• १२ मंसिर २०८१, बुधबार

गुन्द्रुकको ‘ब्रान्डिङ’

blog

गुन्द्रुक निर्यातका लागि प्राप्त भएको अनुज्ञापत्र महिला समूहलाई हस्तान्तरण गरिँदै । तस्बिर : अनिल पराजुली

हेटौँडा समाचारदाता

हेटौँडा, चैत २७ गते । हेटौँडा उपमहानगरपालिका–१२, घलेगाउँमा रहेको कञ्चनजङ्घा कृषि सहकारी संस्था लघुउद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि अनुज्ञापत्र प्राप्त भएको छ ।

लघुउद्यमीले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडाले दिएको सोमबार अनुज्ञापत्र उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा अनुज्ञापत्र हस्तान्तरण गर्दै नगर प्रमुख मीनाकुमारी लामाले हेटौँडामा उत्पादन भएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरपालिकाले सहयोग गर्ने बताउनुभयो । 

उहाँले हेटौँडा बजारसहित अन्य सम्भावना भएका क्षेत्रमा गुन्द्रुकको ब्रान्डिङ गरी बजारीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ को नियम २८ अनुसार गुन्द्रुक निर्यातका लागि अनुज्ञापत्र प्रदान गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. क्षितिज श्रेष्ठले बताउनुभयो ।  

करिब चार महिना लामो परीक्षण र निगरानीपश्चात् गुण नियन्त्रण कार्यालयले गुन्द्रुक प्रयोगका लागि योग्य रहेको भन्दै अनुज्ञापत्र दिएको उपमहानगरपालिका उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले बताउनुभयो । उपमहानगरपालिकाको एक लाख रुपियाँबाट साग उत्पादन गरी बनाएको गुन्द्रुकले बजारीकरणका लागि स्वीकृत पाउँदा आफूहरू निकै खुसी भएको उद्यमी समूहका अध्यक्ष चिनीमाया गुरुङले बताउनुभयो । नगरको सहयोग र सहकारीको ८० हजार रुपियाँबाट १५ कट्ठा जमिन भाडामा लिएर साग लगाई गुन्द्रुक उत्पादनमा लागेको भन्दै उहाँले अनुज्ञापत्र नहुँदा बजारमा लैजान नपाएर गाउँमै अहिले करिब तीन लाख रुपियाँ बराबरको गुन्द्रुक घरमै राखेको जानकारी दिनुभयो ।