन् । तराईका भित्री बस्तीमा पुगेर त्यहाँका भुइँमान्छे, कृषक, मजदुर, महिलाले गरेका चासो र गुनासोले यथार्थमा आममानिसका समस्याको उजागर गर्न महामन्त्री थापा प्रयत्नशील रहेको देखिन्छ । त्यस्ता गुनासा सम्बोधन आममानिससँगको संवादबाट लोकतान्त्रिक पार्टी कांग्रेसले गरोस् भन्ने मनोभाव देखिन्छ ।

समुदायका मुख्य गुनासा

समुदायमा कांग्रेस अभियानको मुख्य उद्देश्य संवादसँगै यात्रा हो । संवाद यात्रामा खुला र समूहगत छलफल, निर्दिष्ट भेटघाट, सेवाप्रवाहको अवस्था, अवलोकन भ्रमणलगायत माध्यमबाट नागरिकसँग संवाद गरिएको थियो । संवादका क्रममा कृषक, युवालगायत स्थानीय समुदायमाझ पुगेर कुरा राख्दा त्यहाँका नदी डुबान, सिँचाइ र मलको विषयलाई महìवका साथ नागरिकले उठाएका छन् । झापामा जङ्गली हात्तीको समस्या, कृषि व्यवसाय, उद्योग र बजारीकरणमा जनताको गुनासो देखियो । हुलाकी राजमार्ग वरिपरिका प्रशासन, सार्वजनिक सेवा र भन्सारको समस्या, स्थानीय पूर्वाधार निर्माणको ढिलासुस्ती, आर्थिक विकास र उपार्जनसँग सम्बन्धित बढी समस्या देखिए । नागरिकताको समस्या, मिटरब्याजको विषय, सहकारीसम्बन्धी समस्या, वैदेशिक रोजगारीसम्बन्धी समस्या नागरिकले सुनाए ।

मुख्यतः समुदायमा कृषकको बाहुल्य छ र चिन्ताका रूपमा खेती किसानीकै बारेमा बढी छ । सिँचाइ, कृषि व्यवसाय, बजारीकरण जस्ता विषय नै अहिलेका मुख्य समस्या देखिएका छन् । अर्कातर्फ जनस्वास्थ्य, कुपोषण र गरिबी अझै ज्वलन्त देखिए । रोजगारी सिर्जना गर्नेबारेमा खासै काम भएको देखिएन । स्थानीय तहमा नै रोजगारी सिर्जना गर्न सकिन्छ भनेर बहस छ तर रोजगारी भन्यो कि वैदेशिक रोजगारी मात्र केन्द्रित देखिन्छ । गुणस्तरीय शिक्षा, सुरक्षित आवास, मर्यादित जीवनका लागि पहल गरिदिन जनताका अनुग्रह छन् । यस्ता सबै विषयलाई प्रभावकारी रूपमा समाधान गर्न एकीकृत सोच, निरन्तर संवाद र प्रभावकारी कार्यक्रमको खाँचो देखिन्छन् । यी विषय कांग्रेसले संसद्मा कसरी उठाउँछ भन्ने चासोको विषय पनि छ । 

‘कम सुनाउने, बढी सुन्ने’ संवाद यात्राको मुख्य ध्येय थियो । यद्यपि स्थानीय जनजीवनका आयाममा समस्या थुप्रै देखिए । त्यस्तै अदालती समस्याले न्यायको अनुभूत गर्न नपाएका नागरिक निरास रहेछन् । विद्यालय शिक्षाको गुणस्तर कमजोर रहेको पाइयो । स्वास्थ्य बिमाको सुरुवातप्रति सकारात्मक प्रतिक्रिया रहेका छन् तर बिमाबाट आवश्यक सेवा लिने क्रममा धेरै दुःख पाएको गुनासो समुदायमा छ । स्थानीय सरकारले परिवर्तनको प्रयत्न गरेको देखिए पनि अझै जनतामा आशाको सञ्चार भई नसकेको पाइयो । प्रदेश सरकारका कार्यसम्पादन र निर्णय कार्यान्वयन सुस्त देखियो । निर्णय गर्ने तर कार्यान्वयन नहुने प्रवृत्तिविरुद्ध धेरै गुनासो थियो । संवाद यात्राले निकै मानिसले आफ्ना वितृष्णा पोख्ने मञ्च पाए । भुइँमान्छेका गुनासा सुनेर संसद्बाट सरकारलाई ध्यानाकर्षणका निम्ति सबैभन्दा ठुलो लोकतान्त्रिक दलले पहल गरोस् भन्ने आमअपेक्षा छ । 

