• १२ मंसिर २०८१, बुधबार

अर्थतन्त्र उकास्न सरकार प्रतिबद्ध

blog

पर्सा समाचारदाता 

पर्सा, चैत २५ गते । अर्थमन्त्री वर्षमान पुनले देशको समग्र अर्थतन्त्र उकास्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । वीरगन्जमा कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित एक कार्यक्रममा उहाँले अर्थतन्त्र उकास्न केही समस्या र चुनौतीहरू देखिएको कुरा सत्य हो तर अब धेरै दिन यस्तो अवस्था नरहने बताउनुभयो । निराशाबाट आशा जगाउने काम सरकारले गरिरहेकाले यसको प्रतिफल चाँडै आउने उहाँले दाबी गर्नुभयो ।  

उहाँले उद्योग व्यवसायलाई चलायमान बनाउन लगानीमैत्री वातावरण बनाउन सरकारले वैशाखमा लगानी सम्मेलन गर्न लागेको जानकारी दिनुभयो । एकै पटक ठुलो रूपमा विदेशी लगानी आउन नसके पनि लगानीमैत्री वातावरण बनेपछि मध्यमखालका विदेशीभन्दा पनि स्वदेशी लगानीलाई प्रोत्साहन गर्न सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको र आवश्यक भए केही ऐन कानुन परिमार्जन गर्ने भए त्यसका लागि पनि सरकार तयार रहेको उहाँले बताउनुभयो । 

मन्त्री पुनले सहभागीको प्रश्नमा अबै हचुवाको भरमा दण्ड सजाय नगर्ने कुनै कुराको पूर्ण रूपमा अनुसन्धान गरी सत्यतथ्य पता लगाई निक्र्योलमा जाने भएकाले यसबाट कोही पनि आतङ्कित हुनुपर्ने अवस्था नरहेको बताउनुभयो ।   

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक र व्यापारिक नगरीका रूपमा मुलुकभरि पहिचान बनाएको वीरगन्जले अपेक्षाकृत फड्को मार्न नसकेको सरकारले महसुस गरेर वीरगन्जलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले वीरगन्जलाई लगानीमैत्री बनाउन लगानीको वातावरण बनाउन सरकारले सक्दो प्रयास गरिरहेको जानकारी गराउँदै यसैको सेरोफेरोमा लगानी सम्मेलनको आयोजना सरकारले गरिरहेको जानकारी दिनुभयो । 

मन्त्री भण्डारीले सरकारले उद्योग व्यापार गर्ने होइन यसमा सहजीकरण गरिदिने र नीति बनाउने भएकाले ढुक्क भएर उद्योग व्यवसाय सञ्चालन गर्न उद्योगी व्यापारीसँग आग्रह गर्नुभयो । 

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले मुलुकको कुल राजस्वमा ४२ प्रतिशतको योगदान दिने वीरगन्जलाई अपेक्षा गरिएको बताउनुभयो । उहाँले बजेट विनियोजन गर्दा मधेश प्रदेश र विशेष गरी आर्थिक नगरीका रूपमा पहिचान बनाएको वीरगन्जसँग विभेद हुने गरेकाले जनसङ्ख्याको अनुपातमा बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । 

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले महानगरपालिकाले विरासतका रूपमा पाएको सम्पदा मठमन्दिर प्रकृतिले दिएको उपहारको समरक्षण सौन्दर्यकरण गर्ने काम गरेको बाताउनुभयो उहाँले वीरगन्जलाई आर्थिक नगरी भनिएको भए पनि वीरगन्जवासीले सोको अनुभूति गर्न नसकेकाले मधेश प्रदेशको एक मात्र महानगरपालिकासँग विभेद नगरी न्यायोचित रूपमा बजेट विनियोजन भए वीरगन्जलाई वैभवशाली वीरगन्जमा रूपान्तरण गर्न सकिने बताउनुभयो । 

कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले संविधान सभा सदस्य तथा उद्योगपति अनिल रुँगटा राजस्व सचिव डा. रामप्रसाद धिमिरे नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलगायतले पनि आआफ्ना धारणा राख्नुभएको थियो ।