• १२ साउन २०८१, शनिबार

‘तीन वर्षभित्रमा सबै घरमा धारा पु-याउँछौँ’

blog

रामेछाप नगरपालिका रामेछापको पुरानो सदरमुकाम हो । नौ वटा वडा रहेको यो नगरपालिका रामेछापको दक्षिण पूर्वमा अवस्थित छ । रामेछाप नगरपालिकामा भएका विकास निर्माणका काम र नगरको आर्थिक तथा सामाजिक विकासको अवस्थालगायतका विषयमा नेपाली कांग्रेसबाट निर्वाचित नगरपालिका प्रमुख लवश्री न्यौपानेसँग रामेछाप समाचारदाता नवराज श्रेष्ठले गर्नुभएको कुराकानी । 

तपाईं रामेछाप नगरपालिका प्रमुखमा निर्वाचित हुनुभएको दुई वर्ष हुन लागेको छ । यो अवधिमा नगर विकासका लागि भएका कामलाई कसरी समीक्षा गर्नुहुन्छ ?

विकास निर्माण भन्ने कुरा एकै पटक हुने होइन । ठुला विकास योजनामा बजेट विनियोजन गर्न र कार्यव्रmम बनाउन दुई वर्ष लाग्ने रहेछ । हामीले रामेछाप नगरपालिकाको तीन वटा सडक विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । हिलेपानीदेखि चामबोट हुँदै कोलन्जोरघाटसम्मको बाटो, देउरालीदेखि गोठगाउँ हुँदै साँघुटारसम्मको र भालु खोपदेखि ओख्रेनीसम्मको सडकको विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । हिलेपानीदेखि चामबोट हुँदै कोलन्जोरघाटसम्मको सडक र देउरालीदेखि गोठ गाउँ हुँदै साघुटारसम्मको सडक अबको तीन वर्षभित्रै कालोपत्रे गर्ने लक्ष्य लिएका छौँ । 

स्थानीय तहको बजेटले मात्रै नभएर हाम्रो आग्रहमा सङ्घीय सरकारले पनि बजेट व्यवस्था गरिरहेको छ । यो सडकमा गत वर्ष सङ्घीय सरकार र स्थानीय सरकारको ८०/८० लाख रुपियाँ बजेटबाट काम भएको छ । यो वर्ष सङ्घीय सरकारले तीन करोड रुपियाँ बजेट विनियोजन हुने भइसकेको छ । वडा नं १ मा अबको एक वर्षभित्र खानेपानीको समस्या समाधान हुन्छ । वडा नं २ र ३ मा पनि खानेपानी समस्या समाधानका लागि डिपिआर तयार भइरहेकाले सङ्घीय सरकारले बजेट दिने विश्वास छ । वडा नं ३ मा नगरस्तरीय अस्पताल निर्माण गर्ने योजना अनुरूप प्रव्रिmया अगाडि बढिसकेको छ । यसका लागि बागमती प्रदेश सरकारसँग समन्वय भइरहेको छ । वडा नं ४ मा खानेपानीको समस्या २०८१ सालभित्र समाधान हुन्छ । वडा नं ५ मा पनि खानेपानीको समस्या समाधानका लागि योजना बनिरहेकै छ । वडा नं ६, ७ र ८ मा नागरिकको माग र आवश्यकताको पहिचान गरी शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानीका क्षेत्रमा काम भइरहेका छन् । वडा नं ८ मा बाइपास सडक खोल्ने काम तीव्र गतिमा भइरहेको छ । सेलेघाट साघुटार सडकको काम नगरको ताकेतामा युद्धस्तरमा भइरहेकाले सम्भवतः अबको एक डेढ वर्षमा कालोपत्रे सम्पन्न हुन्छ । 

 जिल्ला अस्पताल रामेछापमा नगरपालिकाले एक जना एमडिजिपी डाक्टरको व्यवस्था गरिदिएको छ । कोलोन्जोर घाटदेखि हिमगङ्गा हुँदै जाने लिखु कोरिडोर अन्तर्गत चार किलोमिटर सडक यो वर्ष कालोपत्रे हुँदै छ । कोलोन्जोर घाटको पुल पनि बन्दै छ । 

नगरपालिकाको आर्थिक र सामाजिक क्षेत्रको विकासचाहिँ कसरी भइरहेको छ नि ?

नगरपालिकाको आन्तरिक आम्दानी भनेको करिब ३० लाख रुपियाँ मात्रै हो । मालपोत, वडाले सिफारिस गरेका वडाका दस्तुरबाहेक अन्य आम्दानीको स्रोत हामीसँग छैन । अलिकति रामेछाप बजारमा लाग्ने बिहीबारे हाट हो । त्यसको ५०/६० हजार रुपियाँलाई के आम्दानी भन्नु ? राजस्व उठ्नका लागि पहिलो कुरा सहरी विकास हुनु पर्छ । त्यसपछि कल कारखाना खुल्नु पर्छ । यी दुवैको सम्भावना रामेछाप नगरपालिकामा एकदमै कम छ । अब हामी एकीकृत सहरी विकास लागु गर्ने तयारीमा छौँ । त्यसका लागि ओपन ट्र्याक खोल्ने तयारी भइरहेको छ । अहिले जग्गा व्यवस्थापनको काम चलिरहेको छ । यो कामका लागि जनमत बुझेर नगरपालिका अगाडि बढ्छ । सामाजिक क्षेत्रको विकासतर्फ छुवाछुतको अन्त्य भएको छ । स्वास्थ्य क्षेत्रमा स्वास्थ्य बिमा अन्तर्गतका कार्यव्रmम प्रभावकारी बनाउँदै लगिएको छ । यी सबै कुरालाई दृष्टिगत गरी सामाजिक क्षेत्रमा भएका कुरीतिको अन्त्य गर्दै अगाडि बढिरहेको छ । 

.निर्वाचनमा जनता माझ गरेका प्रतिबद्धताहरू पूरा हुने गरी काम भएका छन् त ?