समुदायबाट संसद्मा कांग्रेस 

कांग्रेसले समुदायमा उठेका अनेकन समस्यालाई टपक्क टिपेर संसद्मा प्रस्तुत गर्ने र सरकारलाई ध्यानाकर्षण गराउने अहिलेको मुख्य जिम्मेवारी पनि हो । संसद्को ठुलो दल साथै प्रतिपक्षको भूमिका र जिम्मेवारीबाट कांग्रेस चुक्नु हुँदैन । कांग्रेसलाई सत्ता र नेतृत्वको मोहभन्दा आमजनताको समस्याको साधकका रूपमा आफूलाई उभ्याउनुपर्ने देखिन्छ । समुदाय र संसद्को पुलका रूपमा कांग्रेसलाई आमजनताले हेरिरहेका छन् । सङ्घ र प्रदेश सभामा कांग्रेसले निर्वाह गर्ने भूमिकाले मुलुक र समुदायको रूपान्तरणको मार्ग तय हुने देखिन्छ । समुदायमा उब्जिएका प्रश्न, गुनासो र समस्यालाई संसद्सम्म पु¥याउने र कानुन निर्माणमा मुख्य ध्यान दिने कांग्रेसको जिम्मेवारी हो । कांग्रेसले सत्तामा बसेर मात्र होइन, प्रतिपक्षबाट पनि मुलुकको सुशासन र समुन्नतिका खातिर प्रभावकारी कार्यसम्पादन गर्न सक्षम छ भन्ने जनतासमक्ष प्रमाणित गर्ने सुनौलो अवसर पनि हो । 

मुख्यतः संवाद यात्रामा कस्ता विषय जनताका प्राथमिकतामा परेका रहेछन् त भन्ने जिज्ञासा हुनु राजनीति र शासकीय भूमिकामा रहेका जो कोहीले बुझ्नु जरुरी हो । सरकार र संसद्बाट निर्माण गर्ने कानुनले कसरी ती जनताका समस्या सम्बोधन गर्न सक्छ भन्ने विषयमा केन्द्रित हुनु अत्यावश्यक पनि हो । महामन्त्री थापा सडक, संसद्, सरकारमा निकै प्रभावकारी र परिपक्व ढङ्गबाट प्रस्तुत हुने हँुदा समुदायमा पुग्दा पनि आममानिसमा आशा र उत्साह थपिएको आभास हुन्थ्यो । महामन्त्रीकै अनुभवमा यात्राका क्रममा जनताको समीपमा रहेर जनताका अन्तस्करणका ती आवाज निकै कर्णप्रिय, ओजिला र आग्रहपूर्ण थिए । समुदायलाई बुझ्नु कांग्रेसको धर्म हो । समुदायको माग र आवश्यकता सम्बोधनको पहल गर्ने दायित्व पनि कांग्रेसमा छ । 

कांग्रेस सरकारमा हुँदा होस् कि संसद्को प्रतिपक्षमा रहँदा जनताका आवाजलाई मुख्य केन्द्रमा राखेर कार्यसम्पादन गरेको पाको पार्टी हो । अहिले संसद्को प्रमुख प्रतिपक्षका रूपमा पनि आमजनताका आवाजलाई एकत्रित गरी समुदायदेखि संसद्सम्म पु¥याएर सरकारलाई कांग्रेसले प्रश्न गरिरहेको छ । यसर्थ पनि तराईमा जस्तै हिमाल र पहाडमा, सहरदेखि गाउँगाउँसम्म पनि कांग्रेसको संवाद निरन्तर हुनु जरुरी छ । समुदायका मुख्य चासो, गुनासो, माग र आवश्यकता पहिचान गरी संसदीय नेतृत्वका रूपमा कानुन निर्माण गर्न र कानुनी शासनलाई कार्यान्वयन गराउने अग्रणी भूमिका कांग्रेसकै छ ।

