• २० वैशाख २०८१, बिहिबार

उन्नत प्रविधिको प्रयोगले देशलाई समृद्ध बनाउन सकिन्छ : मन्त्री लेखी

blog

कोशी प्रदेशका अवलोकन भ्रमण टोलीसँग छलफल गर्दै सञ्चारमन्त्री राजकुमार लेखी । तस्विरः धर्बेन्द्र झा

धर्बेन्द्र झा

जनकपुरधाम, चैत २६ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले कृषि तथा पशुपालन क्षेत्रमा आएको उन्नत प्रविधिको प्रयोग गरी प्रदेश तथा देशलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ ।  

कोशी प्रदेशको मोरङ्गको कटहरी गाउँपालिकाबाट कृषि अवलोकन भ्रमणका लागि भारतबाट फर्किएका प्रतिनिधिसँग सोमबार मन्त्रालयमा भेटघाट गर्दै मन्त्री लेखीले सो कुरा बताउनुभएको हो । 

कृषि अवलोकन भ्रमणबाट सिकेका नयाँ कुरा एकअर्कामा साटासाट गर्दा प्रदेशसहित देशभरिका किसानलाई फाइदा पुग्ने बताउनुभयो । उहाँले अन्तरप्रदेश भ्रमणले समेत आन्तरिक पर्यटन प्रवर्द्धनका साथै सकारात्मक सिकाइका अनुभव साटासाट हुने र यसले दुवै ठाउँको विकासमा मद्दत पुग्ने बताउनुभयो । 

सो टोलीसँग गृह, सञ्चार तथा कानुनमन्त्री लेखीले चाँडै कोशी प्रदेशमा भ्रमण गर्ने बताउँदै कोशी प्रदेशमा भएका राम्रा अभ्यास मधेश प्रदेशमा ल्याएर यस ठाउँको विकास गर्न चाहेको बताउनुभयो । मन्त्री लेखीले शिक्षा, पर्यटन तथा कृषि समृद्धिको आधार भएकाले मधेश प्रदेशले तीनै विषयलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो । 

भेटको क्रममा कोशी प्रदेशको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले आफूहरूले भारतसहित नेपालका विभिन्न भागमा कृषि क्षेत्रमा भएको सकारात्मक अभ्यासबारेमा अवलोकन भ्रमण गरेर आफ्नो पालिकामा लागु गर्ने मन्त्री लेखीलाई जानकारी गराउनुभयो ।  

कटहरी गाउँपालिका –७ मा देशकै नमुना गाई फारम सञ्चालन गर्नुभएका गिरीराज बस्नेतले नेपालमा नै पहिलो पटक अटोमेटिक तरिकाले गाई दुहिने तथा चारा हाल्ने प्रविधि जडान गरी १ सय ५० उन्नत गाईको पालन गर्दैआएको मन्त्री लेखीलाई जानकारी गराउनुभयो । 

उहाँले १५ बिघा क्षेत्रफलमा करिब २५ करोडको लागतमा निर्माण भएको सो गाई फार्मले बाच्छी नै जन्मिने किसिमको सिमेन ल्याएर नस्लको सुधार गर्दैआएको र दैनिक रूपमा १ हजार ६ सय लिटर दुध उत्पादन गर्नेगरेको जानकारी मन्त्री लेखीलाई गराउनुभयो । टोलीमा रहेका प्रतिनिधिलाई मन्त्री लेखीले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।