रामेछाप नगरपालिका अति सुक्खाग्रस्त नगरपालिका भएकाले हामीले निर्वाचनमा जनतासँग गरेका पहिलो प्रतिबद्धता खानेपानी नै हो । यहाँका सबै वडामा खानेपानीको समस्या छ । अहिले हामी पहिलो प्रतिबद्धता पूरा गर्नमा ध्यान केन्द्रित गर्दै छौँ । यो प्रतिबद्धता अनुसार अबको तीन वर्षमा नगरका सबै जनताको घरमा खानेपानीको धारा पुग्ने छ । नगरपालिकाको सबै वडामा निर्वाचनमा गरिएको प्रतिबद्धता अनुसार शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार विकास, खानेपानी, कृषिलगायतका क्षेत्रमा पर्याप्त काम भएका छन् । केही वडाहरूमा मेघा विद्यालयको सुरुवात गर्ने योजनामा नगरपालिकाको छ । नगरपालिकाको विभिन्न स्थानमा लाग्ने हाटबजारका लागि आवश्यक पूर्वाधार निर्माण गरी थप व्यवस्थापन गरिएको छ । राज्यले बिउ हालेर व्यवस्थापन गरिदिएपछि त्यसको संरक्षण र व्यवस्थापनमा नागरिकको दायित्व अत्यावश्यक छ । आजकाल नागरिकमा सबै स्थानीय सरकार तथा राज्यले नै गर्नु पर्छ भन्ने मानसिकताको विकास हुँदा नागरिक आफ्नो दायित्व र कर्तव्यबाट भागिरहेका छन् । यो स्थानीयस्तरको विकासका लागि राम्रो होइन । 

सङ्घ र प्रदेश सरकारसँग नगरपालिकाको समन्वय कस्तो छ ?

नगरपालिकाको सङ्घीय र प्रदेश सरकारसँग समन्वय र सहकार्य एकदमै राम्रो छ । समन्वय र सहकार्य राम्रो भएकै कारण रामेछापका आठ वटा पालिकामध्ये रामेछाप नगरपालिकामा सङ्घ र प्रदेशको बजेट तथा कार्यक्रम बढी नै छन् । अहिले लिखु कोरीडोरमा २० करोड रुपियाँ र वडा नं ८ को आरुबोटे हुँदै केवलेश्वर मन्दिर जोड्ने सडकमा प्रदेशबाट २५ लाख रुपियाँ बजेट आएको छ । यो वर्ष डेढ करोड रुपियाँ बजेट पर्ने लगभग निश्चित भइसकेको छ । हिजो हामी सङ्घ र प्रदेश सरकारमा हुँदा विकास निर्माणका लागि बजेट तथा कार्यक्रम ल्याउन सहज भएको थियो । अब प्रदेशमा सरकार परिवर्तन भएकाले केही फरक पर्न सक्छ । यहाँ जिल्लाका अन्य पालिकाको भन्दा बढी बजेट तथा कार्यक्रम आउँछ । 

नगरपालिकाले २०८१ सालको चैतसम्म बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने लक्ष्य लिएको छ, सम्भव छ त ?

अहिलेसम्म भएका कामको मूल्याङ्कन गर्दा तोकिएको समयमा नै रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर बन्छ तर काम गर्दै जाँदा बजेटकै अभाव हुँदो रहेछ । अहिले आवश्यक सूचकहरू प्राप्तिका लागि बजेट अभाव हुने देखिएकाले पाँच/छ महिना पर जान सक्ने अनुमान छ । हालसम्म नगरपालिकाको कुनै पनि वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुन सकेका छैनन् । नौ वटा वडामध्ये धेरै वडाले ५० प्रतिशत सूचक प्राप्त गरिसकेका छन् । अहिले सूचक प्राप्तिका लागि तीव्र गतिमा काम भइरहेको छ । 

बालमैत्री स्थानीय शासनयुक्त नगर बनाउन समाजमा उमेर नपुगी विवाह गर्ने समस्या चुनौती बनेको छ । बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने अभियान अन्तर्गत सात वटा बालविवाह रोकेका छौँ । धेरैलाई सचेत पनि गराएका छौँ । सामाजिक सञ्जालको दुरुपयोगले समाजमा धेरै बालविवाहको घटना भइरहेका छन् । यसलाई रोक्न राजनीतिक दल, घरपरिवार, समाजलगायत सरोकारवाला निकाय थप गम्भीर बन्नु पर्छ ।