समुन्नति र सुशासनमा कांग्रेस 

कांग्रेसले लोकतन्त्र, समाजवाद र राष्ट्रियतालाई मुख्य सिद्धान्तका रूपमा अङ्गीकार गरेको छ । कांग्रेसलाई विगतमा लामो समय सत्तामा बसेर कार्यसम्पादन गरेको अनुभव पनि छ । अब विगतलाई देखाएर कांग्रेसले भविष्यको राजनीति गर्न सक्दैन । यथार्थ र परिकल्पनामा कांग्रेसले जनतालाई आशा जगाउन सक्नु पर्छ । विगतमा जस्तै निर्वाचन सन्निकटमा मतदातासमक्ष प्रतिबद्धतारूपि घोषणापत्र मात्र सुम्पिने कि भावी कार्यदिशा र सम्मुन्नतिको सुस्पष्ट मार्गचित्र कोरेर जनतालाई निर्धक्क रोजाइको दल बनाउने भन्ने आधारबिन्दु यही हो । हिजो नयाँ व्यवस्था ल्याउन गरेको योगदान अबको दशक सुशासन र समुन्नतिको नेतृत्व कांग्रेसले नै लिनु पर्छ । 

समुदाय, स्थानीय सरकार र संसद्मा कांग्रेसले के गर्दै छ भन्ने विषय अहिले महत्वपूर्ण छ । सङ्घीय संसद् र प्रदेश सभामा कांग्रेसको सिट धेरै छ भने स्थानीय सरकारमा पनि कांग्रेस नेतृत्वका सरकार छन् । यस्तो सन्दर्भमा कांग्रेसले स्थानीय सरकारमार्फत समुदायका साथै सङ्घीय र प्रदेश सभामार्फत समग्र शासन, राजनीति, सुशासन, सङ्घीयता साथै आर्थिक समुन्नतिका पक्षमा नीतिगत पहल लिनु पर्छ । संसद्मा विचाराधीन विधेयक सङ्क्रमणकालीन न्याय, सङ्घीय प्रहरी विधेयक, सङ्घीय निजामती विधेयक, विद्यालय शिक्षा विधेयक, सामाजिक सुरक्षा विधेयक, सूचना प्रविधि र सम्पत्ति शुद्धीकरण जस्ता विधेयक संसद्बाट पास गर्न शीघ्रतासहित सरकारलाई घच्घच्याउँदै सघाउनु पनि पर्छ ।

पछिल्लो राजनीतिक परिवर्तन, आर्थिक–सामाजिक र सांस्कृतिक चुनौती, सूचना तथा सञ्चारको विकास, सामाजिक सञ्जालको प्रभावसँगै प्रविधिमा उच्चतम विकास, एआईको उदय, सन्निकटको आर्थिक सङ्कट, बढ्दो बेरोजगारी दर र गरिबी, जलवायु परिवर्तनका असरलगायतका उल्लिखित ज्वलन्त समस्याबाट नेपाल पनि जुधिरहेको छ । यसका साथै संविधानको प्रभावकारी कार्यान्वयन, सङ्घीयताका सन्दर्भमा उब्जिएका प्रश्न, हिन्दु राष्ट्रका पक्षमा देखिएका मन्द स्वर, भ्रष्टचारका प्रकरणको प्रकटीकरण र खुलासा, प्रदेश सरकारको औचित्य र स्थानीय सरकारमा बढ्दो भ्रष्टचारको ग्राफका बिच कांग्रेसले सुधारका कस्ता पहल गर्ला ? समुन्नतिको व्यग्र जनचाहनामा कांग्रेसले अबको दशक कस्ता एजेन्डा बोकेर पार्टीलाई आधुनिक लोकतन्त्रको हिमायती बनाउला ? साथै राज्यको रूपान्तरणमा कस्ता कार्यनीति तय गरेर जनअपेक्षा सम्बोधन गर्न सक्छ होला ?   

Author

भुवन न्यौपाने